site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिपहपमा शताब्दी र परिवारकाे किस्ताकिस्ता सम्झनामा बाँचेका यमबुद्ध
SkywellSkywell

“हार्दिनँ म कहिल्यै पनि
शिर ठाडो हुनेछ जहिले पनि
तपाईंको आवाज मेरो बोली
संघर्ष आज सफलता भोलि...”

यी गीतका लाइनहरू लेखेर त्यसमा आवाज भर्न नपाउँदै चिसो जनवरीको एक बिहान ननिको खबर आयो, ‘र्‍यापर यमबुद्ध रहेनन् ।’

दिनांकले २०१७ को जनवरी १५ अर्थात् माघ १, २०७५ मा त्यो घटना घटेको थियो ।

KFC Island Ad
NIC Asia

गीतमा जस्तै उनको शिर ठाडो नै रह्यो, उनको आवाज आज लाखौँको मनमा धड्किन्छ । उनी संघर्षरत नै थिए, सफलता पाउँदै थिए । तर, गीतको पहिलो हरफमा उनी हारे । कहिल्यै नउठ्ने गरी, कहिल्यै नआउने गरी, उनी जीवनदेखि हारे, भौतिक दुनियाँमा उनको भौतिक शरीर रहेन । उनी अर्थात् मोरङको सकलपुरका अनिल अधिकारी उर्फ यमबुद्ध ।

० ० ०

Royal Enfield Island Ad

उनले धर्ती छाडेको पाँच वर्ष बितिसकेको छ । एक दिदी र एक बहिनीको बीचमा जन्मिएका अनिलले जसरी अपत्यारिलो तरिकाले संसार छाडे, त्यही अपत्यारिलो खबरले पाँच वर्षयता उनका बुवाआमाको मुहारको हाँसो खोसिएको छ । आँखा अझै ओभाएका छैनन् । अनेकन् सम्झना उनीहरूको मानसपटलमा ताजै छ ।

पुत्रवियोगको उक्त घटनापछि ह्रदयांश गुम्यो, उनीहरू टुटे । आफू बसेको घर छाडे । तर, अनिलको सम्झनाले उनीहरूलाई जहाँ गए पनि पछ्याइरह्यो ।

छोरा गुमाएको पाँचौँ वर्षको दिन अम्बिका र उर्मिला अधिकारी पोखरामा छन् । पोखरामा छोराका समर्थकहरूले एउटा कार्यक्रमको आयोजना गरेका छन्, ‘ट्रिब्युट टु यमबुद्ध ।’ त्यही कार्यक्रममा सहभागी हुन आइपुगेका छन्, अनिलका बुवाआमा । कुराकानीका दौरानमा उनीहरू पटक–पटक भावुक भए ।

अम्बिका भन्छन्, “हो, उसको कुरा गर्दा भावुक भइन्छ, बोल्न सकिँदैन । अहिले पनि गाह्रो हुन्छ । दुईतीन वर्ष त निस्कन पनि सकिएन । कसैले सोध्दा पनि जवाफ दिन नसक्ने अवस्थामा थियौँ । भन्न सजिलो हुन्छ, तर सहन गाह्रो हुन्छ । हो, छोरा फर्केर आउँदैन भन्ने सबैलाई थाहा छ, तर बिर्सन पनि त गाह्रो छ ।”

‘रुँदैनन् मर्नेहरू, रुन्छन् जलाउनेहरू ।’ हो, उनीहरू आँसुमा यमबुद्धको सम्झना बगाउँछन् । पहिले खुसीले भावुक भएर बगाउँथे, अहिले ऊ छैन भन्ने सम्झेर बगाउँछन् ।

छोराकै बारेमा कुरा हुँदा आमा उर्मिलाको गला पटक–पटक अवरुद्ध भयो । उनले कैयौँ रात छोराका लागि भनेर खाना हटकेसमा राखेर सुतिन् । सुतिन् मात्र, निद्राचाहिँ आएन । छोराले कति बेला गेटको ढोका खोल्छ र सिँढीमा जुत्ताको आवाज आउनेछ भनेर उनी कैयौँ रात कुरिरहिन् । तर, अनिल आएनन्, आमालाई उनको याद मात्र आइरह्यो ।

