site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
जोखिममा देशको आर्थिक गति ?

अर्थशास्त्रीहरु भन्छन् – देशको आर्थिक स्थिति दुरवस्थातिर धकेलिँदै छ । अर्थवित्तसम्बन्धी लेख, विचार पढ्यो स्थिति निराशाजनक बुझिन्छ । विचार सुन्यो शुभसंकेत सुनिदैन । तथ्यांक दिँदै सबै भन्दैछन् – आर्थिक अवस्था चिन्ताजनक छ । 

हामीजस्ता जो अर्थका विद्यार्थी होइनौ र अध्येता पनि बनेनौ तर देशको समसामयिक विषयमा सतही भनियोस् कि संक्षिप्त जानकारी राख्न प्रयत्न गर्नेहरुसमेत विज्ञका मत सुन्दा, पढ्दा देश आर्थिक जोखिमको डिलसम्मै पुगेको सहजै बुझ्न थालेका छौँ । 

अर्थवेत्ताले दिने तथ्यांक, राष्ट्र बैंकले सार्वजनिक गर्ने मुलुकी आर्थिक चित्र र उपभोग्य सामग्रीको मूल्यले थिचिएका उपभोक्ताहरु पनि आर्थिक अवस्था खस्किँदै गएको अनुभूत गर्दैछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तो पृष्ठभूमिमा अर्थमन्त्रालय सम्बद्ध र सरकारी पक्षले पनि आर्थिक अवस्था सुदृढ रहेको दाबा गर्न सकिरहेको छैन । अर्थात्, सबै मिलाएर स्थिति खराबतिर जाँदै छ । 

वैदेशिक विनिमय संचिति ओरालो लागेको छ । करिब एक वर्षअघि वर्ष दिन धान्नसक्ने संचित विदेशी मुद्राले अहिलेसम्म आइपुग्दा आधा वर्षलाई पनि धान्न गारो छ । आयातमा निर्भर बन्दै गएको हाम्रो अर्थतन्त्रमा अहिलेको आवस्थाले क्रय क्षमता घट्दै गएको स्पष्ट सन्देश दिएको छ । 

Royal Enfield Island Ad

यसअघि केही विज्ञ भन्थे – आयात चिन्ताको विषय होइन, यसले राजस्व (कर) वृद्धि हुन्छ, सरकारी ढुकुटी बढ्छ । तर, त्यसरी संकलित राजस्व आयातलाई नै अपुग भए त्यसको के अर्थ रह्यो र ? अनुत्पादक विलासी सामग्रीमा राजस्वको ठूलो हिस्सा लगानी हुनुले उत्पादन बढाउने त होइन । 

उत्पादनको कमी निर्यातको पनि कमी हो । निर्यातले वैदेशिक व्यापार घाटालाई पूर्ति गर्ने हैसियत लिएन भने आयातमा एकोहोरो लगानीले अर्थ व्यवस्थालाई खोक्रो बनाउने रहेछ । नेपालको आर्थिक दशा दिशा यतैतिर गएको बुभिन्छ, सुनिन्छ । 

बुझेको कुरा संक्षेपमा भन्दा शोधनान्तर अवस्था पनि ओरालो लाग्ने नै भयो जब विनिमय संचिति नै कमजोर छ भने । राजस्व संकलनको लक्ष्य पनि पूरा भएको छैन । त्यो लक्ष्यमा पनि घाटा हुने देखिँदै छ । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा विकास, निर्माण खर्च अहिलेसम्म बीस प्रतिशत हाराहारी पनि पुग्नसकेको छैन । 

तीन खर्ब हाराहारीको विकास रकममा बीस प्रतिशत पनि खर्च हुन नसक्नुको कारण राज्य ढुकुटीमा पैसा नभएर हो कि खर्च गर्ने राज्य संयन्त्रकै क्षमतामा कमजोरी हो ? पारदर्शी छैन । क्षमतामै कमी हो भने वर्षौंको यो रोगको निदान र उपचार किन गरिएन ? 

