काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले स्थानीय तहलाई प्रभावकारी बनाउन कानुनमा सुधार गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले किसानले मल पाउने कि नपाउने, बिरामी हुँदा सहजरुपमा उपचार सेवा पाउने वा नपाउने भन्नेतर्फ ध्यान दिनसमेत आग्रह गरे ।
अर्थतन्त्र समस्यामा पर्न थालेको उल्लेख गर्दै उनले व्यापार घाटा बढेकाले समस्या समाधानका लागि अग्रसर हुनुपर्ने बताए । उनले अमेरिकी डलरको सञ्चितिमा व्यवधान आउने खालका कुनै पनि आयात नगर्नेबारे सरकारले घोषणा गरेको खण्डमा नागरिकमा समेत विश्वास पैदा हुने बताए ।
उनले हेलिकोप्टर, मरिच, केराउ, कुनै पनि सामान आयात नगर्नेतर्फ सरकार लाग्नुपर्ने स्पष्ट पारे । आयात रोकेर मात्रै नहुने भएकाले निर्यात बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने सांसद थापाको भनाइ छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा परेको चापलाई सम्बोधन गर्न सरकारले उपभोक्तालाई पनि राहत दिनेतर्फ लाग्नुपर्ने सांसद थापाको भनाइ छ । रासस