काठमाडौं । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा 'हिमाल बचाउने प्रयास : हाम्रो हिमाल, हाम्रो जिम्मेवारी' नारा सहित भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गरेको छ ।
अन्य थुप्रै सरोकारवाला निकायहरूको पनि सहभागिता रहेको यस अभियानमा दी कोका–कोला फाउन्डेसन प्रमुख कर्पोरेट साझेदार हो । यो अभियान थालनी भएको तेस्रो वर्ष भयो ।
यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियान हो । पर्वतारोहीहरूले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य हो । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी ८ हजार मिटर भन्दा अग्ला हिमालहरू सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोला सहित थुप्रै सरोकारवाला निकायहरू पनि सहभागी छन् ।
चैत २२ देखी जेष्ठ ५ सम्म सञ्चालनहुने यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरू उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरूलाई हस्तान्तरण गरिने छ । प्रतिकूल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ ।
कोका–कोलाले यो अभियानमा संलग्न सदस्यहरूलाई हाइड्रेसन र रिफ्रेसमेन्टका लागि पेय पदार्थहरू पनि उपलब्ध गराएको छ ।
कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले भने, “हिमालहरू सफा गर्ने र यसै कामको लागि समान विचारधारा भएका साझेदारहरूलाई एकताबद्ध गराउने नेपाली सेनाको प्रयास वास्तवमै सराहनीय छ । नेपालका गौरव यी हिमालहरूको पवित्रता जोगाइ राख्ने नेपाली सेनाको यो साहसिक काममा तेश्रो वर्ष पनि हामी जोडिन पाउँदा गौरवान्वितमहशुस गरेका छौँ । कोका–कोला फाउन्डेसन यस्ता सामुदायिक रि–साइक्लिङ परियोजनाहरूमा सहयोग गर्न सदैव प्रतिबद्ध छ ।”