काठमाडौं । पूर्व नम्बर एक टेनिस खेलाडी एश्ले बार्टीले आफ्नो करियर गल्फमा केन्द्रित गर्न लागेको चर्चालाई बल पुर्याएकी छन् । टेनिसबाट अचानक सन्यासको घोषणा गरेकी बार्टीले गल्फको प्रदर्शनी खेलमा नाम दर्ता गरेकी छन् ।
२५ वर्षिया बार्टीले गत र्माचमा अचानक टेनिसबाट सन्यास लिएकी थिइन् । अस्ट्रेलियाकी बार्टीले जुनबाट हुने गल्फको प्रदर्शनी खेल खेल्न लागेकी हुन् । उक्त प्रतियोगितामा विश्वका २३ सेलिब्रेटीले प्रतिस्पर्धा गर्नेछन् । जसमा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला देखी ओलम्पिकमा २३ स्वर्ण पदक जित्न सफल पौडी खेलाडी माइकल फ्लेप्ससम्मले पनि प्रतिस्पर्धा गर्दैछन् ।
आइकन शृंखलाको पहिलो प्रतियोगिता जुनमा न्यु जर्सीको लिबर्टी नेशनलमा हुनेछ । बाँकी प्रतियोगिता भने युरोप, एसिया र अस्ट्रेलियामा गर्ने योजना छ ।
“आफूलाई परीक्षण गर्ने यो फरक अवसर हो,” बार्टीले सिड्नी मर्निङ हेराल्डसँगको कुराकानीमा भनेकी छन्, “यस शृंखलामा मेरो सहभागिताले विश्वका अझ धेरै महिलाहरूलाई गल्फमा लाग्न प्रेरित गर्ने आशा गरेको छु ।”
बार्टीले टेनिसमा तीन ग्रान्डस्लामको उपाधि जितेकी थिइन् । उनी अहिले गल्फमा एमेच्याोर खेलाडी हुन् । उनी अहिले चार ह्याण्डिक्याप खेलाडी रहेको बताइएको छ । बार्टीका बुबा पनि अस्ट्रेलियामा एमेच्योरबाट प्रो खेलाडी हुने तरखरमा छन् । बार्टीले क्विन्सल्यान्डको गल्फ क्लबमा खेलिरहेकी छिन् । गल्फको हल अफ फ्रेममा परेका क्यारी वेबले गत महिना बार्टी प्रतिभावान खेलाडी भएको र एक दिन एमेच्योरको उपाधि जित्ने बताएका थिए ।
बार्टीले यसअघि व्यावसायिक क्रिकेट पनि खेलिसकेकी थिइन् । उनले २०१५ मा क्विन्सल्यान्ड र ब्रिसबेन हिटबाट क्रिकेट खेलेकी थिइन् । बार्टीले बच्चाहरूको किताबको शृंखला पनि लेख्दैछिन् ।