अचेल पनि उनी एक्लै एकान्तमा अनिलका भिडियोहरू हेर्छिन्, एक्लै रुन्छिन् । उसले गरेका मजाक, उसले गरेका गम्भीर कुरा उनीहरूले पालैपालो सम्झिन्छिन् । “कुनै–कुनै कुरा उसले मजाक गरेको छ, कति सिरियस छन् । अहिले उसका भिडियोहरू हेर्दा ऊ यहीँ मसँग छ कि जस्तो अनुभव हुन्छ । म लुकेर एक्लै हेर्छु । उहाँलाई पनि रोएको देखाउँदिनँ । त्यो घर बेचेर अर्को ठाउँ सर्यौं । बाबुको साथी, फ्यानहरू घरै आउँथे । कसैले क्याप माग्ने, कसैले टिसर्ट माग्ने गर्थे । एक÷दुईजनालाई दिएँ पनि । मेरो छोरा नै दिएर पठाएँजस्तो लाग्छ । उसको दराजमा सय÷दुई सयवटा क्याप छन् । उसको मोजा पनि मैले केही गरेको छैन,” उनले भनिन् ।

एउटा दुर्घटनाले अष्ट्रेलिया छाडेर हिपहपतर्फ
१२ कक्षा पास भएपछि अष्ट्रेलिया जानका लागि तयार थिए । आफ्नै बाबुको एड्मार्क कलेजमा १२ को पढाइ सक्काएका थिए । पढाइ सकेपछि थप अध्ययनका लागि अष्ट्रेलिया जाने दिन पनि तय भइसकेको थियो । जागिर पनि फिक्स भयो । अनिलले खुसी हुँदै परिवारलाई खबर सुनाए ।

खुसी हुँदै घर फर्किँदा मिठाई बाँड्नुपर्छ भन्ने सोचेर एउटा पसल मिठाई किन्न गएछन् । तर, एउटा ट्याक्सी आएर बाइकमा ठोक्किँदा उनको खुट्टा भाँचियो । त्यहाँ स्टिल हालेर करिब एक वर्ष बस्नुपर्यो । त्यसपछि उनले अष्टे«लिया जाने सपना त्यागे । 

त्यो खाली समयमा खाली कापी लिएर लेख्न थाल्थे । कविताहरू त पहिले पनि लेख्थे । यसरी उनको हिपहपको यात्रा सुरु भएको थियो । हिपहपलाई छाडा बोल्ने भन्ने विधा पनि भनिन्थ्यो । तर, उनले सन्देशमूलक गीतहरू गाउन, लेख्न थाले । घरमा आफूहरूले दिएको संस्कार कहिल्यै ननाघेको बाबुआमा बताउँछन् ।

अनि, अनिल यमुबद्ध बने...
बुवा पहिलेकै राजनीतिज्ञ । देशको अस्थिर राजनीतिक प्रणालीबारे अहिले सबैले आफ्ना कुण्ठा पोख्छन् । अनिलका बुवाले पनि घरमा एकदिन देशकै स्थितीबारे बोले, “यी चोरहरूलाई त गोली हान्नुपर्ने ।”

अनिलले तत्कालै बुवाको प्रतिवाद गर्दै भने, “बाबा तपाईंले यस्तो कुरा गर्ने ? गोली हान्ने कुरा गर्ने ? यस्तो कुरा गर्न मिल्छ ?”

बुवाले जवाफ फर्काए, “हेर बाबु राष्ट्रलार्ई आवश्यक पर्यो भने बुद्धले पनि राक्षसको रुप लिनुपर्छ ।”

यमबुद्धका बुवा स्मरण गर्दै भन्छन, “उसको दिमागमा के परेछ भने यमराज र बुद्धलाई मिसाएर यमबुद्ध नाम राख्यो । पहिले त बुद्ध मात्रै राख्थ्यो । सुरुमा बुद्धबाट करिअर सुरु भयो । पछि त्यही प्रसंगबाट उ यमबुद्ध बन्यो ।”

आमाले पहिलोपटक लुकेर छोराको कन्सर्ट हेर्दा
काठमाडौं नै भए पनि आमाबाबुले भने छोराको लाइभ कन्सर्ट हेर्न पाएका थिएनन् । नत छोराका फ्यान देखेका थिए न उनको क्रेज । एकदिन जोरपाटीको एउटा सिनेमा हलमा यमबुद्धको कन्सर्ट थियो । यमबुद्धले आमालाई बोलाए, “आज मेरो कन्सर्ट छ, हेर्न आउनु ।”

