काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सभागी हुनुपर्ने बताएका छन् । स्थानीय निर्वाचन परिचालन समितिको बैठकमा बोल्दै उनले चुनावी गठबन्धन हुने भएपछि प्रदेश सरकारमा कांग्रेस सहभागी हुनुपर्नेमा जोड दिए ।
उनले आसन्न स्थानीय निर्वाचनका लागि बनेको गठबन्धन कार्यान्वयनमा गराउने भए सुदूरपश्चिम सरकारमा पार्टी सहभागी हुनुपर्ने बताए ।
“कांग्रेसको नेतृत्वमा ६ वटा प्रदेशमा गठबन्धनको नेतृत्वमा सरकार बन्ने तर सुदूरपश्चिम सरकारमा गठबन्धन सरकार किन नहुने,” बैठकमा महरको प्रश्न थियो, “पटकपटक सुदूरपश्चिमका कांग्रेस सांसदले केन्द्रीय नेतृत्वलाई अवगत गराउदा समेत कांग्रेसलाई किन सरकारमा सहभागी गराइएन ? स्थानीय निर्वाचनका लागि बन्ने गठबन्धनका लागि प्रदेश सरकारमा कांग्रेसलाई अनिवार्य सहभागी गराउनुपर्छ ।”
महरले गठबन्धनको संस्कृति अगाडि बढाउन पनि सुदूरपश्चिममा गठबन्धन सरकार निर्माण गर्नुपर्ने अनिवार्य सर्त रहेको बताए ।