काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारूढ गठबन्धनको आवश्यक्ता रहेको बताएका छन् । अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका गठबन्धनमा आवद्ध दलका नेताहरुले संघ र प्रदशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायमै राखेर अघि बढन आफ्नो पार्टी तयार रहेको बताए ।
शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा उनले गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन पनि आह्वान गरे ।
“कतिपय पार्टीहरुले धोका दिए पनि, कतिपयले हामीलाई अपमान गरे पनि, हामी आफैले पनि आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारणले गर्दाखेरी हामीले स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न सकेनौं,” अध्यक्ष नेपालले भने, “तर पनि महानगरपालिकामा समेत हाम्रो पनि उपस्थिति रहेको छ । त्यसमा पनि गठबन्धन दलका सबै घटकहरुले हामीसँग भन्नु भएको छ मिलेरै जाऔं ।”
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनका कतिपय दलहरुले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भए पनि संघ र प्रदेशको निर्वाचनमा त्यस्तो नगर्ने प्रतिवद्धता जनाएको पनि बताए । उनले स्थानीय तहको निर्वाचनमा पार्टी भित्रकै कमजोरीका कारण अपेक्षित परिणाम आउन नसकेको कुरालाई स्वीकार गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।