site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमाल र जीवनको लयात्मकता : पैतालामा हिउँ आँखामा हिमाल

नियात्रा विधा र यसका अनिवार्य तत्त्वका विषयमा पछिल्लो समय घनीभूत छलफल मात्र होइन, नियात्रा विधाको परिचय र सिद्धान्तका अनुसन्धानात्मक कृतिहरू प्रकाशित हुने क्रम पनि जारी छ ।

२०७३ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको गीता त्रिपाठीको ‘नेपाली नियात्रा सिद्धान्त र प्रयोग’ नियात्राका विषयमा शोध, अनुसन्धान गरी तयार पारिएको पुस्तक हो । यसमा लेखक त्रिपाठीले नियात्रा आत्मपरक निबन्धबाट जन्मिएर यात्रालाई आधार मानी लेखिएको मौलिक विधाका रूपमा परिभाषित गरेकी छन् (पृ. १८) ।

नियात्राबारे विद्यामान् अनेक अलमलको निदान खोज्ने हेतुले २०७७ सालमा जय छाङ्छाले ‘नियात्रा विधा : परिचय’ नामक अनुसन्धानकृति पाठकसमक्ष ल्याएका छन् । उनी भने नियात्रालाई निबन्धको उपविधा नभई एक स्वतन्त्र विधा भएको दाबी गर्छन् (पृ.३) । साथमा उनले नियात्रासम्बन्धी मौलिक सिद्धान्तका रूपमा ‘कुम्लीय सिद्धान्त’ (ब्याक–प्याक थ्योरी) (पृ.११) को पनि विस्तृत चर्चा गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुवै लेखकका नियात्रासम्बन्धी धारणामा केही सहमति–असहमति भएता पनि दुवैले नियात्रालाई एक मौलिक विधाका रूपमा भने स्वीकारेको पाइन्छ ।

आधा शताब्दी नाघिसकेको छ बालकृष्ण पोखरेलले यस नवीन गद्य लेखनलाई नियात्रा भनी नामकरण गरेको । यसबीच प्रकाशनमा आएका नियात्राकार र नियात्राकृतिको सूची पनि निकै लामो बनिसकेको छ ।

नियात्रा लेखनको यसै उर्वर माहोलमा नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्राकृति ‘पैतालामा हिउँ आँखामा हिमाल’ प्रकाशित भएको छ ।

नियात्राको कुम्लीय सिद्धान्तलाई अघि सारेका छाङ्छाले नियात्राको विशेषता र तत्त्वहरूका रूपमा व्यक्तिपरकता, चित्रात्मकतादेखि गतिशीलता र गुप्त रहस्यहरूका उत्खनन आदिलाई विशेष महत्त्व दिएका छन् ।

डङ्गोलको नियात्रासयरमा यी सबै नियात्रीय तत्त्वहरूको उचित सम्मिश्रण पाइन्छ । हुन त अग्रज नियात्राकार राजेन्द्र सुवेदी, निर्मोही व्यासदेखि नियात्रा सिद्धान्तबारे चिन्तनरत त्रिपाठीले निजात्मकता, आत्मानुभूतिबारे र कल्पनाशीलता आदिलाई नियात्राको अनिवार्य सर्तका रूपमा उठाइसकेका छन् । भलै, नियात्रा लेख्न या पढेर आनन्दित हुन सैद्धान्तिक टेको कतिको आवश्यक छ, त्यो भने अर्को छलफलको विषय हुनसक्छ ।

डङ्गोलको यस संग्रहमा स्थान परिवेशको चित्रात्मक वर्णनदेखि भूगोल, समाज र संस्कृतिसँगको थोरबहुत साक्षात्कार, साथै विशेष स्थानबारे नखुलेका केही पाटाहरू पनि खुलाउने प्रयत्न भएको देखिन्छ । पर्यटनकर्मीको हैसियतमा देशका दूरभूगोलका विकट ठाउँमा पुग्दाको अवसरलाई अनुभूति र तथ्यको सम्मिश्रण गरी पाठकसमक्ष प्रस्तुत गर्नुले नै नियात्राकारको लेखनप्रतिको लगावलाई प्रस्ट पारेको छ ।

काठमाडौंको काँठ वरपरका डाँडा, छिमेकी हेलम्बु, पोखरा पल्तिरको मनोरमतादेखि हिमालपारि माथिल्लो मुस्ताङ र रुबी भ्यालीसम्मको यात्राकोसेली यस पुस्तकले समेटेको छ ।

