विराटनगर । एकजना शिक्षकले सोही विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा भएको विरोध प्रदर्शनपछि आइतबार बेलुका मोरङको लेटाङक्षेत्र तनावग्रस्त बन्यो ।
प्रहरी र विद्यार्थी तथा अभिभावकबीच भएको दोहोरो झडपमा एकजना प्रहरी जवानको मृत्यु भएको थियो । स्थानीयले घरेलु हतियार, ढुंगा र सीसा प्रहार गरेर उनको प्राण लिएको प्रहरीले जनाएको छ ।
अहिले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । स्थानीय त्रसित छन्, बाहिर निस्कन डराएका छन् । बजार सुनसान छ । प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
स्थानीय बलबहादुर श्रेष्ठ भन्छन्, “हामी निकै त्रसित अवस्थामा छौँ । महिला प्रहरीको हत्या भएको विषयमा केही थाहा भएन । हत्या भएको रहेछ भन्ने हामीले बिहानमात्रै जानकारी पायौँ । केटाहरुले प्रहरीलाई खेदाउँदै ल्याएका थिए । हामीहरु के आयो भनेर हेर्दै थियौँ फायरिङ हुन थाल्यो । त्यसपछि भित्र पस्यौँ । यहाँ बसिरहेका थियौँ । ढुंगा हानाहान भइरहेको थियो । राति भएकाले हामी बाहिर निस्केनौँ ।”
अर्का स्थानीय गणेश घिमिरेका अनुसार १०–१५ जनाको संख्यामा रहेका प्रहरीलाई स्थानीयले लखेटेका थिए ।
“हामीले नजिकबाट देखेनौँ । तर भीड ठूलो थियो । पहिले दुई तीनवटा गाडी गयो । १०–१५ जना प्रहरी देखेका थियौँ । भीडले ढुंगा हान्दै आएको थियो । हानाहान भएपछि गोली चलेको आवाज पनि सुनेका हौँ । पछि प्रहरीलाई उठाएर पनि लगिसकेको रहेछ । बिहानमात्रै एकजना प्रहरीको मृत्यु भएको भन्ने बारेमा जानकारी पायौँ ।”
शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले विद्यालय घेराऊ गरेका थिए । आइतबार दिउँसो १ बजेको समयमा स्थानीयले शिक्षकलाई नै कुटपिट गर्ने अवस्था आएपछि थप मद्दतका लागि गणको टोली लेटाङ पुगेको थियो ।
त्यसपछि भएको झडपमा प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
अर्की स्थानीय पदम माया राईले भनिन्, “भित्र डरले जानै सकिनँ । घरमै जान्छु त्यहाँबाट हेर्छु म त कामेको काम्यै भएँ । बेलुका पनि भात पकाउन पनि जाँगर चलेन । जिन्दगीमा नभोगेको देख्यौँ ।”