काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ का विजेता भरतमणि पौडेलले आफूलाई चलचित्रमा अभिनय गर्ने रहर रहेको बताएका छन् । यसका उनी छिट्टै नै अभिनय सिक्ने तयारीमा छन् ।
“मलाई चलचित्र खेल्ने रहर छ र खेल्छु पनि । तर अभिनय सिकेर मात्रै । त्यसैले अभिनय सिक्न थिएटर जाने तयारीमा छु,” कुन थिएटरमा सिक्दा राम्रो हुन्छ भनेर बुझिररहेको छु,” उनले भने । कमेडी च्याम्पियन सिजन १ का प्रतिस्पर्धी सुमन कोइराला (दले दाइ) भने अहिले गुरुकुलमा अभिनय सिकिरहेका छन् ।
भतरमणि च्याम्पियन भएपछि चलचित्र र म्युजिक भिडियोबाट थुप्रै अफर आएको बताउँछन् । “चलचित्रबाट अफरहरू आए । जुन अपेक्षा राखेर मलाई अफर गरियो, त्यो अफरका लागि आफू योग्य छु भन्ने मलाइ लागेन,” उनी भन्छन्, “त्यसैले मैले अहिलेलाई अफर स्वीकार गर्न सक्तिन भनेँ । अभिनय गर्न मैले कहाँ जानेको छु र ? स्टेजमा उभिएर हँसाएको मात्रै हो । त्यो अभिनय होइन ।”
भरतमणिलाई भिलेन भएर चलचित्रको पर्दामा देखिने रहर छ । त्यही भएर उनी सकेसम्म चाँडै थिएटर गएर अभिनय सिक्ने तयारीमा छन् ।