उर्मिला अधिकारी पहिलोपटक आफ्नै छोराको कन्सर्ट हेर्न बहिनीलाई साथमा लिएर पुगिन् । त्यहाँ उनले छोरालाई चारपाँच जना सुरक्षाकर्मीले सुरक्षा दिएको देखिन्, सुरक्षा घेराभित्र रहेको छोरालाई देखिन् । “बोलाए पनि जाने नजाने निश्चित थिएन । उसले गाएका गीतमा मानिसहरू नाचिरहेका थिए । म र बहिनी गएका थियौँ, हामीले साइडबाट लुकेर हेर्यौं । मलाई एकदमै प्राउड फिल भयो । छोरा पनि यो ठाउँमा पुगेको रहेछ । मेरा आँखाबाट आँसु झरे । पछि उसले मलाई देख्यो, म देखा परेँ । हामीहरू त्यहाँ जाँदा अनइजी फिल हुन्छ कि भन्ने सोचेँ, तर उसले सधैँ सम्मान गथ्र्यो ।”

बुवाले फ्यानहरूसँग आफ्नै छोराको बारेमा सोध्थे, आफन्तले गाली गर्थे
धरानमा एउटा कार्यक्रम थियो । म त्यतै थिएँ । उसले भन्यो, “बाबा मेरो प्रोग्राम छ आउनु न ।”

मलाई खासै चासो छैन भनेँ । गाउँको नातीले जाउँ कि जाउँ भनेर कर गरेपछि म गएँ ।

ठूलो भीड थियो । त्यहाँ एक युवती पनि थिइन्, मैले उनलाई सोधेँ, “नानी यमबुद्ध भन्ने मान्छे रहेछन्, कस्तो खालको गीत गाएका हुन्, हल्लामात्रै छ ।”

उनले भनिन्, “उ त अहिलेको जमाना अनुसारको हिरो हो नि ।”

मैले सोधेँ कहाँको मान्छे रहेछ ? 

उनले भनिन्, यहीँ नजिकको छाताचोकको मान्छे हो, मेरो घर नजिकैको हो ।

अर्को प्रसंग सम्झिँदै अम्बिका सुनाउँछन् ।

मोरङको सलकपुरमा जन्मेका यमबुद्ध । त्यहाँ कार्यक्रम, अनि उनै यमबुद्धको प्रस्तुती । उनका हजारौँ फ्यान । उक्त कार्यक्रममा बुवा अम्बिका अधिकारी पनि छोराको कन्सर्ट हेर्न पुगे । कन्सर्ट हेर्नभन्दा पनि सकेपछि छोरासँगै घर जाने भनेर उनी त्यहाँ पुगेका थिए ।

उनको छोरा भनेर अनिल अधिकारीलाई त्यहाँका व्यक्तिले चिन्थे, तर यमबुद्धलाई पनि उनीहरूले चिन्थे । अम्बिकाको छोरा अनिल तीनै यमबुद्ध हुन भन्ने चाहिँ धेरैलाई थाहा थिएन । यतिसम्म कि आफन्तलाई पनि थाहा थिएन ।

त्यो दिन सम्झिँदै अम्बिका भन्छन्, “यमबुद्ध मेरो छोरा भन्दै हिँड्ने कुरा त भएन । अनिल अधिकारी भनेर नचिन्ने, यमबुद्ध भनेर चाहिँ चिन्ने । तर, यमबुद्ध मेरो छोरा हो भनेर नचिन्ने त्यहाँ धेरै भेटिए । आफन्तहरूले गाली गरे, तपाईंको छोरा रहेछ हामीलाई नचिनाउने ।”

