काठमाडौं । विश्वमा सामाजिक सञ्जालको प्रयोग निरन्तर बढ्दै गएको छ । सामाजिक सञ्जालमध्ये ट्विटर विश्वका नयाँनयाँ ट्रेन्डबारे अपडेट गराउने माध्यमका रूपमा चर्चित छ । उपलब्ध विभिन्न सामाजिक सञ्जालहरूमध्ये ट्विटरलाई 'ट्रेन्डिङ ह्यान्डल' भन्दा पनि फरक नपर्ला ।
फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालमा भएका फलोअर्सको संख्यालाई कुनै पनि व्यक्तिको व्यक्तित्वसँग जोडेर हेरिन्छ । आज हामीले विश्वमा ट्विटरमा सबैभन्दा बढी फलोअर्स भएका १० जना व्यक्तित्वहरूको सूची तयार पारेका छौँ । यो सूची शुक्रबार (जनवरी २८, २०२२) सम्मको विवरणका आधारमा तयार पारिएको हो ।
१. बाराक ओबामा
शीर्ष १० सूचीको पहिलो स्थानमा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा उर्फ बाराक हुसेन ओबामा पर्दछन् । उनकै नामको ट्विटर ह्यान्डलम १३ करोड ६ लाख ६९ हजार १४८ फलोअर्स छन् । उनको अकाउन्टबाट ५ लाख ८६ हजार ७७४ फलोइङ छ । यसका साथै उनले अहिलेसम्म १६ हजार ३०० बढी ट्विट गरिसकेका छन् । अमेरिकाका ४४ औँ राष्ट्रपति ओबामाले सन् २००९ देखि २०१७ सम्म कार्यकाल सम्हालेका थिए ।
२. जस्टिन बिबर
ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका दोस्रो सेलिब्रेटीमा क्यानडियन गायक जस्टिन बिबर रहेका छन् । ट्विटरमा उनका ११ करोड ४२ लाख ६० हजार ९०७ फलोअर्स छन् । जस्टिन बिबर नामको उनको ट्विटल ह्यान्डलबाट अहिलेसम्म ३१ हजार ४०० बढी ट्विट भइसकेको छ । उनको अकाउन्टबाट दुई लाख ८५ हजार ४४७ लाई फलो गरिएको छ ।
यसका साथै उनी संसारकै सबैभन्दा धेरै फलोअर्स भएका पहिलो म्युजिसियन पनि बनेका छन् ।
३. केटी पेरी
यो सूचीको तेस्रो स्थानमा अमेरिकन गायिका केटी पेरी छिन् । वास्तविक नाम क्याथरीन एलिजाबेथ हडसन रहेकी उनलाई विश्वले केटी पेरीको नामले नै चिन्दछ ।
उनलाई १० करोड ८७ लाख ८० हजार ९५८ अकाउन्टबाट फलो गरिएको छ । उनको अकाउन्टबाट भने २३६ जनालाई मात्रै फलो गरिएको छ । गायिका पेरीले हालसम्म ११ हजार ५ बढी ट्विट गरेकी छन् ।
सबैभन्दा बढी फलोअर्स भएको सूचीको शीर्ग ३ मा परेकी पेरी सबैभन्दा धेरै फलोअर्स भएकी महिलाको सूचीमा भने पहिलो स्थानमा छिन् ।
४. रिहाना
शीर्ष १० मा चौथो नम्बरमा पुन: गायिका नै परेकी छन् । रिहाना १० करोड ४२ लाख ६१ हजार ९६७ फलोअर्ससहित शीर्ष ४ मा परेकी हुन् ।
रिहान नामकै उनको ट्विटर ह्यान्डलबाट हालसम्म ९९५ लाई फलो गरिएको छ भने १० हजार ६ सय ट्विट गरिएको हो ।
गत वर्षको नोभेम्बर अन्तिममा उनलाई उनकै जन्मभूमि बार्बेडोसमा ‘हिरा’ संज्ञा दिँदै सम्मान गरिएको थियो ।
५. क्रिस्टियानो रोनाल्डो
