काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी छन् । उनले बजारमा हल्ला फैलिएजस्तो अर्थतन्त्र धराशायी नबनेको बताएकी हुन् ।
शनिबार काठमाडौं विद्युतीय व्यवसायी संघको १२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको उल्लेख गरिन् ।
उनले भनिन्, "बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थ व्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन ।"
सरकारका गम्भीर तथ्यांक र गोप्य सूचना चुहाउनु अपराध रहेको भन्दै उनले त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गर्न जरुरी रहेको समेत बताइन् ।
खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्यवृद्धि तथा रुस र युक्रेनबीचको युद्धका केही बाछिटाहरू नेपालको अर्थतन्त्रमा देखिएको तर यसबाट आत्तिन आवश्यक नरहेको उनको भनाइ थियो ।
अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने बताइन् ।
काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष सरोजकुमार रेग्मीले बैंक तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको भन्दै ब्याजदर सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गरे । उनले नेपालमै विद्युतीय सामग्रीको गुणस्तर बढाउनुपर्नेमा पनि जोड दिए ।