डङ्गोलको नियात्राको प्रमुख विशेषतामा उनी पुगेको ठाउँको भौगोलिकदेखि सांस्कृतिक पक्षको उत्खनन प्रयास पर्दछ । हेलम्बुका विभिन्न ठाउँको यात्रामा उनी ठाउँ र प्राकृतिक मनोरमताको मात्र नभई त्यस भेगसँग जोडिएको इतिहासतिर पनि सरोकार राख्दछन् । त्यस ठाउँसँग जोडिएको तामाङ जातिमाथिको राणा शासकहरूको दलनको फेहरिस्त प्रस्तुत नभए पनि दरबारीय जालझेल र षड्यन्त्रको सिकार भएकी रानी राजराजेश्वरीको हेलम्बु निर्वासनको प्रसंग (पृ. ३६) भने उप्काएका छन् ।

इतिहास र वर्तमानबारे विशेष चनाखो रहेका लेखक उनी पुगेका विभिन्न ठाउँको नामकरणको मिथक र त्यस भेगमा नामी कवि र प्रचलित केही गीतहरूलाई नियात्रामा समेट्दछन् । गीत फगत मनोरञ्जनका खातिर नभई त्यसले समेट्ने समाज, इतिहास र सांस्कृतिक वर्णनका लागि पनि उतिकै मननीय हुन्छन् ।

मुस्ताङ सेरोफेरो यात्रामा उनी बारम्बार भूपी शेरचनका कविता सम्झन्छन् भने पञ्चासेको यात्रामा त्यहाँको चल्तीको गीत ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले...।’ प्रायः नियात्रामा कतै न कतै गीत या कविताका हरफहरू ल्याउनुले समाज र संस्कृतिप्रतिको लेखकीय सरोकारलाई पुष्टता प्रदान गरेको छ ।

स्थानविशेषको इतिहास र मिथकीय जोडाइसँगै समकालीन विसंगतिप्रतिको चिन्तन यस नियात्राको विशेषताभित्र पर्दछ । यस मानेमा नियात्राकार समयवी चेतना र ऐतिहासिक उत्खननमा विशेष चासो राख्दछन् ।

एक पर्यटनकर्मी भएका कारण पुगेका विभिन्न ठाउँबारे पर्यटन प्रवद्र्धनका लागि हुनुपर्ने विकासका बारे त उनी मनन गर्छन् नै, त्यसका अतिरिक्त मौलाइरहेको सामाजिक भ्रष्टीकरणप्रति झन् बढी चनाखो छन् ।

तामाङ र गुरुङहरूको बाहुल्यता रहेको रुबी भ्यालीले पाएको प्राकृतिक वैभवताका साथमा दिनानुदिन झांगिँदै गएको धर्म परिवर्तनको सिलसिलाले स्थानीय धर्म र संस्कृति लोपको बाटो खनिरहेको अवस्थाप्रति लेखक निकै चिन्तित देखिन्छन् ।

खासमा इसाईकरणको जालो पूर्व, पश्चिम चारैतिर फैलिँदै छ । आज कर्णालीको विकट गाउँतिर क्रसहरू ठडिने क्रम जारी छ । यसैको एक उदाहरण रुबी भ्यालीमा देखिएको दृश्यमार्फत पेस गर्छन् ।

अचेल त पहाडले पनि इसाई धर्मको प्रतीक ‘क्रस’को फुली लगाउन थालिसकेछन् । परम्परागत रंगीन लुङ्दरको बुलाकीले शोभायमान हाम्रा पहाडलाई जबरजस्ती लगाइदिएको फुली अशोभनीय लाग्यो मलाई । (पृ. ३४२)

क्रसको ठड्याई केवल सतहमा देखिएका विम्ब हुन्, तर राज्य त्यसको गहिराइ खोतल्न चुकिरहेको छ । खासमा किन कोही आफूले मानी आएको धर्म, संस्कृतिलाई लुतो फालेझैँ फाल्न खोजिरहेछ यो देशमा ? सानो आँटले कसैले त्यसो गर्न सक्ला ? भरपेट खाने हैसियत भएकाहरू के कति छन् होला धर्म परिवर्तन गर्ने ?

