site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस पुरानै जनाधारमा ढुक्क, इतिहास फर्काउने एमालेको दाउ, जसपालाई तालमेलको बल
Siddhartha BankSiddhartha Bank

विराटनगर । प्रदेश–१ को राजधानी विराटनगर महानगरपालिका यतिबेला चुनावमय छ । उमेदवारका चुनावी प्रचार र घरदैलो अभियान लगभग पूरा हुन लागेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दल, तिनका नेता, उमेदवार र कार्यकर्ताको दौडधूप बाक्लिएको हो ।
 
मौन अवधिमा चुनावी प्रचारका कार्यक्रम गर्न नपाइने भएकाले सकेसम्म धेरै मतदाता भेटेर आफ्नो पक्षमा पार्न उमेदवार हतारिएका छन् । औपचारिकबाहेक उनीहरू अनौपचारिक रुपमा पनि मतदाता भेट्न घरघर पुगिरहेका छन् । निकै व्यस्त भेटघाट र कार्यक्रम तालिकाबीच उमेदवार दैनिक दर्जनांै कार्यक्रममा सहभागी भइरहेका छन् । गठबन्धन दल, नेपाल कम्युनिष्ट पार्टी (एमाले), साना दल र केही स्वतन्त्र उमेदवारले चुनावी प्रचार–प्रसारका अनेकन विधि अपनाएर मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् ।
 
कांग्रेसबाट मेयर पदका उमेदवार नागेश कोइराला भन्छन्, “बिहानदेखि बेलुकासम्मको चुनावी कार्यक्रम निकै भ्याईनभ्याई छ । आफ्ना कुरा मतदाता समक्ष पुर्याउन समय पुग्ला कि नपुग्ला भन्ने चिन्ता भइसक्यो ।” सामाजिक संजाल र संचारमाध्यमको पनि प्रयोग गरेको कोइरालाले सुनाए ।
  
नेकपा एमालेबाट मेयर पदका उमेदवार सागर थापाको दैनिक हुने कार्यक्रमको चाप पनि उस्तै नै छ । सचिवालयले बनाएको कार्यतालिकाअनुसार थापा बिहानैदेखि चुनावी अभियानमा निस्किन्छन् । राति अबेरसम्म पनि यो क्रम चलिरहन्छ । “अब त धेरै दिन पनि छैन त्यही भएर सकेसम्म मतदाता भएको ठाउँमा आफैं पुग्ने प्रयासमा हुन्छु,” थापाले भने ।

मेयरमा उठेका स्वतन्त्र उमेदवार उमेश यादव र राप्रपाका प्रह्लादप्रसाद साहको व्यवस्ता झन् बढेको छ । बिहानदेखि बेलुकासम्म चुनावी अभियानमा लाग्दा शारीरिक थकानसमेत भुलिसकेको साहले सुनाए । उनीहरु जस्तै अन्य राजनीतिक दलका उमेदवार पनि चुनावी अभियानमा निकै खटिएका छन् । गठबन्धनबाट उपमेयर पदका उमेदवार अमरेन्द्र यादव अहिले मतदाताका घरघर पुग्नेदेखि सामाजिक संघसंस्थाले आयोजना गर्ने चुनाव केन्द्रीत अभियानमा आफू व्यस्त भएको बताउँछन् ।

चुनावमा कांग्रेस एक ढिक्का 
कांग्रेसभित्रको समूह राजनीति र हुनसक्ने अन्तरघातको अड्कलबाजीबीच केन्द्रीय नेता डा. शेखर कोइराला ढुक्कै विराटनगरमा छन् । विराटनगरसहित जिल्लाका पालिकामा हुने चुनावी सभामा भाग लिनेदेखि कांग्रेसका असन्तुष्ट पक्षलाई मिलाउनेसम्मको कार्यमा कोइराला सक्रिय छन् । सोमबार कोइराला निवासमा उनले बाह्रखरीसँग भने, “विराटनगरसहित प्रदेश–१का धेरै पालिकामा कांग्रेसको अवस्था राम्रो छ ।”

