देशको एउटा दूरदराज गाउँ, जहाँ राम जुगौँदेखि बिहान खाए बेलुका के खाने भन्ने अवस्थामा बस्दै आएको छ ।
त्यस गाउँमा जनताभन्दा धेरै प्रायः कार्यकर्ता छन् । तर, रामलाई कार्यकर्ता बनेर हिँड्न मनले मानिरहेको छैन ।
चुनावको समय थियो । त्यस्तो बेलामा चुनाव हुँदै थियो, जुन बेला देश आर्थिक संकटमा फसिरहेको थियो । नजिकैको अर्को देश टाट पल्टिएको पनि रामले समाचारबाट सुनिरहेको थियो ।
त्यत्तिकैमा उनको गाउँमा ठूलो आमसभा हुने भयो । एकजना ठूला नेता आउने भए । कार्यकर्ताहरूमा उल्लास थियो, नेताको स्वागत गर्न अनेक तामझामसहित रमितेहरू खटिएका थिए ।
राम पनि एउटा छेउबाट तामझाम हेर्दै थियो । देशको यस्तो अवस्थामा त्यति ठूला नेताले के भाषण गर्लान् भन्ने सुन्न राम आतुर थियो ।
ल्यान्डक्रुजर गाडीबाट ओर्लेर आइफोन १३ प्रोम्याक्स मोबाइलमा कुरा गर्दै आएका ती ठूला नेताले रोल्याक्स घडी लगाएको हात हल्लाउँदै भाषण गरे, ‘हामीले विलासी सामान प्रयोग गर्नु हुन्न । विलासी सामग्रीको आयात बन्द गर्नुपर्छ । नत्र, हाम्रो अवस्था पनि श्रीलंकाको जस्तै हुनेछ !’
नेताको भाषण सुनेर राम अवाक थियो ।