बिमार पर्दा औषधि उपचार गर्न सक्ने को होला इसाई गुरुले गरिदिने प्रार्थनातिर लाग्ने ? लेखक स्वयम्ले लमजुङ यात्रामा भेटेका गुन्टे सार्कीकी दुलही (धर्म परिवर्तन गरेकी) र मुगुको ताल्चा विमानस्थलकै थाप्लोको घरमा ठडिएको क्रसबाट निकै आहत भएका थिए । धर्म परिवर्तनका खातिर तयार भएका परिस्थितिप्रति राज्यको चासो र सम्बोधन खास अर्थमा आवश्यक छ आज ।

डङ्गोलले यात्रासँगै देखिएका अनेक सामाजिक विसंगतिमाथि पारेको नजर र उजागर गरेको विषयले उनको समाजप्रतिको जिम्मेवारीपनलाई पनि प्रस्ट देखाएको छ ।

२०७६ सालमा प्रकाशित ‘यात्राका पाइला’ नामक नियात्राकृतिमार्फत नेपाली नियात्रा साहित्यमा आफ्नो दरिलो उपस्थिति जनाएका डङ्गोलको यस संग्रहले यात्रासँगै समाजिक, संस्कृतिक, भौगोलिक र समयवी चिन्तन अघि सार्न सफल देखिन्छ ।

तथापि, कहीँ कतै लेखकको अवचेतनमा रोपिएको पितृसत्तावादी चिन्तन भने आक्कलझुक्कल उत्रिएको छ, संग्रहमा । मुस्ताङको थाकखोला र वरपरको परिवेश वर्णनसँगै लेखक बारम्बार ‘डङ्किनी’ शब्दको प्रयोग गर्छन् । ती प्रसंगहरूमा रिम्पोचेको पाइला परेका कारण त्यस भूगोलबाट डङ्किनीको साम्राज्य समाप्त भएको स्थानीय मिथक या विश्वासमाथि लेखकले पनि सही थपेको देखिन्छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशले डङ्किनी या डाकिनी शब्दको अर्थ ‘आफ्नो बिगार गर्ने वा मन नपरेकी स्वास्नीमानिसलाई गाली गर्दा भनिने शब्द पिशाचिनी’ उल्लेख गरेको छ । यस शब्दको अर्थलाई गहिरिएर हेर्दा महिलाप्रतिको पितृवादी दृष्टिकोण स्पष्ट हुन्छ ।

अब सवाल उठ्छ, यस समाजलाई बिगार पुर्याउने मामिलामा महिला या पुरुष को बढी जिम्मेवार छ ? चार हजारभन्दा बढी सालदेखि पितृतन्त्रको एकछत्र राजको छायामा परेर नामेट पारिएको महिला अस्तित्वका बारे यसखाले मिथक र कथाहरू अघि बढाइरहनु पनि त्यस अन्यायी तन्त्रलाई साथ दिनु हो ।

मुस्ताङ क्षेत्रको मिथकमा व्याप्त डाकिनी साम्राज्य कतै थकालीलगायत नेपालको पहाडी र हिमाली क्षेत्रको जनजाति समुदायभित्र विगतमा रहेको महिलाको वर्चस्वशाली स्थितिबारेको कटाक्ष त होइन ? (तर, आज जनजाति समुदायको महिलाको पहिलेको शक्तिशाली अवस्थामा ह्रास आइसकेको छ) । विगतमा रहेको महिलामुलीको अवस्थाप्रति पितृसत्ताको तिखो प्रहार त होइन डङ्किनी विम्ब ? सचेत लेखकजनले यस किसिमका शब्द प्रयोगमा भने विशेष सतर्कता अपनाउन ढिला भइसकेको छ ।

यस किसिमका केही कमजोरीका साथै पर्यटकमैत्री वर्णनको प्रचुरताका कारण प्रायः दुई या तीन लामा नियात्राले मात्र पुग्न चाहेको गन्तव्यमा पुर्याउनुले भने लेखकीय सीमा तोकिदिएको छ । आवश्यकताभन्दा बढी लम्बिएकाले लगभग चार सय पृष्ठमा टुंगिने यो पुस्तक पढ्न धैर्यता चाहिन्छ ।

यसका अलावा लेखकको यात्रामा सँगै यायावर हुन चाहने पाठकका लागि भने देशको भूगोल, समाज, भिन्न संस्कृति, जीवनशैलीलगायत समकालीन चेतनाका अनेक यथार्थसम्म पुर्याउन राजेन्द्रमान डङ्गोलको यस नियात्रा सक्षम छ ।

यात्रा वर्णनसँगै मिथक, इतिहास र समयवीपनलाई प्राथमिकताका साथ उतार्दै काव्यात्मक अभिव्यक्ति दिन सक्नु डङ्गोलको खासियत हो ।     
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro