काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले निजी क्षेत्र सक्रिए नभएसम्म आर्थिक विकास गर्न नसकिने बताएका छन् ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल स्वदेशी सम्मेलन २०२२ मा मन्त्री बडुले औद्योगिकरणका लागि निजी क्षेत्र सक्रिय हुनुपर्ने र निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अगाडि बढ्ने बताए ।
स्वदेशी उत्पादन र उपभोग बढाउन आवश्यक रहेको भन्दै उनले २०७९ देखि २०८९ सम्मको एक दशकलाई स्वदेशी उपभोग अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
स्वदेशमै उत्पादन हुन सक्ने वस्तु पनि आयात हुनु चिन्ताजनक रहेको उनको भनाइ छ । “दाल, भात, तरकारी, अचार सबै आयात भइरहेको छ,” उनले भने, “स्वदेशी उत्पादन बढाउनै पर्छ, निर्यात बढाउनै पर्छ । निर्यात प्रोत्साहन र आयात कम गर्ने वित्तीय र मौद्रिक नीति हुनैपर्छ ।”
उनले निजी क्षेत्रको सहभागितामा रुग्ण उद्योग सञ्चालनको गृहकार्य भइरहेको पनि बताए । स्वदेशी उत्पादन र स्वदेशमै रोजगारी बढाए मात्रै अर्थतन्त्रमा सुधार आउने उनले बताए ।