० ० ०

चितवनमा भतिजोसँग भेट भयो । उसले मेरो घरमा जानुपर्छ भन्यो । पछि खाना खान गएँ । बुहारीको मोबाइलमा अनिलको साथीले गीत रिङटोन राखेको रहेछ । के हो यो भनेर सोध्दा उसले यामबुद्ध भन्ने गायकको मात्रै गीत गाउँछ, पूजा नै गर्छ भने । कसरी पूजा गर्छ भनेपछि बाबुको कोठा देखाए । त्यहाँ अनिलको फोटो राखेको रहेछ । पछि मैले यामबुद्धलाई भेटेको छ भनेर नातीलाई सोधेँ । उसले छैन भन्यो । नभेटेको मान्छेसँग यस्तो लभ कसरी ? म भेटाइँदिऔँ भनेँ । चिन्नुहुन्छ भनेर मलाई सोध्यो । मेरो छोरा हो भनेपछि झन्डै बेहोस भएन । चितवनमा अनिलको प्रोगाम हुनेबेला भन्दिउँदा भनेँ । अनिललाई सबै कुरा भनेँ । 

जब बुवाले आफ्नै छोराबाट प्रेरणा पाए
उच्च शिक्षाकै लागि भनेर २०५० सालमा काठमाडौ आएका अधिकारी दम्पत्तिको एकमात्रै उद्धेश्य थियो, छोराछोरीको शिक्षा । यही उद्धेश्यका लागि मोरङबाट राजधानी छिरेका दम्पत्तिका दुवै छोरीहरू अहिले उच्च तहमा विकसित देशमा भिन्न पेशामा कार्यरत छन् ।

सुरुमा मोरङकै सकलपुरस्थित ब्राइट फ्युचर इमावि स्कुलमा यमबुद्धको प्रारम्भिक शिक्षा सुरु भयो । पछि परिवारसँगै उनी काठमाडौं आए र अध्ययन अगाडि बढाए ।

बुवा सम्झिन्छन्, “त्यतिबेला होमवर्क दिने एकदम चलन हुन्थ्यो । तर, उसले स्कुलमा नै होमवर्क सकेर आउँथ्यो । घरमा खाली हुन्थ्यो । हरेक कुरामा टप हुन्थ्यो । सबै खेलमा उ सफल नै हुन्थ्यो ।”

खेलकुदमा उनको फेवरेट खेल क्रिकेट हो । त्यतिबेलै उनी आठकक्षा पढ्दा अन्डर १४ समूहमा नेसनल टिममा छनोट भएका थिए । तर, अम्बिकाले छोरालाई क्रिकेटमा अगाडि बढ्न दिएनन्, पढाई बिग्रिन्छ भनेर । अहिले अम्बिकालाई आफूले त्यसबखत गल्ती गरेको अनुभूत हुन्छ । धेरैले सफल व्यक्तिबाट प्रेरणा लिन्छन्, प्रेरणाको धेरैको स्रोत आफ्नै अभिभावक हुन्छन् । तर, अम्बिकालाई भने उनकै छोरा यमबुद्धले प्रेरणा दिएर गए ।

“संसारमा कुनै पनि विधा आफैंमा कमजोर हुँदैन, के पढौँ भन्दा एक विद्यार्थीले सोध्यो भने, बुवाले सोधे भने यो बनाउँछु, उ बनाउँछु भन्छन्, त्यो विलकुल गलत हो । कुनै पनि विषय आफैंमा कमजोर हुँदैन, कमजोर हुन्छ त विद्यार्थी । त्यो सन्देश उसले मलाई पनि दियो ।”

साथी गीत र राजकुमार चेपाङ
यमबुद्धले एकदिन भने, “मलाई एकजना भाइ चाहियो, उसलाई पढाउनुपर्छ, हामीसँगै राख्नुपर्छ ।” बुवाआमाले त्यसबखतदेखि नै यमबुद्धको त्यो अनुरोधलाई स्विकारेर राजकुमार चेपाङलाई छोरा बनाएर राखेका छन् । अहिले उनले कक्षा १२ को परीक्षा सक्काएका छन् । अधिकारी दम्पत्तिसँगै उनी हरक्षण हरसमय सँगै हुन्छन् ।

यमबुद्धले गाएको ‘साथी’ गीतमा उनै चेपाङ पनि छन् । जो यमबुद्धसँग उत्तिकै नजिक थिए, एउटा भाइजस्तो, एउटा साथीजस्तो । यमबुद्धको पहिलो गीत साथीमा उनै चेपाङ साथीको भूमिकामा देखिएका छन् ।

