काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन् ।
बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९’ कार्यक्रममा बोल्दै मन्त्री यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताए ।
अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारहरूले ठेक्का लिन नमान्ने गरेको बताउँदै उनले निजी क्षेत्रलाई दिने कि नदिने ? भन्नेमा छलफल भइरहेको बताए ।
यसैगरी, उनले धानको उत्पादन बढाउनका लागि सामूहिक खेती, यान्त्रीकरण, बजारीकरण, भण्डारण र किसानको लागत मूल्यको निर्धारण गर्नु आवश्यक रहेको तथा प्रत्येक पालिकाहरूमा एकजना बीएस्सी एजी अध्ययन गरेकालाई राख्नसके किसानको खेती प्रणालीलाई परिवर्तन गर्न सकिने बताए ।