काठमाडौं । बिमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई जरिबाना तिराएको छ । कम्पनीले समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बिमा सम्बन्धी निर्देशन, २०७३ विपरीत कार्य गरेको भन्दै १० हजार रुपैयाँ जरिबाना तिराइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
“समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको पाइयो,” समितिले विज्ञप्ति जारी गर्दै भनेको छ, “बिमितको हितविपरीत नक्कली बिमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बिमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बिमा नगरेको देखिएकाले बिमा ऐन, २०४९ को दफा ३६ को उपदफा बमोजिम उक्त कम्पनीलाई १० हजार रुपैयाँ जरिवाबा गर्ने निर्णय गरिएको हो ।”