कालिञ्चोकमा हिउँ परेको तस्बिर सामाजिक सञ्जालमा देखेको हुँ । हिउँमा खेलिरहेका हरेक उमेर समूहका मानिसको अनुहारमा उत्साह देखिन्छ ।
हिउँदमा देवीको दर्शन गर्न र घुम्न जानेहरूले कालिञ्चोकलाई ‘नेपालको स्वीट्जरल्यान्ड’ भनेको पनि नसुनेको होइन ।
आफू त हिउँ नदेखेको मान्छे, फोटोमै हिउँ देख्दा पनि जाडोले काम छुट्छ । त्यसैले प्रकृतिले हिउँभन्दा टाढै राखेको लाग्छ ।
मैले हिउँसम्म पुग्ने कुरा त सोच्ने मात्र हो ।
हिउँ पर्ने ठाउँसम्म पुग्ने मौका नमिलेको होइन । तर, चिप्लेटी खेल्ने खालको हिउँ आजसम्म मैले भेटेको छैन ।
त्यसो त पूर्वपारि दार्जिलिङदेखि मुगु र बझाङ, डडेलधुरासम्म पुग्न भ्याएकै हो । तर, हिउँले भेटेन । अर्थात्, हिउँलाई मैले भेट्न सकिनँ ।
काठमाडौं खाल्डोबाट उत्तरतिर हेर्दा हिउँले ढपक्क ढाकेको हिमाल नहेरेको होइन । पोखराको बसाइमा पनि कहिले होटेलको छतबाट त कहिले फेवाको लहरमा उत्तरतिरको माछापुच्छ«े देखिएकै हो ।
एकफेर जोमसोमको आँगनमा उभिएर दक्षिण अनुहार फर्काउँदा नीलगिरि आफ्नै अघिल्तिर खडा पाएँ । के गरूँ कसो गरूँ भयो ।
त्यस बेला टेक्नचैँ माटो नै टेकेको थिएँ । पैतालामुनि हिउँ थिएन । अन्तिम असोजमा हिउँ खोज्नुको तुक पनि त थिएन ।
२०६३ साल कात्तिक अन्तिममा मुगुको गमगढी जाने साइत जुर्यो । तर, त्यहाँ पनि पैतालाले हिउँ भेटेन । टाढा डाँडामा आँखाले मात्रै भ्यायो ।
त्यस्तै भयो राराछेउ । पर पहाडको टुप्पोमा जमेको हिउँ राराको निलो पानीमा पौडी खेल्दै थियो ।
हिउँ टेक्न नपाए पनि देख्न पाएकोमा सन्तुष्ट भइयो । हिउँ नै टेक्ने महिनामा त त्यहाँ पुग्न के सकिन्थ्यो होला र ! (मौका मिले पनि जाने थिइनँ !)
२०५३ माघको दोस्रो साता । विराटनगरमा जाडो त्यति थिएन । त्यस बेला झप्सी (शीतलहर) लागेको मलाई सम्झना छैन । घमाइला दिन नै भोगेको हो ।
तीन दिनको छुट्टीमा दार्जिलिङ जाने कार्यक्रम बन्यो । फिक्कल, पशुपतिनगर हुँदै दार्जिलिङ पुग्दा जाडोले नमिठो गरी सेक्यो ।
दार्जिलिङमा एसी कोठामा बस्न सकिएन । कार्यक्रम व्यवस्थापकको अकर्मण्यताको सिकार राजेश राजभण्डारी दाइ, रघुवरलाल श्रेष्ठ र मैले हुनुपर्यो । डबल सिरक खाप्दा पनि जाडो उस्तै ।
