काठमाडौं। डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले बिहीबार केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको १२औँ संस्करणको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।
दोश्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य हात पार्याे ।
तेश्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जित्यो ।
५० स्वर्णका लाग भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५–५ स्वर्ण हात पारे । गण्डकीले थप ११/११ रजत र कांस्य पनि प्राप्त गर्याे । स्वर्णका अलावा कर्णालीले १० रजत र १५ कांस्य हासिल गर्याे ।
प्रतियोगितामा ४ कीर्तिमान बने । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो ।
निशा चौधरीले मात्र दुई व्यक्तिगत र एक टिममा कीर्तिमान रचिन् । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमानलाई उछिनिन् । १ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै निशाले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । त्यस्तै, ४ गुणा १ सय मिटर रिले निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसंग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान रचिन् ।
छात्र लङजम्पमा सुदीप थारुले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए ।
एथलेटिक्सको प्रत्येक कीर्तिमानका लागि १५ हजार नगद पुरस्कार प्रदान गरियो । कुल नगद पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् ।
प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको तेश्रोपटक हो ।
भलिबल
भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमतीले उपाधि जिते ।
त्रिपुरेश्वरिस्थत राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५–११, २५–१०, २०–२५, २०–२५ र १५–१२ को सेटमा पराजित गर्याे ।
कर्णाली तेश्रो भयो ।
छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २५–२१, २१–२५, २५–१९ र १५–७ ले हरायो ।
गण्डकी तेश्रो बन्यो ।
कबड्डी
कबड्डीको छात्रमा पनि सुदूरपश्चिम च्याम्पियन बन्यो । ५ टिम सहभागी छात्रको राउन्ड रोविन लिगमा शत प्रतिशत जित निकालेको सुदूरपश्चिमले ८ अंक जोड्यो ।
लुम्बिनी ६ अंकसाथ दोश्रो भयो ।
छात्रामा सुदूरपश्चिम बुधबारनै उपाधि जितिसकेको छ । छात्रामा पनि ५ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
मार्सल आर्ट्समा बागमतीकै दबदबा रह्यो । कराँते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बन्यो ।