राजस्वले चालु खर्च धान्न पनि हम्मे छ । विकास खर्च ऋण अनुदानमा ‘पर’निर्भर भइसक्यो । आर्थिक तरलताको कमी, बैंकिङ कारोबार शिथिल । अर्थतन्त्र जोखिममा पुगेको लक्षण हुन् यी । यही पृष्ठभूमिमा डेढ महिनापछि आव ०७९–८० को बजेट प्रस्तुत गरिनेछ । करिब तीन महिनापछि नयाँ आर्थिक वर्ष लागु हुनेछ । 

अर्थतन्त्र धानेको पर्यटन व्यवसायमा आएको ह्रास र घट्दै गएको विप्रेषण रकम नै मुलुकको आर्थिक अवस्था बिग्रनुमा मुख्य आन्तरिक कारण मानिएको छ । जब कि पर्यटन र विप्रेषणलाई आर्थिक मेरुदण्डजस्तै मानिएको हो ।

यस घटनाले हामीले भर गरेको आर्थिक स्रोत कति अस्थिर, अनिश्चित र तात्कालिक रहेछन् भन्ने बुझायो । साथै भरपर्दो आर्थिक स्रोतको पहिचानसमेत जोहो गर्न नसकेको भ्वाङ पनि खोलिदियो । नेपालको राज्य संयन्त्र, सरकारी आर्थिक पक्ष र अर्थतन्त्र वेत्ताहरु कति अदूरदर्शी रहेछन् भन्ने पनि प्रमाणित भयो ।      

निश्चय पनि आन्तरिक कारणले मात्र नेपालले अहिलेको अवस्था बेहोर्नु परेको होइन, बाह्य कारण पनि थुप्रै छन् । छ वर्षअघि भुँइचालोले थलिएको क्षमतालाई पुनःनिर्माण र पुनरुद्धार गर्न नभ्याउँदै दुई वर्षसम्म व्यापक भएर अहिलेसम्म कोरोना देसानले चारैतिर शिथिलता ल्याइदियो । 

विश्वव्यापी महामारी कोरोनाले नेपाललाई पनि बेसरी थला पार्यो । गृहबन्दी जनजीवन र आर्थिक गतिविधि समेतलाई ‘लकडाउन’मा पारेको कोराना निरोधी  भ्यक्सिनेसनलाई अर्बौ लगानी गर्नुपर्यो । फलतः वैदेशिक रोजगारी शिथिलमात्रै होइन कि अवरुद्ध नै गर्यो, पर्यटक, पर्यटन उद्यम ठप्प भयो । बाँकी भरपर्दो अर्को आर्थिक स्रोत थिएन । 

संसारभर फैलिएको कोरोनाले विश्वव्यापी आर्थिक गतिविधिलाई नै कमजोर पारिदियो । नेपालले अपेक्षा गरेको वैदेशिक अनुदान, सहुलियत ऋण र लगानी नै प्राप्त हुन सकेन । घायल आन्तरिक निजी क्षेत्रको लगानी क्षमता पनि खुम्चियो । यी सबै ‘सिक्वेंस’ को परिणाम क्रमशः आइरहे छ ।  

हामीजस्तै पर्यटन र विप्रेषण मुख्य आर्थिक स्रोत भएको दक्षिण एसियाली मुलुक श्रीलंकामा जे भइरहेछ नेपाल पनि त्यही बाटोतिर धकेलिँदै गरेको चेतावनी आइरहेछ । यी दुईबीच परिवेश फरक होला तर विश्वव्यापी आर्थिक सञ्जालमा बेरिएको वा अन्योन्याश्रित आर्थिक परनिर्भरता कायम भएको अहिलेको दुनियाँ एक अर्काको भरमा चलेको छ । महामारी मानव निर्मित होइन र त्यसको सीमा पनि छैन । त्यसको दुष्प्रभाव चारैतिर फैलिने नै भयो । भयो पनि त्यही । 

फरक आफ्नो सीमा, स्रोत र क्षमता बुझेर समयमै नेपाली राज्य संयन्त्र वा सरकारी पक्ष सजग वा सक्रिय भएन । जसको परिणाम थेगी नसक्नु हुनसक्छ । अहिले पनि सरकारी पक्षले अर्थतन्त्र बचाउने कुनै कारगर उपाय अवलम्बन गरेको सुनिएको छैन । तालुकदार अर्थ मन्त्रालय र मन्त्री निरुद्देश्य, निरुपाय साबित भएका छन् । 