शीर्ष १० सूचीको पाँचौँ स्थानमा खेलकुद् विधाका लोकप्रिय खेलाडी परेका छन् । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई ९ करोड ६९ लाख ९७ हजार ६३ अकाउन्टबाट फलो गरिएको छ । उनको अकाउन्टबाट भने जम्मा ६० जनालाई फलो गरिएको छ । रानोल्डोले अहिलेसम्म ३ हजार ७६२ वटा ट्विट गरिसकेका छन् ।
६. टेलर स्विफ्ट
अमेरिकन गायिका टेलर एलिसन स्विफ्ट उर्फ टेलर स्विफ्ट ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका शीर्ष १० को छैटौँ नम्बरमा परेकी छन् । टेलरका ८ करोड ९९ लाख ४५ हजार ६३२ फलोअर्स छन् भने फलोइङ शून्य छ । उनको अकाउन्टबाट जम्मा ७१६ ट्विट मात्र भएको छ ।
७. लेडी गागा
लेडी गागाको नामले परिचित अमेरिकन गायिका स्टेफनी जोआन एन्जेलिना जर्मनोटा सबैभन्दा बढी ट्विटर फलोअर्स भएको सूचीको सातौँ स्थानमा छिन् । लेडी गागाकै नामको उनको अकाउन्ट ह्यान्डललाई ८ करोड ४१ लाख ६२ हजार ४९७ ट्विटर प्रयोगकर्ताले फलो गरेका छन् । उनको अकाउन्टबाट १ लाख १८ हजार ५०१ लाई फलो गरिएको छ । गागाले अहिलेसम्म ९ हजार ७१९ ट्विट गरिसकेकी छन् ।
यो स्थानमा पहिले पूर्व अमेरिकन राष्ट्रपति डोनाल्ड जोन ट्रम्प थिए । तर उनको रियल डोनाल्ड ट्रम्प नामको आधिकारिक ट्विटर ह्यान्डललाई ट्विटर सधैँका लागि बन्द गर्दिसकेको छ ।
ट्रम्पको निलम्बनपछि पनि यो सूचीमा आँठौँ बाट झरेर सातौँमा अमेरिकन पप गायिका एरियाना ग्रान्डे पर्थिन् । तर उनले पनि गत वर्षको क्रिसमसमा आफ्नो आधिकारिक ट्विटर ह्यान्डल डिलिट गरिदिइन् ।
अहिले फेरि एरियाना ग्रान्डे टुड नामबाट नयाँ ट्विटर ह्यान्डल खोलिएको देखिन्छ ।
८. ऐलेन डिजेनेरस
ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका शीर्ष १० को सूचीमा ऐलेन ली डिजेनेरस उर्फ ऐलेन डिजेनेरस आठौँ स्थानमा छिन् । द एलेन शोकी होस्ट डिजेनेरसको ट्विटर ह्यान्डलमा ७ करोड ७६ लाख ३८ हजार र १७ फलोअर्स अनि २६ हजार ४३७ फलोइङ छ । उनले २३ हजार ५ सय ट्विट गरिसकेकी छन् ।
९. नरेन्द्र मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ट्विटरमा सबैभन्दा धेरै फलोअर हुनेहरूको शीर्ष १० को नवौँ स्थानमा छन् । नरेन्द्र मोदी नामक उनको आधिकारिक ट्विटर ह्यान्डललाई ७ करोड ५२ लाख ४४ हजार ७८४ अकाउन्टले फलो गरेका छन् । उनको अकाउन्टबाट भने २ हजार ४३१ लाई फलो गरिएको छ । उनले ३१ हजार ८०० ट्विट गरिसकेका छन् ।
मोदी सन् २०१४ देखि भारतको प्रधानमन्त्रीको पद सम्हालिरहेका छन् । भारतीय सेलिब्रेटीहरूलाई पनि उछिन्दै मोदी शीर्ष १० को सूचीमा परेका हुन् ।
१०. किम कार्दसियन वेस्ट
ट्विटरमा संसारका सबैभन्दा धेरै फलोअर्स भएका उत्कृष्ट १० व्यक्तित्वहरूमध्ये १०औँ स्थानमा अमेरिकन मिडिया पर्सनालिटी किम कार्दसियन वेस्ट छिन् ।
उनको ट्विटर ह्यान्डलमा ७ करोड १० लाख ४३ हजार ६३५ फलोअर्स छन् । त्यस्तै अहिलेसम्म ३५ हजार १०० ट्विट गरिएको उनको ह्यान्डलबाट १२४ लाई फलो गरिएको छ ।