काठमाडौं । अघिल्ला चारदिन लगातार गिरावट आएको सेयर बजारमा ब्रेक लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार उतारचढावबीच सेयर बजार परिसूचक नेप्से ३.३३ अंकले वृद्धि भएको छ । योसँगै नेप्से २७७९.९८ विन्दुमा पुग्यो ।
आज ७ वटा उपसूचकमा सामान्य सुधार हुँदा ६ वटा उपसूचकमा गिरावट भयो । निर्जीवन बिमा उपसमूह सबैभन्दा उच्च १३३.८३ अंकले सुधारियो भने विकास बैंक र होटेल तथा पर्यटन उपसमूहमा सबैभन्दा उच्च २१/२१ अंकको गिरावट आयो ।
आज कारोबार परिमाणमा भने पनि निकै कमी आयो । २२४ कम्पनीको ६६ लाख ७५ हजार कित्ता सेयर ३ अर्ब ३४ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज ९० कम्पनीको सेयरधनीले कमाए । ८६ कम्पनीको सेयर मूल्य घट्यो भने १५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।