विलासी उपभोग्य सामग्रीमा रोक लगाइएको सुनिदैछ, त्यो  एउटा उपाय हुनसक्ला । अर्को सम्बन्धित निकायहरुबाट दुई दिन (शनिवार, आइतवार) बिदा र सवारी साधनमा जोरबिजोर प्रक्रिया लागु गर्न सुझाइएको छ । अप्रिय निर्णय हो तर केही महिनाको लागि नागरिकलाई विश्वासमा लिएर ती काम चाँडै लागु गर्दा हुने देखिन्छ । 

यस्तो निर्णयले आयातमा केही कमी आउने र विदेशी मुद्रा संचितिमा भार पनि घट्न जाने होला । त्यसअघि नागरिकलाई आर्थिक अवस्थाको पारदर्शी जानकारी र सरकारी पक्षबाट सहयोगको लागि अनुरोध गरिनु जायज देखिन्छ । 

अहिलेको आर्थिक संकेतले दरिलो प्रकृतिको आर्थिक स्रोत पहिचान र तिनको उत्पादन, उत्पादकत्व बढाउने नीति कार्यान्वयन गर्न दीक्षित गरेको हुनुपर्ने । जलस्रोत, जडिबुटी वा जंगल र कृषि नेपालको लागि दरिलो स्रोत बन्न सक्छन् । तिनमा लगानी र ध्यान केन्द्रित गर्नुले समस्या समाधान उन्मुख भइन्छ कि ? भलै ‘जब पर्यो राती तब ... ताती’ भन्ने उखानजस्तै किन नहोस् । अन्ततः तात्न त ताती नि ?

अहिलेको आर्थिक दुरवस्थाले प्रदेशको औचित्यमा प्रश्न गर्नेले थप उधिन्ने अवसर पाएका छन् । जो स्वाभाविक पनि हो । संघ, प्रदेश, स्थानीय तह (जिसस, पालिका र वडाहरु) । यी सबै तहको उपती (स्रोत)  जनतासँग कर उठाउनु सिबाय केही देखिँदैन । महँगीको भारले त थिचेकै थियो थप करको बोझ धानी नसक्नु भएको छ । जनता गरिबीतिर धकेलिँदै छन् ।

पाँच वर्षको अनुभवले यी सबै तहको समान औचित्य साबित गरेको ठानिएको छैन । त्यसमाथि प्रदेश राज्यको औचित्य सकिएकै जस्तो छ र जिसस संरचना आवश्यक भए प्रशासनिक निकायमा सीमित राख्नुपर्छ भनिदैछ । केही राजनीतिक दल र व्यक्तिलाई भाग दिन र स्रोत दोहन गर्न  बनाइएजस्ता प्रदेशहरु गठबन्धन सरकार बनेपछि त झन् बोझिला बनाइएका छन् । 

भागबण्डा मिलाउन झन्डै दोब्बर संख्यामा मन्त्रालय थपिएका छन् । काम न दाम मन्त्री थपिएसँगै कर्मचारी, सुरक्षाकर्मी, साधनस्रोत आदिमा खर्च चौगुना बढोत्तरी भएको छ । यो अवस्थाले प्रदेशको उपादेयता सिद्ध गर्दैन । यी सबैको वार्षिक खर्च जोडौँ त ? तथ्यांकमा भनिदैछ – बेरुजु र अनियमितताले भुइँ छोडिसक्यो । मति सुध्रिए न गति सुध्रिने हो । 

एकातिर आर्थिक दुरवस्था अर्कोतिर धानी नसक्नु राज्य यन्त्रहरुको संरचनाले मुलुक थप अप्ठ्यारोमा पुगेको छ । स्थानीय तहको चुनाव नजिक छौँ, खर्च हुने नै भयो । समय घर्किँदै छ, अब पनि सुधार सुरु नगरे मरेर जाने पुस्ता त जाला भोलिको पुस्ता पनि बाच्न पाउने, सक्नेछैन । 

प्रदेश र जिससको संरचनामा पुनर्विचार आवश्यक देखिएको छ । प्रदेशविरुद्ध होइन तर प्रदेशहरु कि त आत्मनिर्भर हुन सक्नुपर्यो वा खारेज हुन मञ्जुरी दिन पर्यो । देश, जनताको बोझ हुनु भएन । ‘घान छैन भने ओखलको के काम’?      
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro