काठमाडौं । नेपाली बजारमा सर्वाधिक बिक्री हुने सेडानमध्ये टाटाको टिगोर पर्छ । पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरे सँगै लोकप्रियता कमायो । गाडीको आवरण, विशेषता र सुरक्षाको हिसाबमा अग्रपंतिमा रहेको टाटा टिगोर सन् २०१७ मा सार्वजनिक भएको हो । नेपालमा भने यो सन् २०१८ को अन्त्यतिर सार्वजनिक भयो ।
आन्तरिक र बाह्यबजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केहीमहिना अघि मात्रै भारतीयबजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर सार्वजनिक गरेको छ। टिगोर ईभीले पनि छोटो समयमै राम्रो बजार पायो । झन्डै तीनमहिना सार्वजनिक टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुवाती मूल्य भारु ११ लाख ९९ हजार तोकेको छ ।
नेपाली बजारमा पनि टिगोर ईभी छिट्टै भित्रने जनाइएको छ । टिगोर ईभी भित्रिएपछि नेपाली बजारमा टाटाको दुई वटा विद्युतीय मोडल उपलब्ध हुनेछ – टिगोर ईभी र केही समय अघि सार्वजनिक नेक्सन ईभी । नेपालमा नेक्सन ईभी सन् २०२१ को मध्यतिर सार्वजनिक भएको हो । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ ।
टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंकपाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ ।
टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । जुन २६ किलोवाटको लिक्विड–कुल्ड, उच्चउर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिने कम्पनीले जनाएको छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै, टिगोर ईभीमाभएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुने जनाइएको छ । यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ । अर्थात् गाडीलाई हाम्रो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सकिन्छ । यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशतले चार्ज हुने जनाइएको छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।
टाटा मोटर्सले यो टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात् १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । भारतमा यसको एक्सई भेरियन्टको मूल्य भारु ११ लाख ९९ हजार, एक्सएम भेरियन्टको मूल्यभारु १२ लाख ४९ हजार, एक्सजेड प्लसको मूल्य भारु १२ लाख ९९ हजार र एक्सजेड प्लस डुअल टोनको मूल्य १३ लाख १४ हजार भारु तोकेको छ ।
नेपालमा भने हालसम्म यसको मूल्य वा गाडी सार्वजनिक हुने मितिबारे कम्पनीले कुनै घोषणा गराएको छैन । तर छिट्टै यो गाडी नेपाली बजारमा ल्याउने कम्पनीले जनाएको छ ।