काठमाडौं । सर्जक प्रकाश सपुतले कसैको दबाबमा पछिल्लो गीत पिरबाट दृश्य हटाएको नभई समाजको भावना बुझेर हटाएको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सपुतले पिर गीतमा रहेको देहव्यापारसम्बन्धी दृश्य कसैको दबाबमा नभई समाजको भावनालाई लिएर हटाएको बताएका हुन् ।
उनले उक्त दृश्यले समाजमा र त्यस्तै पेसामा आधारित मानिसहरूलाई झनै पिर परेको भन्दै गीतबाट केही दृश्य हटाउनुपरेको बताए ।
सपुतले जनयुद्ध लडेर समाज विकास नभएकाले निराश बनेका योद्धाहरू उक्त दृश्यबाट झनै चिन्तित बनेको भन्दै गीतमा भएको केही दृश्य हटाएर पुनः सार्वजनिक गरेको बताए ।
"त्यहाँ छोडिएका प्रश्नहरू डिलिट गरेको भए, यदि त्यहाँनेर लोकेन्द्र सरको भूमिकालाई हटाएको भए सायद म कसैको विचारबाट डराएँ, शक्तिबाट डराएँ, कुनै निश्चित समूहबाट डराएर हटायो भन्ने हुन्थ्यो, यसलाई भावनात्मक हिसाबले सोचिदिनु हुन अनुरोध गर्दछु । मसँग त्यसका लागि थुप्रै तर्कहरू छन्, त्यस्ता पात्र सिर्जना गर्न पाउने कि नपाउने, भन्ने तर हामी यतिबेला नेपाली समाजमा छौँ, सम्बन्ध छ । कसैको दुःखसँग जोड्ने मन छ । मन र भावनाका हिसावले त्यो पात्रको चित्त दुख्यो भन्ने हिसावले त्यो पार्ट हटाएको हो," उनले भने ।