काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी कात्तिक अन्तिम साता निर्वाचन गर्नेगरी छलफल थालेको छ ।
सोमबार सत्ता गठबन्धन र मंगलबार भएको सत्ता गठबन्धन संयन्त्रको बैठकमा कात्तिक अन्तिममा संघीय र प्रादेशिक चुनाव एकसाथ गर्ने कि प्रदेशको मात्र गर्ने भन्ने विषयमा छलफल भए पनि ठोस सहमति जुटिसकेको छैन ।
सोमबार प्रधानमन्त्रीको अध्यक्षतामा गठबन्धन दलका शीर्ष नेताको बैठक बसेको थियो भने मंगलबार गठबन्धन संयन्त्रको बैठक बसेको थियो ।
ती दुबै बैठकमा गठबन्धनलाई निरन्तरता दिने समझदारी भएको छ ।
सोमबारको बैठकमा संघीय र प्रादेशिक चुनावका विषय उठे पनि निर्णय भने स्थानीय तहका बाँकी रहेका स्थानमा कार्यपालिका सदस्य चुनावमा गठबन्धन गर्ने र ७७वटै जिल्ला समन्वय समितिमा पनि गठबन्धन गर्ने निर्णय भएको थियो ।
त्यो निर्णयलाई मुर्त रुपमा दिन मंगलबार गठबन्धन संयन्त्रको बैठक बसेको हो । गठबन्धन संयन्त्रको बैठकमा पनि माओवादी केन्द्रले कात्तिकमा संघीय र प्रादेशिक चुनाव गर्नेगरी सम्मानजनक तालमेलको कुरा उठाएको थियो ।
कार्यलका एक सदस्यका अनुसार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त्यस्तो प्रस्ताव राखेका थिए । तर, संयन्त्र संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने संघीय र प्रादेशिक चुनाव घोषणा नै नभएको भन्दै अहिलेलाई गठबन्धन गर्ने सैद्धान्तिक निर्णय नै काफी रहेको बताएका थिए ।
“गठबन्धनलाई निरन्तरता दिने समझदारी गठबन्धनका शीर्ष नेताको बैठकमा भइसकेको छ, अहिले तत्काल गर्नुपर्ने काममा जुटौँ,” संयन्त्रका संयोजक पौडेलको भनाई उद्धृत गर्दै संयन्त्रका एक सदस्यले भने, “अहिले स्थानीय तहका कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिको विषय टुंग्याउँ त्यसपछि संघ र प्रदेशको चुनावका विषयमा प्रवेश गरौंला ।”
पौडेलले त्यसो भनेपछि संघीय चुनावका विषय मंगलबारको बैठकमा थप छलफल नभएको ती सदस्यले बताए ।
स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक गरिनसकेको निर्वाचन आयोगले ने संघीय चुनावका विषयमा छलफलसमेत थालेको छैन । त्यसैले उसले संघीय र प्रादेशिक चुनावका विषयमा सरकारलाई मिति प्रस्ताव पनि गरेको छैन ।
निर्वाचन आयोगका एक आयुक्तका अनुसार आयोगले संघीय चुनावको विषयमा छलफल नै नथालेकाले मिति पनि प्रस्ताव गरेको छैन । “स्थानीय तह निर्वाचनमै अझै एउटा पालिकामा निर्वाचन गराउन बाँकी छ । स्थानीय तहमा देशभरबाट आएको नतिजाको समीक्षा समेत भइसकेको छैन,” ती आयुक्तले भने, “स्थानीय तह निर्वाचनको अन्तिम नतिजाको समीक्षा विश्लेषण सकिएपछि बल्ल संघीय चुनावका विषयमा छलफल थाल्छौँ ।”
उनले संघीय निर्वाचनका लागि पर्याप्त समय बाँकी रहेकाले पनि अहिले हतार नरहेको बताए । संघीय चुनाव २०७४ सालमा मंसिर ४ र मंसिर २१ गरी दुई चरणमा सम्पन्न भएको थियो ।
निर्वाचन मितिका आधारमा संघको चुनाव मंसिर ४ अघि नै गराउनुपर्ने हुन्छ । तर, निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्न राष्ट्रियसभा निर्वाचन कुर्नुपरेका कारण माघ ३ गते मात्र निर्वाचन आयोगले समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गरेका थियो ।
अन्तिम परिणाम सार्वजनिक भएको मितिका अधारमा भने फागुनमा पाँच वर्ष पूरा हुँदा संवैधानिक रुपमा फागुनमा निर्वाचन गराउन पनि संवैधानिक समस्या नहुने संविधानविदहरुको बुझाई छ ।