Agni Group
NIC Asia

केन्द्रीय नेता महेश आचार्य नागेश कोइरालाको चुनावी अभियानमा आफैं सक्रिय भएर लागिपरेका छन् । उनले विराटनगरसहित अन्य पालिकामा पार्टीभित्र देखिएका कलह र असन्तुष्ट पक्षलाई सम्झाउनेदेखि मिलाउनेसम्मका काम गरिरहेका छन् । कांग्रेसको पक्षमा जनमत बढाउन सहयोग गरिरहने अर्का नेता हुन डा. मिनेन्द्र रिजाल । नेपाली कांग्रेसका विराटनगर सभापति दीपक चापागाईंका अनुसार केन्द्रीय नेताहरू विराटनगरको चुनावमा एक ढिक्का भएर सक्रिय भएको बताए ।
   
मोरङबाट कांग्रेसको केन्द्रमा प्रतिनिधित्व गर्ने तीनजना चर्चित नेताको साटो नागेश कोइरालाले मेयरमा टिकट पाएपछि अन्यबाट सहयोग नहुने एकथरीले चर्चा गरेका थिए । तर, टिकटको लाइनमा रहेका केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला र भीम पराजुली आफैं चुनावी अभियानमा सक्रिय भएका छन् । अर्याल विराटनगरको दक्षिणी क्षेत्रमा रहेका मत एकत्रित गर्न र पराजुली उत्तरतर्फबाट विगतमा प्राप्त गरेजस्तै मत दिलाउन सक्रिय भएका छन् । पराजुली भन्छन्, “टिकटको दौड एउटा थियो तर अब पार्टीले निर्णय गरेर पठाइसकेपछि हामीले व्यक्ति हेर्ने कुरा हुँदैन । यहाँ कांग्रेसले जित्नुपर्छ भन्नेमा दृढतासाथ लागि परेका छौं ।” 

नेता अर्यालले चुनावी कार्यक्रमहरूमा सहभागी भई मतदातालाई द्विविधामा नबस्न र विराटनगरको समग्र विकासको निम्ति कांग्रेसलाई सघाउन आग्रह गरिरहेका छन् । नेतृ संग्रौलाले कांग्रेसको साख गिर्ने काम कहिँकतैबाट नहुने र विजय सुनिश्चित भएको बताएकी छन् । 

Global Ime bank

गठबन्धनको बलियो अवस्था
तालमेल भएका कारण विराटनगरमा गठबन्धनको अवस्था निकै मजबुत देखिएको छ । गठबन्धनकै कारण मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादवको अवस्था बलियो देखिएको छ । कोइराला भन्छन्, “विराटनगर त्यसै पनि कांग्रेसको राम्रो जनाधार भएको ठाउँ हो । अहिले गठबन्धन दलहरूको मतसमेत थपिन पुगेपछि हामी निकै सहज अवस्थामा छौं । सिंगो जसपा, माओवादी केन्द्रको साथ कांग्रेसको आफ्नै धरातललाई आधार बनाएर हामीले जित्छौं भन्ने आत्मविश्वास बढेको हो ।”

गठबन्धनका उमेदवारलाई जित्न धेरै सकस नपर्ने उपमेयरका उमेदवार यादव दाबी गर्छन । विराटनगरको वहुसांस्कृतिक पक्ष, चुनावी तालमेल अनि गठबन्धन दलको बलियो जनाधार नै आफूहरु विजयी हुने आधार रहेको उनले दाबी गरेका छन् । आफ्नो पार्टी परित्याग गरी स्वतन्त्र उमेदवारी दिएका उमेदवारबाट धेरै ठूलो क्षति नहुने आफूहरूको अड्कल रहेको सुनाउँदै उनले भने, “पार्टीहरूमा सानातिना मतभेद नहुने भन्ने हुँदैन तर हामीलाई धेरै ठूलो धक्का नै लाग्छ जस्तो लागेको छैन ।” पार्टीले आफ्ना मतदातालाई एकत्रित गर्न कुनै कसर बाँकी नराखेको यादवले सुनाए ।
  
निर्वाचन कार्यालय मोरङका अनुसार विराटनगरमा यसपटक महिला मतदाता ६२ हजार ६१८ र पुरुष मतदाता ७० हजार ५२४ गरी कुल एक लाख ३३ हजार १४२  मतदाता छन् । 