खैर, दार्जिलिङमा पनि पैतालाले हिउँ पाएन । त्यसैले हिउँ टेक्न र खेल्न टाइगर हिल जाने कार्यक्रम बन्यो । र, झमक्क साँझमा दार्जिलिङ पुगेका हामी टाइगर हिल जान भन्दै बिहान ४ बजे नै त्यतातिर लाग्यौँ ।
‘लौ, हिउँ यै हो है’ एकजनाले हिउँ देखाए । हिङ बाँधेको टालो आहानको प्रतिनिधित्व गर्दै थियो हिउँ । चिनोका रूपमा खडा थियो, खिइँदै गएको हिउँको एउटा डल्लो ।
हिउँको त्यही चिसो डल्लोलाई सुम्सुम्याइयो । र, कठ्यांग्रिएको हात झनै कक्रक्क बनाइयो । भुइँमा हिउँ भए चिप्लेटी खेल्न हुन्थ्यो । तर, त्यो माटोमा चिप्लेटीको सम्भावना थिएन ।
यता, हिङको टालो मार्काले दिक्क लगाएको थियो । उता, टाइगर हिलको टावरले खिस्रिक्क बनायो । सूर्योदयको दृश्यका लागि उम्दा मानिएको त्यो टावरबाट पनि सूर्य उदाएन । बादलले आँखादेखि मनसम्म सबै छोप्यो ।
टाइगर हिलको उकालो चढ्न गएजस्तो मात्रै भयो । न त हिउँ टेकियो न सूर्योदय नै देखियो । बरु, इलामकै श्रीअन्तु डाँडा पुगेको भए देखिन्थ्यो होला ।
दार्जिलिङबाट फर्किएर साँझ सिलिगुडी झरिएला भन्ने लागेको थियो । त्यता पुगेको भए अन्त कतै हिउँको थुम्कोतिर पुगिन्थ्यो कि !
तर, मूल सडकमा आइसकेपछि गाडी खर्स्याङतिर ओर्लियो । मन झन् खिस्रिक्क भयो । दार्जिलिङ त साँझमा बास बस्न गएको गाउँजस्तो मात्रै भयो । मैले यही अनुभव गरेँ । राजेश दाइ र रघुवरलाई पनि त्यस्तै भयो होला ।
एकफेर नाम्चेबजार जाने कुरो उठेको थियो, जागिरकै सिलसिलामा । त्यहाँसम्म पुगेको भए हिउँका ढिस्काहरूमा रमाइन्थ्यो होला । तर, त्यो कुरो कुरोमा मात्रै सीमित रह्यो ।
कुरो चल्दा साथीहरूले भनेका थिए, ‘लेख (लेक) लाग्ला है राजेश । नाम्चे नजाऊ ।’
लेख लाग्थ्यो÷लाग्थेन, त्यो नाम्चे पुगिसकेपछिको कुरा हुन्थ्यो । नपुगेकाले होला, आज ‘लेख’को अवसर भने जुरेको छ ।
आजसम्म यस्ता जति यात्रा गरियो, कहीँ कतै हिउँ भेटिएन । हिउँछेउछाउ पुग्दा पनि । सायद हिउँलाई थाहा छ, यसलाई हिउँ काम छैन । हिलो नै ठिक छ !
०००
कामविशेषले दोलखा एक–दुईपटक पुगेको हुँ । त्यहाँ पुग्दा पनि नेपालको स्वीट्जरल्यान्ड मानिने जिरी पुग्न सकिएन । जिरीमा हिउँ खेल्न पाइन्थ्यो कि पाइन्थेन, भन्न सक्दिनँ । त्यसले नेपाली स्वीट्जरल्यान्ड यात्रा भने गराउँथ्यो ।
केही साताअघि कालिञ्चोक जाँदा त्यसलाई पनि स्वीट्जरल्यान्ड भनिँदो रहेछ भन्ने थाहा भयो । हामी चढेको गाडी हाँक्ने चालक भाइले यो सुनाइरहँदा दंग परेँ ।
यसपटक कालिञ्चोक यात्रा मेरा लागि अप्रत्याशित रूपमा जुरेको थियो । तीर्थस्थलको यात्रा भगवान्ले नै जुराउँछन् भन्छन् । सायद त्यही नै भयो ।
परोपकारी संस्था हेल्प नेपाल नेटवर्कका अध्यक्ष, आत्मीय साथी अरुणसिंह बस्नेतले दोलखा जानुपर्ने कुरो गरे । नेटवर्कले दोलखामा २०७२ को भैँचालोबाट क्षतिग्रस्त राजकुलेश्वर विद्यालय भवनको पुनर्निर्माण गरी व्यवस्थापन समूहलाई हस्तान्तरण गर्दै रहेछ ।
यो पुनीत कार्य सम्पन्न गरिने यात्रामा नाइँ भन्ने कुरै थिएन । अरुणलाई हुन्छ भनेँ । अनि, १६ वर्षपछि फेरि दोलखा पुग्ने विषयबारे गम्न थालेँ ।
डेढ दशकअघि पाँच–छ दिन चरिकोट बसेको थिएँ । एउटा प्रसंग सम्झनामा आयो । असारको दिन । गर्मीले पसिना निकाल्ने राजधानीबाट चरिकोट जाँदा सर्ट मात्रै बोकियो । त्यहाँ पनि गर्मी नै त होला– त्यै मानसिकताले काम गरेको थियो ।
तर, चरिकोटको चिसोले हाफ स्वेटर किन्नैपर्ने बनायो । कारण, बाहुले कमिजले मात्रै चिसो धान्न सकेन । आफू मधेसको भएकोले पनि होला, अलि बढी नै चिसो लाग्यो ।
१६ वर्षपछि पनि दोलखाको कालिञ्चोकमा मेरो त्यही हविगत भयो । पातलो विन्डसिटरले तीन हजार ८०० मिटर बढीको उचाइमा के जाडो थाम्थ्यो । कालिञ्चोकमा भैँचालोका बेला जमिन हल्लिएभन्दा बढी ज्यान काँपिरहेको थियो ।
अघिल्लो दिन भेट हुँदा अरुणले कालिञ्चोक दर्शनका लागि माथि उक्लिने र साँझ दोलखाबजारमा नै बस्ने योजना रहेको बताएका थिए ।
कालिञ्चोक यात्राको चर्चा भए पनि त्यहाँको चिसोले यस्तरी तर्साउला भन्नेतर्फ सोच्दै सोचिएन । नभए त बाक्लो जाकेट नै बोक्थेँ ।
जेठ १४ गते । बिहान ७ नबज्दै गाडी चढियो । महिला–पुरुष गरी करिब २५ जनाजति थियौँ ।
समूहमा रमाइलो हुन्छ नै । गाडी आफ्नै गतिमा थियो । हामी हाँसोठट्टा गर्दै बाटो छिचोल्दै थियौँ ।
खाडीचौरबाट गाडी उकालो लाग्यो । गर्मी–गर्मी भएको ज्यानले चिसो अनुभव गर्न थाल्यो, उकालो यात्रासँगै । मुडेको हुस्सुले त झन् चिसो बनायो । अनि, मेरो मन चिसो भयो– कालिञ्चोकको चिसोलाई विन्डसिटरले धान्दैन भन्ने सोच्दै ।
चरिकोटदेखि सात–आठ किलोमिटर वरै मकैबारीमा कोस्टर गाडी छोड्दै हामी केही जीपहरूमा चढ्यौँ । एउटा बलेरोमा अरुण, रवि (मानन्धर), दिनेश (श्रेष्ठ)सहित हामी छजना उक्लियौँ ।
