site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साध्वीहरूलाई सलाम !

सत्ता र शक्तिको उन्मादमा अत्याचार गर्दा कसैले पनि त्यसको फल पनि भोग्नुपर्छ भनेर ठानेको हुँदैन होला । झन् आफूलाई भगवान भनाउन रूचाउने पाखण्डीहरूले त सामान्य मानिसलाई कीराफट्यांग्रा नै ठान्दा हुन् । यसैले एउटामाथि अर्को अत्याचार गरिरहन्छन् । बलात्कार गर्ने, बलात्कारका बारेमा समाचार छाप्ने पत्रकारलाई मार्ने र बलात्कारको वयान दिने महिलाको भाइको हत्या गर्ने अभियोग लागेको व्यक्तिले राज्यबाट उच्च सुरक्षामात्र हैन मुख्यमन्त्रीको भेट र भेटीसमेत पाएपछि मामुली मानिसलाई झारपात ठान्नु के आश्चर्य भयो र ?

भारतको एउटा विशेष अदालतले गुरमित रामरहिम सिंह इन्सान नाम गरेको एक व्यक्तिलाई बलात्कारको आरोपमा दोषी ठहर्‍यायो । गुरमित डेरा सच्चा सौदा नामको एउटा सम्प्रदायका प्रमुख हुन् । हरियाणा, पन्जाब र राजस्थानको सीमा क्षेत्रमा डेराको प्रभाव निकै व्यापक र गहिरो रहेछ । यसैले मुद्दाको फैसला हुने दिन गुरमितका हजारौं समर्थक (भक्त?) सडकमा जम्मा भए । फैसला सुनाइनेबित्तिकै गुरमितका समर्थकले उपद्रो सुरु गरे । जताततै आगजनी र तोडफोड गरियो । बीसौं जनाको ज्यान गयो । चरम अराजकता फैलियो । सरकार डेरा समर्थकले मच्चाएको वितण्डाको तमासा हेरेर बस्यो । 

गुरमितमाथि डेराको आश्रयमा रहेका साध्वीहरूको यौन शोषण गरेको आरोपमा मुद्दा चलाइएको थियो । लाखौं समर्थक भएको कथित बाबामाथि भारतमा मुद्दा चल्नु नै आश्चर्यको विषय मानिन्छ । गुरमितमाथि पनि मुद्दा सजिलै चलेको थिएन । सन् २००२ मा एक साध्वीले तत्कालीन प्रधानमन्त्री अटलविहारी बाजपेयीलाई बेनामी पत्र लेखेर डेरा सच्चा सौदाभित्र साध्वीहरूको यौन शोषणलगायतका अपराध हुनेगरेको जानकारी दिएकी थिइन् । तर, त्यो बेनामी पत्रको सुनवाइ भएन । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यही पत्र सन् २००२ मा पत्रकार रामचन्द्र छत्रपतिले आफ्नो अखवार 'पूरा सच'मा छापिदिए । पत्र छापेको केहीपछि अक्टोबर २४ मा रामचन्द्रलाई गोली हानियो । घाइते रामचन्द्र नोभेम्बर २१ सम्म अस्पतालमा छटपटाइरहे । उनले वयान दिन खोजे तर उनको वयानसम्म पनि लिइएन । मृत्यु शैयामा दिएको वयान अकाट्य प्रमाण जो मानिन्छ । दोषीलाई सजायबाट उम्काउन सरकारले षड्यन्त्र गर्‍यो । रामचन्द्रका छोरा अंसुलले पिताको हत्याको विषय सामसुम हुन दिएनन् । उनको निकै लामो संघर्षपछि विशेष जाँचको आदेश दिइयो । प्रतिवादी पक्ष बलियो भएपछि मुद्दा पनि सजिलै टुंगिदैन । अन्ततः १५ वर्ष मुद्दाको फैसला भयो र दोषीले दुईवटा मुद्दामा सजाय पाए । रामचन्द्रको हत्या र थुप्रै समर्थकहरूलाई भ्रममा पारेर बन्ध्याकरण गरेको मुद्दा अझै विचाराधीन छ । 

झट्ट सुन्दा सामान्य लाग्ने यस विवरणमा नखुलेको पाटो के हो भने गुरमितका पक्षमा भारतको सत्ता नै उभिएको थियो । उनलाई राज्यले नै विशेष सुरक्षा दिएको थियो । यसै पनि उनका निजी अंगरक्षक थिए । उनलाई मुद्दामा सजाय सुनाउन ल्याइँदा प्रधानमन्त्रीको भन्दा ठूलो मोटरको ताँती थियो रे । अदालतमा अरू तारेकका बेलामा ऊ आउँदैन थिए । उनलाई भिडियो कन्फरेन्सबाट बयान दिने सुविधा दिइएको थियो । बलात्कारको मुद्दा लागेपछि पनि राज्यका मुख्यमन्त्री उनको दर्शनका लागि जान्थे ।

Global Ime bank

अर्कातिर, बलात्कारको आरोप लगाउने साध्वीहरू ! सेन्ट्रल ब्युरो अफ इन्टेलिजेन्स (सीआईबी) ले जाँच सुरु गरेपछि दुईजना महिलाले  गुरमितले उनीहरूको यौन शोषण गरेको आरोप लगाउने आँट गरे । अदालतमा वयान दिएपछि उनीहरूलाई झन् सताउन थालियो । ती दुवै गुरमितको डेराका साध्वी थिए । उनीहरूमध्ये एकको भाइको हत्या गरियो । समाजमा छीछी दूरदूर गरिए । एकप्रकारले बहिष्कृत जीवन यापन गर्नु पर्‍यो । पन्ध्र वर्ष तारेख धाउन र दसौंपटक वयान दिन पर्दा पनि उनीहरू झुकेनन् । सीआइबीका एक जना प्रहरी अधिकृत सतीश डागरले छानबिनको नेतृत्व गरेका थिए । उनीमाथि पनि उत्तिकै दबाब परेको थियो । रामचन्द्रका छोरा त अझै पनि डराइरहेका छन् ।

