काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताए ।
उनले जारी केन्द्रीय कमिटी बैठकमा एक्लै निर्वाचनमा जानुपर्ने, वर्तमान गठबन्धनलाई लिएर जानुपर्ने तथा वाम गठबन्धन गर्नुपर्ने लगायतका मत देखिएको बताए ।
"हामी स्थानीय चुनावको समीक्षा गरिरहेको छौँ । संघ र प्रदेशको चुनावका मुद्दामा आधारित भएर गठबन्धन अगाडि बढ्ने हो । हाम्रो छलफलको संश्लेषण भइसकेको छैन । एक्लै आफ्नो खुट्टामा उभिएर जानुपर्छ भन्नेपनि केन्द्रीय कमिटीमा मत छ । भएका गठबन्धनका गल्ती, कमजोरीलाई सच्याएर यसैलाई अझ मजबुत बनाएर लिएर जानुपर्छ भन्ने मत पनि छ । वाम गठबन्धनतर्फ जानुपर्छ भन्ने पनि छ । वाम–लोकतान्त्रिक अथवा बाम–समाजवादीहरूको गठबन्धन हुनुपर्छ भन्ने पनि छ," उनले भने ।