२०७४ मा चार दलले गठबन्धन गरी चुनावी प्रतिस्पर्धा गरेका थिए । तर, त्यो गठबन्धनलाई कांग्रेस एक्लैले पराजित गरेको थियो । मेयर पदमा भीम पराजुलीले ६१ हजार २७० सदर मतमध्ये २३ हजार ३१ मत प्राप्त गरेका थिए । एमालेका विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरे । उनको पार्टीले तत्कालीन संघीय लोकतान्त्रि फोरमसँग तालमेल गरेको थियो ।

समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए । राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५२४ मत प्राप्त गरेका थिए । उपमेयरमा कांग्रेसकी इन्दिरा कार्की २० हजार १०६, माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५२४ मत प्राप्त गरेकी थिइन् । त्यो चुनावमा माओवादी र समाजवादी फोरमबीच तालमेल थियो । यो पटक थपिएका मतदातामध्ये आधाभन्दा धेरैमा गठबन्धनकै पकड रहेको जसपाका मोरङ अध्यक्ष राजकुमार यादव बताउँछन् ।

एमालेको इतिहास फर्काउने दाउ 
नेकपा (एमाले)बाट मेयर पदमा उठेका सागर थापा विद्यार्थी राजनीतिबाट उठेका नेता हुन् । एमालेले तलसम्मका मतदाताको मन रिझाउने गरी थापालाई उमेदवार बनाएपछि विगतको मत परिणामले एमाले सहज अवस्थामा देखिएको छैन । एमालेले विराटनगरमा विगतमा आफूले प्राप्त गरेको जितलाई पुनरावृत्ति गर्ने योजनासाथ चुनावी अभियानलाई तीव्रता दिएको छ ।
 
थापा भन्छन्, “विराटनगरमा एमालेले यसअघि पनि मेयर पदमा विजयी भई कुशल ढंगले काम गरेको थियो । हामी फेरि त्यही इतिहास दोहोर्याउने गरी निर्वाचनमा होमिएका छौं ।” थापाले आफू भुईंमान्छेको प्रतिनिधिको रुपमासमेत यो चुनावी प्रतिस्पर्धामा उत्रिएको दाबी गर्दै सामान्यदेखि सामान्य मतदाताको रोजाईमा आफू पर्ने दाबी गरे ।  
 
एमालेले महानगरको आफ्नो घोषणापत्र सार्वजनिक गर्दा विगतमा उसको नेतृत्वले शुरुआत गरेका कतिपय कार्यक्रमलाईसमेत अपनत्व लिएर अघि बढ्ने योजना बनेको एमाले मोरङका सचिव रुपेश खतिवडा बताउँछन् । “विराटनगर वहुभाषिक, वहुसांस्कृतिक र वहुधार्मिकको सहरको रुपमा समेत विकास भइसकेको छ, त्यसैले सबै पक्षको सम्बोधन अब एमालेले मात्र गर्न सक्छ,” खतिवडाले भने । 
 
स्वतन्त्र उमेदवारी दिएका उमेश यादवले विगतमा आफूले पार्टीमा गरेको योगदान अनि आफ्नो लोकप्रियता तथा जनप्रियता नै जित्ने आधार भएको बताए । उनले भने, “मेरो राजनीतिक पृष्ठभूमि अनि मैले नगरबासीलाई गरेको सेवा सम्झनेहरू धेरै हुनुहुन्छ । मेरो मत आउने अधार भनेको उहाँहरु नै हो ।”
 
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ७४४ जनाको उमेदवारी मध्ये २३ जनाको उमेदवारी फिर्ता भएको छ । विराटनगरमा कुल ९७ पदका लागि हुने निर्वाचनमा ७२१ जनाको उमेदवारी कायम भएको छ । प्रदेश–१ को राजधानी विराटनगरको प्रमुख पदका लागि १६ र उप–प्रमुखमा १५ जनाको उमेदवारी रुजु गरिएको कार्यालयले जनाएको छ ।
 
निर्वाचन कार्यालय मोरङका अनुसार विराटनगरमा यसपटक महिला मतदाता ६२ हजार ६१८ र पुरुष मतदाता ७० हजार ५२४ गरी कुल एक लाख ३३ हजार १४२  मतदाता रहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu