काठमाडौं । गायिका समीक्षा अधिकारी र एलिना चौहान समकालीन गायिका हुन् । करिब एकै समयमा गायनमा प्रवेश गरेर उत्तिकै लोकप्रियता कमाएका यी दुई मिल्ने साथी पनि हुन् । समीक्षाले अहिले न्यायका लागि कानुनी बाटो अबलम्बन गर्दै नायक पल शाहविरुद्ध किटानी जाहेरी दिएकी छन् । आफ्नै साथीबारे यति ठूलो घटना हुँदा पनि आफूलाई यसबारे केही जानकारी नभएको एलिनाले बताएकी छन् ।
मुद्दा अदालतमा पुगिसकेको र आफूलाई पीडित भनिएकी समीक्षाले यसबारे जानकारी नदिएका कारण को गलत र को सही आफू भन्न सक्ने अवस्थामा नरहेको पनि उनले स्पष्ट पारेकी छन् । त्यसैले उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस लेख्दै दुबैलाई शुभकामना दिँदै निदोर्ष निर्दोषी नै प्रमाणित हुने र पीडकले सजाय पाउनेमा आफू ढुक्क रहेको बताएकी छन् ।
उनले लेखेको स्टेटस जस्ताको तस्तै :
बहिनी समीक्षालाई
प्रिय समीक्षा बहिनी मलाई तिम्रो धेरै माया लाग्छ । किनकी हामीले झण्डै एउटै समयमा यो क्षेत्रमा पाइला अघि बढाएका थियौं । अझ साहानुभूती त तिमीले भनेझैं तिमी नाबालिग भएर पाएकी छौ । तिमीसँगको सहकार्यमा गरेका धेरै कामहरु मेरा सफल बनेका छन् । तिमी र मबीच धेरै नजिकको सम्बन्ध छ । तर, यो सम्बन्ध रहिरहँदा तिमीले मलाई आज बाहिर सुनिरहेका कुराहरु कहिल्यौ सुनाएकी थिएनौं । हुन त आज तिमीले लगाएको पल दाजुप्रतिको आरोप के हो ? त्यसको वास्तविकता केलाउने अदालतको काम हो । यदि तिमी सत्य छौ भने तिमीले भोग्नु परेको दुःखको चिन्ता नलिनू । बाहिरको अफवाह झुठो भई तिमीले भनेझैं सबै कुरा सबुत प्रमाणका आधारमा प्रमाणीत भए पक्कै पनि तिमीले न्याय पाउने छौ । अहिले तिमी गलत छौ या सही कसैले भन्नसक्ने अधिकार कानुनले दिएको छैन । बाहिर आएको अडियो रेकर्ड र केही अन्तर्वार्ता कति तिम्रो पक्षमा छन् अनि कति तिम्रो विपक्षामा पनि उभिएका छन् । तिमी नाबालिग हौ भनेर कहिँ प्रमाणित भएको अवस्था देखेको छैन । भन्न त तिमीले सबैलाई आफ्नो उमेर भनेकी थियौ । तर, कानुनले प्रमाणमा विश्वास राख्छ । र, त्यो तिमीले कानुनलाई बुझाएकी छौ होला । नाबालिग प्रमाणीत भएको खण्डमा कानुनले त्यसैअनुरूप तिमीलाई न्याय दिनेछ । तिमी अन्यायमा परेकी हौ भने सबैले तिमीलाई मद्धत गर्नेछन् । म पनि तिम्रो साथमा छु । अब सत्यतामा बसेर आफ्नो अडान राख्नु ।
दादा पललाई
आदरणीय दाई, पल शाहप्रति मेरो उत्तिकै सम्मान छ । तपाईंमा लागेको आजको आरोपले तपाईंप्रतिको सम्मानमा थोरै पनि विचलित बनाएको छैन । एउटा सामान्य भिडियो एडिटर भएर कलाकारिाता जगतमा प्रवेश गरेर आज उभिनु भएको स्थानमा हजुर सजिलै पुग्नुभएको पक्कै पनि छैन । विगतका दिनमा हजुरले गर्नु भएको समाज सेवा सबैका लागि प्रेरणाको स्रोत बनेको थियो । हजुरसँग भएको सहकार्यमा म कहिल्यो निरास बन्नु परेको थिएन । हजुरको कामप्रतिको लगनशीलता र आत्मविश्वासले गीतसंगीत क्षेत्रलाई अझ माथि उठाएको पक्कै हो । आज जुन आरोपले तपाईं प्रहरी हिरासतमा बस्नु परेको छ । त्यो झुठो साबित भयो भने सबैभन्दा पहिला तपाईंको खुट्टा तान्नेहरुको अनुहार हेर्नुहोला । र, जीवनमा धेरै महंगो पाठ सिकेँ भनेर महसुस गर्नुहोला । प्रगति यस्तो शब्द रहेछ जसले आफ्नो विपक्षमा इर्ष्या बोलाउँदोरहेछ । हो त्यसको आहारा भन्नु पर्यो तपाईं आज । बाहिर आएको अडियोहरूमा के कतिको सत्यता छ त्यसलाई सुनेर अहिले नै निर्णयमा पुग्न सक्ने अवस्था र बौद्धिकता मसँग छैन । हजुर स्वयं प्रहरीको हिरासतमा गई अनुसन्धानलाई सगाउनु नै ठूलो कुरा हो । लागेको आरोप झुठो ठहरिए तपाईसँगै म पनि खुसीको पात्र बन्ने छु ।
शुभचिन्तकलाई
आज गरेको कर्मले भोलिको आफ्नो भविष्य निर्धारण गर्छ । हिजो पल दाजुलाई हाईहाई भनेका शुभचिन्तक आज कोही समीक्षा बहिनीलाई सही मान्दै हुनुहुन्छ होल त कति समीक्षाका शुभचिन्तक उनी गलत हो भनेर बस्नु भएको होला । तपाईंहरु त हाम्र लागि जिउँदो भगवान हो । तपाईंहरूबिना हामी अधुरा छाैँ । आफ्नो मान्छेलाई आरोप लाग्दा र आफ्नो मान्छेलाई पीडा परेको झट्ट सुन्दा अर्को पक्षालाई नराम्रो लाग्नु स्वाभाविक हो । हो त्यसैको उदाहरणस्वरूप आज पक्षविपक्ष भई आ–आफ्नो मान्छेलाई साथ दिइरहनु भएको छ । तपाईं दर्शकहरु कहिल्यै गलत हुनुहुन्न र हुन सक्नु पनि हुन्न । तपाईंहरुलाई गलत देख्ने त हामी गलत हौं । तपाईंहरुसँग जन्मिदै रगतको नाता लिएर आएको होइनौं कि हरेक गलत कुरालाई तपाईंहरु सही मानिदिनु हुन्छ । तपाईं दर्शकहरुको नजरमा जे गलत छ, त्यो गलतनै हुनेछ ।
गीत संगीतमा बहिनी समीक्षा र दाजु पलले गर्नु भएको योगदान अविस्मरणीय छ । न यो क्षेत्रले यति सानो उमेरमा यति मीठो गाउने अर्को समीक्षा पाउला न नै यति लगनशील नायक पाउला । यी दुवै पात्र यो क्षेत्रका लागि उत्तिनै आवस्यक छ र रहनेछ पनि । दुवैलाई यो क्षेत्रबाट अलग राखेर हेर्ने मन मलाई छैन । दुवैको सहकार्यमा बनेको म्युजिक भिडियोले तारिफमा तारिफ पाएको थियो । कसैले यो दिन आउँछ, सोचेको थिएन होला ।
कानुनका पाना पल्टाउँदै जाँदा को कति दोषी छ त्यो त भोलि अदालतले आफ्नो फौसलामा समावेश गर्ला र त्यही बमोजिमको सजाय भोग्नै पर्छ । कानुनभन्दा माथि कोही छैन त्यसैले कानुनको फौसला नमानेर कोही विजेता हुने छैन । अब लडाईं समीक्षा र पलको होइन न नै समीक्षा र पलले लड्नु पर्नेछ । अब कानुनमा रहेर कानुनका विद्वानहरुले लडाईं लड्नेछन् । हामी त बस सत्यताको पर्खाइमा छौं । थोरै ढिलो होला तर सत्य लुक्नेछैन । दुवैलाई शुभकामना ।