काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फुटेका कम्युनिस्टहरू हरियो रङसँग डराएको बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चुनाव चिह्न रुखको हरियो रङका आधारमा मतपत्रको रङ हरियो बनाउन लागिएको भन्दै आपत्ति जनाएको भोलिपल्ट महामन्त्री शर्माले यस्तो जवाफ फर्काएका हुन् ।
“पहिला उखान थियो, भदौमा आँखा फुटेको कुन्नि केले सधैँ हरियो देख्छ । अहिले यो उखान परिवर्तन भएको छ,” उनले भने, “फुटेका कम्युनिस्ट हरियो रङदेखि डराउँछन् ।”
ओली आफ्नै फुटबाट आत्तिएको भन्दै उनले कांग्रेसको सम्भावित जितबाट तर्सिएको बताए । “कांग्रेस अस्वस्थ प्रतिस्पर्धाको पक्षमा छैन । हामीले कांग्रेस जिताऔँ होइन, हरेकलाई निर्वाचनको प्रक्रियामा सहभागी हुन आह्वान गरेका छौं,” महामन्त्री शर्माले भने, “स्वस्थ प्रतिस्पर्धामा आउने जनमतलाई हामी सहश्र स्वीकार गर्छौँ । कांग्रेसको सम्भावित जितबाटै नआत्तिन हामी आह्वान पनि गर्छौँ ।”