काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १/२ दिनको समस्यालाई पनि उद्योगी व्यवसायीले वर्षौंको समस्या जस्तो गरी राजनीति गरेको बताएका छन् ।
ऊर्जा मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा उनले तत्कालका लागि भएको विद्युत आपूर्तिको समस्यालाई केही औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले १२ घण्टासम्म लोडसेडिङ भयो भनेर राजनीतिक कुरा गरेको बताए ।
“तत्कालका लागि समस्या आएको थियो । त्यो पनि हामीले १÷ २ दिन भित्रै समाधान गरिसकेका थियौँ । तर वर्षौंको समस्या जस्तो गरी विज्ञप्ति निकाले । यसमा उद्योगी व्यवसायीले राजनीतिक कुरा गरे,” उनले भने । उनले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको पनि दाबी गरे ।
उनले देशमा विद्युतको माग बढाउन लागि परेको भन्दै ६०० मेगावाट विद्युत लोड उद्योगका लागि स्वीकृत गरिसकेको जानकारी दिए ।