अस्तव्यस्त काठमाडौं सहर
फोहरसँगै मानिस थुप्रिएको सहर
मानिससँगै फोहर थुप्रिएको सहर
सहरमा दुःख गर्न आउने र
सहरलाई दुःख दिन आउनेहरूको सहर
सहरमा बस्ने सबैको रहर
विचित्रको सहर
नदीमाथि सडक बग्ने र
सडकभरि नदी बग्ने सहर
घरघरै पानी पस्ने र
पानीको हाहाकार भएको सहर
सहरमा बस्ने सबैको रहर
हरेकलाई चाहिएको काठमाडौं सहर
गाउँ छोड्ने बाध्यता वा रहर ?
काठमाडौंमा बसी गाउँ सम्झिने
बाध्यता वा रहर ?
काठमाडौंलाई गाली गर्नैपर्ने बाध्यता छ
काठमाडौंलाई गाली गर्ने रहर !
सहरमा घर ठड्याउने
बाध्यता वा रहर
काठमाडौंमा डेरा खोज्ने
बाध्यता वा रहर
चिसो छिँडीमा बस्ने
बाध्यता कि रहर ?
मेरो भने छातीभरि भतभती काठमाडौं पोल्छ
न यो मेरो बाध्यता हो न रहर
कसैलाई पोल्दैन त
तिनलाई काठमाडौं फगत एउटा रमाइलो सहर
थोरै बाध्यता र थोरै रहर ।