काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शिर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिबार बिहान बालुवाटारमा भएको भेटमा लोसपाको माग मुद्दा सम्बोधन गर्न सरकार र पार्टीबीच छुट्टै समिति बनाएर निरुपण प्रकृया अघि बढाउने सहमति भएको छ ।
भेटमा लोसपा अध्यक्ष महन्थ ठाकुरले नागरिकता विधेयक अघि बढाउनुपर्ने बताएका थिए । “धेरै नागरिकता पाउनबाट बञ्चित भए । जनताका छोराछोरीको नागरिकता छैन । भविष्य बनाउन पाएकन छैनन् । यो संसद्बाट चाडोँ अघि बढाउनु पर्यो,” महन्थले प्रधानमन्त्री देउवासँग भने । जवाफमा प्रधानमन्त्री देउवाले आफू विधेयक अघि बढाउने पक्षमा रहेको बताएका थिए ।
“बिधेयक अघि नबढाउने नै हाे । तर, हाउस त चल्न पर्यो,” देउवाको भनाइ उधृत गर्दै भेटमा सहभागी एक नेताले भने ।
यस्तै छलफलमा अध्यक्ष ठाकुरले पार्टीको माग मुद्धा कहिले सम्बोधन हुन्छ भन्दै प्रश्न उठाएका थिए ।
“मधेस आन्दोलका विषयलाई लिएर हामीले उठाएको मुद्धा अघिल्लो सरकारले अघि बढायो । त्यसलाइ निचोडमा पुर्याउने भनेपछि तपाईंको सरकारलाई हामीले समर्थन गरेका हौँ । एमसीसी पास गराउन सहयोग गरेवापत हामीलाई केही पर्दैन, त्यो राष्ट्र विकासको कुरा हो । तर, मधेस आन्दोलनको मुद्धा त अघि बढाइदिनुपर्छ,” महन्थले प्रम देउवासँग भने ।
छलफलमा लोसपाले उठाएको माग सम्बोधन गर्न सरकार र पार्टी प्रतिनिधि छुट्टै बसेर प्रकृया अघि बढाउने सहमति भएको छ ।
“मधेश थरूहट आन्दोलनको केही तारेखमा भएको मुद्धा फिर्ता लिन छुट्टै समिति बनाउने सहमति भएको छ । सरकारका तर्फबाट कानुन मन्त्री तथा पार्टीबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्र शुक्ला बसेर टुंगोमा पुर्याउने र अरू विषयमा पनि छलफल गर्ने कुरा भयो,” सहभागी एक नेताले भने ।
भेटबारे लोसपा नेता डा. सुरेन्द्र झाले पनि स्पष्ट पारे । “भेट भएको हो । हाम्रा माग मुद्धाका बारेमा कुरा गरेका हौं । बैठक सकारात्मक भएको छ,” उनले बाह्रखरीसँग भने ।