काठमाडौं । जिल्ला समन्वय समिति ललितपुरको प्रमुखमा नेपाली कांग्रेस ललितपुरका सहसचिव एवं स्थानीय तह निर्वाचनमा महाँकाल गाउँपालिका–३ बाट सदस्य पदमा विजयी ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)बाट वाग्मती गाउँपालिकाका रामलाल थिङ निर्वाचित भएका छन् ।
यस्तै, खुला सदस्यमा कांग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन् । अल्पसंख्यकमा कांग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसीले जानकारी दिए । उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई आज जिल्ला निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान र शपथग्रहण गराउने जनाइएको छ ।
सत्ता गठबन्धनमा आबद्ध दलले आउँदो संघ र प्रदेशको चुनावसम्मै तालमेल गरेर जाने सहमतिअनुसार जिल्ला समन्वय समिति गठनमा समेत तालमेल गरिएको कांग्रेसका एक नेताले बताए ।