बलेरोले उत्तर सडक ताक्यो र हुँइकियो कालिञ्चोकतिर । चालक भाइ विकेश थामी रमाइला रहेछन् । गफिँदै स्टेरिङ बटार्न थाले । विस्तारै पानी छिट्ट्याउन थाल्यो ।
उकालोसँगै पानी दर्काइले वेग लियो । देउरालीसम्म बाटो सहज थियो । त्यहाँदेखि केही परबाट हिलो बाटो देखियो । हिलोमा सकी नसकी गाडी कुदाउँदै थिए गाडी चालकहरू ।
त्यो हिलाम्य बाटोले मन अत्यायो । बाटोमा हिलोभन्दा अरू केही थिएन । चिप्लो बाटोकै छेउ एकातिर भीर ।
केही अगाडि हिलोमै गाडिएको थियो एउटा गाडी । त्यसलाई निकाल्ने भरमग्दुर प्रयास भइरहेको थियो । तर, हिलोको गाजमा गाडी चिप्लिएको चिप्लिएकै ।
अर्को गाडीको त्यो अवस्था देखेरै मुख सुक्दै गएको थियो । तर, हामी चढेको गाडीका चालक भाइ हिलाम्य सडकमा गाडी गुडाउन पोख्त रहेछन् । ‘आफ्नो ट्रयाकबाट हट्नु हुन्न सर’ भन्दै उनी हामीलाई सान्त्वना दिँदै थिए, सायद ।
लगत्तै झ्यालबाट टाउको निकालेर चालक भाइले चिप्लिएको गाडीका ड्राइभरले सुन्ने गरी कराउँदै भने, ‘यसो...यसो गरे फुत्त हिलोको गाज छोड्छ टायरले ।’
अनि, आफ्नै सुरमा भन्दै थिए, ‘नयाँ ड्राइभर भयो कि त्यसलाई हावाकावा खेलाउँछ यो हिलोले ।’
जीपको पछिल्ला दुई सिटमा म र पद्म (थापा) बसेका थियौँ । गाडीले हिलो समाउनासाथ हामी दुईको अवस्था नाजुक हुँदै गएको थियो । दुई–चार ठाउँमा त यति साह्रो उफार्यो, लाग्यो– अब कम्मर कक्क्रियो ।
त्यहीँबाट मेरो कम्मर दुखाइ सुरु भइसकेको थियो । त्यसबखत ज्याकेटभन्दा बढी बेल्ट याद आयो । ‘हैट ! बेल्ट पो बोक्नुपर्ने रै’छ !’
हामीसँग थियो त केवल रुन्चे हाँसो । त्यसैले होला, पद्म र मेरो रुन्चे हाँसो तारन्तार गुन्जिरहेको थियो । रोइरहनुभन्दा गाइरहनु जाती भन्छन् नि ! हामी पनि रुनुभन्दा हाँस्ने काम बढी गरिरहेका थियौँ । हाँसोमा साथ मिल्दै थियो रवि, अरुणहरूबाट ।
अगाडि बसेका अरुण, रवि, दिनेश, निरज सबैको अवस्था त्यस्तै थियो । तर, हामी दुईभन्दा केही सहज नै थियो कि !
हिलोमा गाडी फस्ने सम्भावना अधिक थियो । त्यसैले सबै गाडीका चालकहरूले गाडीको गति तीव्र बनाएका थिए । हिलोमा बनेको ट्रयाक नछोडी जाँदा त्यति गाह्रो नहुने रहेछ ।
तर, जसै अर्को गाडीलाई साइड दिन वा अर्को कुनै गाडीले ओभरटेक गरे लिकबाट हट्नु पर्थ्यो, त्यसपछि भने लिक समाउनै कठिन । लिक नसमाएसम्म चक्का चिप्लिएको चिप्लिएकै हुने ।
करिब ५० मिनेटभन्दा बढी यस्तो बाटोको यात्राले सारा शरीर गलाएको थियो । शरीर मात्र होइन, मानसिक रूपमै गरेको अनुभव भइरहेको थियो ।
बीचबीचमा कतैकतै ढलान गरेको दुई–चार सय मिटर बाटो नभेटिएको होइन । तर, विकेश भाइ हँसाउँदै थिए, ‘यो ढलान केही बेर थकाइ मार्नलाई मात्रै हो ।’
