विराटनगर । प्रदेश–१ का सांसदले लेटाङ घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् । प्रदेशसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले लेटाङ घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग गरेका हुन् ।
कांग्रेस सांसद सन्जाकुमारी दनुवारले लेटाङको घटनामा १४ वर्षीया बालिका पीडित भएको र एक सुरक्षाकर्मीको अनाहकमा हत्या भएको भन्दै घटनामा संलग्नलाई छानबिन गरी कार्वाही गर्न माग गरिन् । उनले भनिन्, “नेपालमा बलात्कारका घटना बढेका छन् । प्रदेश–१ मा पनि पछिल्लो समय बलात्कारका घटना पनि बढ्दै गएका छन् ।”
सांसद राधा थापा प्रदेश सांसदहरूले प्रदेश सरकारमा पाँच वर्षमा काम गर्ने मौका पाएको तर जनचाहनाअनुसार काम हुन नसेको भन्दै टिप्पणी गरिन् । “दुर्ई वर्ष कोरोना, बाढी पहिरो र केन्द्रमा कोरोनाले बित्यो । एक वर्षमा सबै विकास गर्नुपर्ने अवस्था आएको छ,” थापाले भनिन्, “युक्रेन र रसियाको युद्धका कारण पछिल्लो समय महंगी बढेको छ ।”