गठबन्धन धेरै दिन टिक्दैन भन्ने त सबैलाई थाहै थियो । जनता आइतबारसम्म पनि ‘गठबन्धन पाँच वर्ष टिक्छ’ भनेर भाषण गर्ने ‘जोकर’ त होइनन् नि ! त्यस्तो भाषण गर्नेहरूलाई लाज लाग्दैन होला ? गठबन्धन नटिक्ने बलियो कारण यो नितान्त पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यक्तिगत स्वार्थमा आधारित हुनु नै हो । पहिले नेकपा (एमाले)सँग गठबन्धन गर्दा दाहालले २.५ वर्षमा सत्ता छाड्ने सर्त थियो ।
नेपाली कांग्रेससँग फर्किँदा माधव नेपालको चित्त बुझाउन उनको भाग २ वर्षमा सीमित भयो । एक वर्ष उनले पूरा गरिसके । अब बाँकी चार वर्ष ओली र दाहाल आधा–आधा प्रधानमन्त्री हुने सहमति भएको भनिएको छ ।
अर्थात्, अहिले नै दाहाललाई सुरुको सहमतिमा ६ महिना र कांग्रेससँगको भन्दा त १ वर्ष नाफा भइसक्यो । अर्को २ वर्ष गठबन्धन टिकेछ भने दाहालले त्यसपछि कांग्रेससँग मिलेर आधाआधा सरकारको नेतृत्व गर्न देउवालाई मनाउने छैनन् भन्ने ग्यारेन्टी त छैन । त्यस अवस्थामा दाहाल त ४ वर्ष प्रधानमन्त्री हुन पाउने भए ।
एमाले अध्यक्ष खड्गप्रसाद ओलीको मूल उद्देश्य नेकपा (एकीकृत समाजवादी)लाई अर्को चुनावभन्दा पहिले नै सिध्याउने देखिन्छ ।
मूलतः सत्ताकै लागि पार्टी छाडेकाहरू बिस्तारै मूल पार्टीमा फर्किन थालेका पनि छन् । माधवकुमार नेपाल प्रधानमन्त्री हुने सम्भावना नभएपछि फर्कने गति अरू तीव्र हुनसक्छ । यद्यपि, झलनाथ खनालले त नेकपा बिउँताउने सपनासमेत देखिसकेका छन् ।
ओली र दाहालको तुलनामा देउवाको प्रभाव राष्ट्रिय राजनीतिमा निकै कमजोर देखिन्छ । ओली र दाहालको पछि लाग्ने कम्तीमा एक एकवटा राष्ट्रिय पार्टी त छन् । रवि लामिछानेको पार्टी ओलीको र उपेन्द्र यादव सधैँ दाहालको पछिपछि लागेका देखिन्छन् । देउवाका पछाडि अर्को कुनै दल वा नेता देखिँदैन ।
राजेन्द्र लिङ्देनलाई ओलीले साँच्चै बोलाए भने इन्कार गर्न गाह्रै पर्ला । सत्ताकै निहुँमा केही दिनभित्र राष्ट्रिय प्रजातन्त्र पार्टी फुट्यो भने आश्चर्य नमाने हुन्छ ।
विसं २०७४ पछिका सबै गठबन्धन सत्ता स्वार्थका लागि नै भएका हुन् । यसैले कुनै स्वाभाविक र कुनै अपवित्र भन्नु हास्यास्पद हो । यस्तै, अहिलेको वा पहिलेको गठबन्धनबाट देश वा जनताको हित हुने पनि ठान्नु मूर्खता नै हुन्छ ।
मन्त्रिपरिषद् गठन नहुँदै ‘मालदार’ र ‘पावरदार’ मन्त्रालय लिन गरिएको ‘बार्गेनिङ’ले नै नयाँ गठबन्धनको अनुहार छर्लङ्ग भएको छ । प्रकारान्तरले सत्ताको क्लच र ‘स्टेरिङ’ दुवै ओलीकै हातमा छ । वामदेव गौतमले भनेजस्तै गठबन्धनका सूत्रधार ओली नै जो हुन् ।
गठबन्धनपछि कांग्रेसका जस्तै एमालेका पनि सत्ताको स्वाद चाख्न पाउने नेता र तिनका कार्यकर्ता खुसी भएका हुनुपर्छ भने बाँकी बहुसङ्ख्यक कार्यकर्ता अप्ठेरो मान्दै होलान् । एमाले पार्टी पङ्क्तिले सरकारको स्वामित्व पक्कै नलेला । यद्यपि, कांग्रेसजन झैँ एमालेहरू सरकारका विरुद्ध मुखर नहुन सक्छन् ।
एमाले नेताहरू सत्ताबाहिर हुने बित्तिकै छटपटाउँछन्, जसरी कांग्रेसका नेतालाई सत्तामा पुगेपछि उकुसमुकुस हुनेगर्छ । यसैले कांग्रसले सत्ता गुमाउनु र एमालेले हत्याउनुमा आश्चर्य मान्नु भने पर्दैन ।
समीकरण परिवर्तनमा चीनको प्रभाव कति छ भन्ने केही दिनमा थाहा हुने नै छ ।
बूढीगण्डकी परियोजना सायद यसको कसी हुनसक्छ । रुसप्रतिको दृष्टिकोण वा एमसीसी कार्यान्वयनमा देखिने प्रतिबद्धता पनि अर्को कसी हुनसक्छ । तर, विदेशीलाई दोष दिने प्रवृत्तिले वास्तविक दोषी लुक्न पाएका छन् ।
जेहोस्, सत्ताको चास्नीमा नलुटपुटिएका कांग्रेसजनले आङ हलुंगो भएको अनुभव गरेका होलान् । सधैँजस्तै यसपटक पनि दाहाललाई दोष दिएर कांग्रेसका नेता पन्छने होलान् ।
के कमजोरी भयो र को जिम्मेवार हो भन्ने चर्चा पार्टीभित्र जतिसुकै भए पनि त्यसको नैतिक जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवा वा सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्ने पूर्णबहादुर खड्काले पनि पक्कै लिनेछैनन् ।
असफलताको नैतिक जिम्मेवारी लिएर सभापति देउवाले नेतृत्व छाड्ने हो भने सायद नेपाली कांग्रेस ‘ग्रहणमुक्त’ हुन पनि सक्ला । तर, अहिलेसम्मको देउवा र उनका नन्दीभृङ्गीको व्यवहार हेर्दा त्यसो होला भन्ने कल्पना पनि गर्न सकिँदैन । र, शेखर, गगनहरूले पनि कार्यकर्ताका बीचमा भाषण गर्नेदेखि अरू केही गर्न सक्नेछैनन् ।