हामी सबैको मुखबाट हाँसोको फोहरा छुट्यो । अट्टहास सकिन नपाउँदै विकेश भाइले फोर ह्वील गियर लगाए । र, हिलोको ढिस्कोमा गाडी चढाए । गाडी उक्लेर केही अगाडि गइसकेपछि उनले फोर ह्वील हटाए ।
यसरी करिब ५० मिनेटको धान रोपाइँ गर्न सकिने हिलोकादो बाटोमा २०औँपटक उनले फोर ह्वील लगाए । हटाए ।
पूरापूर डरको घर रहेको त्यो बाटोमा हाम्रो अवस्था के भयो होला, अनुमान गर्न सक्नुहुन्छ ।
कालिञ्चोक बजार छिर्दै गर्दा विकेश भाइ भन्दै थिए, ‘यो नेपालको स्वीट्जरल्यान्ड हो सर ! अझै हिउँ परेको समयमा त यहाँका होटेलमा कोठै पो भेटिन्न ।’
त्यस्तो बाटो कसरी स्वीट्जरल्यान्ड हुनसक्छ ? १८ किलोमिटर यात्रालाई साढे एक घण्टाको समय, के यस्तै हुन्छ र स्वीट्जरल्यान्डतिर ?– यस्तै केही सोचेँ ।
नजाने स्वीट्जरल्यान्डका बारेमा किन सोच्नु ! त्यसैले कालिञ्चोककै आकर्षक रूपरङमा बनाइएका घरहरू हेर्न थालेँ । मन रमायो । मोहित बनायो ।
अझ सेता हिउँले ढपक्क ढाकेको बेला यो बजार कति सुन्दर देखिन्छ होला, सोचेँ । तर, तत्कालै आफ्नो पातलो विन्डसिटरले धान्छ कि धान्दैन भनेर कम्प छुट्यो । मकैबारीमा ब्यागबाट निकालेर काँधमा राखेको गम्छालाई खास्टोजस्तै ज्यानमा बेरेँ । अलिकति भए पनि न्यानो हुन्छ कि !
कालिञ्चोक केबलकार स्टेसनअघिल्तिर गाडीबाट ओर्लिनासाथ हावाको चिसो स्याँठले सेक्यो । बाहिर एकनास पानी दर्किरहेको थियो । गम्छाले थोरै राहत दिएजस्तो मात्रै गर्यो ।
०००
खाना खाईवरी कालिञ्चोकबाट फर्किंदा विकेश भाइ सुनाउँदै थिए, ६ वर्षयता यही हिलो र हिउँ भरिएको बाटोमा गाडी गुडाएको कहानी । भन्दै थिए, ‘एक दिन यो बाटोमा गाडी नगुडाए जिउ दुखेर आउँछ ।’
जीप लिएरै भारतका विभिन्न महानगरहरू घुमिसकेका विकेश परिपक्व ड्राइभर भएको उनको कुराकानीले बुझाउँथ्यो । फर्कँदा पनि उनले केही गाडीका चालकलाई ‘यसो यसो गर्नु, फसेको ठाउँबाट गाडी निस्किन्छ’ भनेर सिकाउँदै थिए ।
त्यस्तो हिलोको गाज भरिएको अप्ठ्यारो बाटोमा पनि उनको अनुहारमा अलिकति थकान र तनाव थिएन । न त खरा शब्द नै । कुरा सुन्दा लाग्थ्यो, उनी आफ्ना लागि होइन, यात्रुका लागि गाडी हाँक्छन् । त्यसैले यात्रुको सुविधालाई ध्यान दिन्छन् । बरु, एक छिन ढिलो भए हुन्छ ।
साँझको ६ बजिसकेको थियो, मकैबारी आइपुग्दा । विकेश भाइ हामीलाई होटेल छोडेर अर्को समूह लिएर कालिञ्चोक उक्लने तयारीमा थिए । रात बस्न जानेहरूको भीड हामी फर्कँदा नै हिले बाटोमा घिस्रिरहेका गाडीहरूमा देखेका थियौँ ।
त्यो हिलो छिचोल्दै अझै कति गाडी मानिस ‘स्वीट्जरल्यान्ड’ उक्लने हुन्, खास्टोजस्तै ओढेको गम्छालाई गलबन्दी बनाउँदै सोचमग्न भएँ ।