काठमाडौं । रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको छ ।
उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाईँ नेतृत्वको समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन मंगलबार गृहमन्त्री खाँणलाई बुझाएको हो । गृहमन्त्री खाँणले कैदी हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनमा समेटिएका विषय कानुनानुरूप कार्यान्वयनको प्रक्रियामा लगिने बताएका छन् ।
रोल्पा कारागार कार्यालयमा गएको जेठ ४ गते हरिजनले झुन्डिएर आत्महत्या गरेका थिए । प्रतिवेदनले दोषी औँल्याएकालाई कानुनानुरूप कारबाहीको प्रक्रिया सुरु गरिने गृहमन्त्री खाँणले प्रतिबद्धता जनाएका छन् । घटनाबारे छानबिन गर्न सहसचिव सेढाईँको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट जेठ १७ गते पाँच सदस्यीय समिति गठन भएको थियो ।
समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, प्रहरी उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए ।
समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरबाही तथा त्रुटि गरेको र कर्तव्य पालनामा उदासीनता देखाएको उल्लेख गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिवेदनमा प्रस्तुत गरिएका सुझाव लागु गर्न सिफारिस गर्दै लागु भएमा कारागार प्रशासन सुध्रन सक्ने संयोजक सेढाईँले बताए । समितिले २०७७ मंसिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदी हरिजन र विजयविक्रम शाहको स्थानान्तरण गर्दा भएको त्रुटि तथा कैदीले आत्महत्या गरेको सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ ।
समितिले घटनाको स्थलगत अध्ययन, अवलोकन, सूचना संकलन तथा विश्लेषण, सोधपुछ, फोन विवरण अध्ययन र घटना विवरण विश्लेषण गरेर प्रतिवेदन तयार पारेको जनाएको छ । रासस