काठमाडौं । कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन आगामी असार ५ र ६ गते हुने भएको छ ।
संघको मंगलबार बसेको बैठकले ७७ जिल्लाकै वडाहरूमा अधिवेशन र पालिका अधिवेशन चैत मसान्तसम्म गर्ने निर्णय गरेको छ । यस्तै जेठ १४ भित्र जिल्ला अधिवेशन, जेठ २१ भित्र प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । असार ५ र ६ गते काठमाडौंमा राष्ट्रिय अधिवेशन हुने तय भएको छ ।
बैठकपछि संघका अध्यक्ष ओमबहादुर घर्ति मगरले जारी गरेको विज्ञप्तीमा प्रदेश अधिवेशनका लागि खटिने प्रतिनिधिको नाम पनि उल्लेख गरिएको छ । प्रदेश १ मा श्रीप्रसाद भलामी मगर, मधेस प्रदेशमा इच्छु राना मगर लाई खटाइएको छ ।
यस्तै वाग्मती प्रदेशमा कुसुमदेवि थापा मगर, गण्डकी प्रदेशमा दिनेश थापा मगर,लुम्बिनी प्रदेशमा कृष्ण थापा मगर, कर्णाली प्रदेशमा उमा थापा मगर र सुदूरपश्चिम प्रदेशमा जितराज राना मगरलाई खटाइएको छ ।
यस्तै महाधिवेशन मुल व्यवस्थापन समिति सभापति ओमबहादुर घर्तीमगरको संयोजकत्वमा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू, सातै प्रदेशका सभापतिहरू, केन्द्रीय विभागका सदस्यहरू र काठमाडौ उपत्यकाका ३ जिल्लाका सभापतिहरू रहेको १५१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरेको छ ।