काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई कारबाही नगरिएकोमा अपत्ति जनाएको छ । एमालेले सरकारको ६ महिनाको मूल्यांकन गर्दै जारी गरेको वक्तव्यमा आपत्ति जनाइएको हो ।
“संक्रमणकालीन न्यायको विषय छिटो टुङ्ग्याउन र पीडितहरूलाई न्याय दिलाउन अनिच्छुक गठबन्धनका नेताहरू गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई पनि ढाकछोप गर्न र दण्डहीनतालाई संस्थागत गर्न लागिपरेका छन्,” एमालेको वक्तव्यमा भनिएको छ, “यसैको एउटा सिलसिलाका रूपमा एकजना मन्त्रीबाट जनमत पार्टीका नेताहरूलाई ‘गौरकाण्ड’जस्तै घटना दोहोर्याएर हत्या गर्न धम्की दिइएको छ ।”
एमालेले मन्त्री यादवको अभिव्यक्ति बर्बरतायुक्त भएको भन्दै कारबाही नगरी पदमा राख्नु आपत्तिजनक भएको जनाएको छ । “यस्तो कार्य आपत्तिजनक, आपराधिक र बर्बरतायुक्त छ,” एमालेले भनेको छ, “यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई हालसम्म पनि कारबाही नगरी पदमा बहाल राखिरहनु अत्यन्त आपत्तिजनक छ ।”