गुरमितले पाएको सजायको चर्चा भारतीयमात्र हैन संसारभरका सञ्चार माध्यममा भइरहेको छ । यसले भारतीय राजनीतिको घीनलाग्दो तस्बिर पनि उजागर गरेको छ । हरियाणा सरकारका दुईजना मन्त्रीले केही दिन पहिलेमात्र गुरमितलाई राज्य सरकारको कोषबाट उपहारस्वरूप ५१ लाख रुपियाँ टक्य्राएका थिए । मुद्दाको फैसला हुने दिन धारा १४४ लगाए पनि गुरमितका हजारौं समर्थकलाई एकत्रित हुन सरकारले रोकेन । फैसला सुनाएपछि उपद्रो गर्न सुरु गरेको भिडलाई तह लगाउनुभन्दा जनधनको क्षतिको तमासा हेरेर बस्यो हरियाना सरकार । त्यतिमात्र हैन सत्तारुढ भारतीय जनता पार्टीका सांसद् साक्षी महाराज नामका अर्का 'बाबा’ले त अदालत पनि 'औकातमा बस्नुपर्छ’ सम्म भने । उनका अनुसार आरोप एक जनाले लगाएको छ तर गुरमितका समर्थनमा हजारौं जना ज्यान दिन तयार छन् भने अदालतले पनि विचार गर्नुपर्छ । अर्थात्, इन्साफ प्रमाणका आधारमा हैन भिड हेरेर गर्नुपर्छ । यस्तो समाज र सरकार भएको ठाउँमा ती साध्वीहरूलाई १५ वर्षसम्म वयान नफेरी अडिन कति मुस्किल भयो होला ? 

ती साध्वीहरूको साहसलाई सलाम गर्नैपर्छ । भारतमा राजनीति गर्नेहरू साध्वीका समर्थनमा खुलेर आउन नसकेपछि असल मानिसहरूले साध्वीहरूको साहसलाई सलाम गर्न थालेका छन् । नोबेल शान्ति पुरस्कारबाट सम्मानित बालअधिकारकर्मी कैलाश सत्यार्थीले ट्विट गरेका छन् — सधैँ अन्ध भक्तहरूको संरक्षणमा रहने यस्तो प्रभावशाली बलात्कारीविरुद्ध दृढतापूर्वक उभिने ती महिलाहरूलाई सलाम । तपाईँ पनि मुख खोल्नुस् ।’ 

रामचन्द्र छत्रपतिका बारेमा अहिले जति चर्चा उनी गोली लागेर उनी अस्पतालमा छटपटिएका बेला भएन । साध्वीहरूले प्रधानमन्त्रीलाई नै पत्र लेख्दा पनि गुरमितविरुद्ध कुनै कारबाही भएन । मस्जिद भत्काएर ’नायक’ हुने देशमा न्याय र सत्य जोखिमपूर्ण हुनु अस्वाभाविक पनि होइन ।  

र, हामी पनि उनीहरूभन्दा खासै फरक छैनौ । हाम्रा राजनीतिक, प्रशासनिक, नागरिक अगुवाहरू पनि कथित स्वामी, मुनि, महाराज, बाबा नामका पाखण्डीहरूको चरणामृत पान गर्दा गौरवान्वित भएको देखिएकै छ । राज्यको ढुकुटीमात्र हैन वन र जमिन पनि शासकहरूले पाखण्डी बाबाहरूलाई सुम्पेको उदाहरण नौलो र अनौठौ छैन । र, न्यायाधीशले समेत बाबाको भेषमा भेटी असुलेको समाचार पुरानो भएको छैन । 

कैलाशजीले साहसी साध्वीहरूलाई सलाम गर्दागर्दै मैले पनि दुई नेपाली वीरांगनाहरूलाई सम्झेँ — सावित्री श्रेष्ठ र देवी सुनार । सावित्रीले भाइहरूका हत्यारालाई सजाय दिलाइन् । देवीले छोरी मैनाका हत्यारालाई उम्कन दिइनन् । सावित्री र देवीभन्दा कसुरदारहरू निकै प्रभावशाली थिए । अदालतको फैसला कार्यान्वयन भएको छैन । उज्जन र गणेशका हत्यारा ठहरिएका बालकृष्ण ढुंगेल सत्तारुढ नेकपा (माओवादी केन्द्र)का नेता हुन् । उनलाई पक्रेर थुनामा राख्न सर्वोच्च अदालतले दिएको आदेश अझै कार्यान्वयन भएको छैन । यसैगरी मैनाका हत्यारा ठहरिएका सैनिक अधिकारी पनि फरार छन् । उनीहरूलाई सजाय भएको छैन । 

साध्वीहरूको साहसको सराहना गरौँ । नेपालका कथित बाबाहरूको मनमा चिसो पसेको हुनुपर्छ । तर, सावित्री र देवीलाई पनि नबिर्सौँ । साहसी त यिनीहरू पनि कम होइनन् नि !


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC