काठमाडौं । ‘मिस ग्ल्याम वर्ल्ड २०२२’ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ । फेसन इराले बुधबार पत्रकार सम्मेलन गरेर नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षीया मोडल इरिना श्रेष्ठले प्रतिष्पर्धा गर्ने जानकारी दिएको हो ।
विश्वका सय भन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवं सक्षम भएको आयोजकको दाबी छ ।
हाल स्नातक तहमा अध्ययनरत तथा विगत केही वर्षदेखि मोडलिङ गर्दै आएकी श्रेष्ठले थुप्रै चर्चित फेसन सोहरूमा सहभागिता जनाइसकेकी छिन् भने विभिन्न ब्रान्डका लागि काम पनि गरिसकेकी छन् । मिडियामा समेत काम गरिसकेकी श्रेष्ठ यस ‘मिस ग्ल्याम वर्ल्ड २०२२’ लाई लिएर निकै उत्साहित छिन् ।
कार्यक्रममा मिस ग्ल्याम वर्ल्ड २०२२ को ताज नेपाल भित्रयाउने सक्दो प्रयास गर्ने बाचा पनि गरिन् ।
मिस ग्ल्याम वर्ल्ड २०२२ एक अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र नभएर नेपाललाई विश्वमा चिनाउने एक अवसर भएको आयोजक फेसन इराका कार्यकारी अध्यक्ष आनन्दले बताए । ‘मिस ग्ल्याम वर्ल्ड २०२२’ यही अगस्टको १९ तारिखदेखि २८ तारिखसम्म भारतको कोचिन, केरलामा आयोजना हुँदैछ ।