यमबुद्धको घटनापछि अधिकारी दम्पत्तिले उनलाई एकपल पनि टाढा जान दिएका छैनन् । चेपाङको अनुहारमा उनीहरूले यमबुद्ध देखिरहेका छन् । अहिले अधिकारी दम्पत्तिले नितान्त रिटायर्ड लाइफ जिइरहेको छ । दुईवटा कलेज थिए, ती पनि बेचिदिए ।

अब उनीहरू अभावग्रस्त बच्चाको आँखामा यमबुद्ध खोज्दैछन् । त्यसका लागि उनीहरू समाजसेवामा जोडिएका छन् । यमबुद्ध फाउण्डेसन त्यसैको उपज हो ।

आफ्नै कथालाई गीत बनाए
मनभित्रको यो माया यो बन्धन,
परिवारको कसैलाई केही हुँदा रोकिने यो धड्कन,
टाढा हुँदाको तड्पन,
तर, कहिल्यै साथ नछाड्ने जति आएनी बाधा अनि अड्चन ।

यमबुद्धको आफ्नै मन धड्किन छाडेको पाँच वर्ष भइसक्यो । तर, यमबुद्ध भने लाखौँको मनमा धड्किरेहका छन् ।

यो गीत उनले आफ्ना दिदीहरूलाई समर्पित गरेर लेखेका थिए । परिवारले भन्छ, “कुनै कहानी भनेजस्तो छ, त्यो एकदमै वास्तविक हो ।”

उनका लागि भनेर परिवारले घरको एउटा फ्ल्याट नै छुट्याइदिएको थियो । “उसलाई भनेर एउटा हल, अफिस, साथीभाइहरू आइरहने । उसँग पाँचसात जना जतिबेला पनि भइरहने । बाहिर निस्किँदा चाहिँ मास्क, हेलमेट लगाएर निस्किन्थ्यो । उसले गाउने, लेख्ने सबै रातिमा नै हो । रातिमा नै उसले प्राक्टिस गथ्र्यो । गीत लेख्ने बेलामा एकदमै शान्ति चाहिन्थ्यो । लेख्ने बेलामा उ एक्लै हुन्थ्यो,” अम्बिका सम्झिन्छन् ।

उनले लेखेका सयौँ गीतहरू ती पुराना कागजका टुक्राहरूमा छन् । जुन रेकर्ड हुन पाएनन्, ती गीतहरू परिवारले पछि भेट्यो र अहिले सँगालेर राखेको छ ।

एउटा शब्दमा चित्त दुखाई, यमबुद्धमाथि गर्व
उक्त समयका चर्चित र्‍यापर । लाखौँ फ्यान । त्यसमाथि आत्महत्या गरेको विषय । उनको अन्त्येष्टिमा त्यसबेला आर्यघाटमा देखिएको भिड र आँसुले उनी कति लोकप्रिय थिए भन्ने दखाउँछ । तर, उनको आत्महत्या भनेर जुन शब्द प्रयोग भयो । त्यसलाई फ्यानहरूले पनि पत्याउन सकेनन् ।

परिवारले त झन सुन्न नै चाहेन । त्यही आत्महत्या शब्दमा उनीहरूको अझै पनि चित्त दुखाई छ, त्यो शब्द मेटाउन नसकेको थकथकी छ । बुवा भन्छन्, “कोही मान्छे सयवर्ष बाँच्छ, कोही छोटो समयमा जान्छ । उ सयौँ वर्ष बाँचे बराबर भइसकेको छ । २९ वर्षमा हाम्रो बाबु जाँदा हामीलाई दुःख छैन । हामीलाई एउटा मात्रै दुःख के छ भने आत्महत्या भन्ने एक शब्द आयो नि, त्यसमा हाम्रो चित्त दुखाई छ ।”

आत्महत्या गर्ने उसको चरित्र, व्यवहार नै होइन । आवश्यकता पनि थिएन । दुईदिन अघि मसँग कुरा भएको छ, मामुसँग कुरा गरेको छ, दिदीसँग कुरा गरेको छ । पूरै उत्साह छ । विविध देशमा कन्सर्टहरू थिए । तर, जुन खबर आयो, त्यो खबरसँग पटक्कै नमिल्ने प्रमाण हामीसँग छ । तर पनि हाम्रो पहुँच पुगेन । त्यो शब्द मेटाउन पाइएन भन्ने मात्र हो । यहाँ चिन्ता लिने कुरा छैन, गर्व गर्ने कुरामात्रै छ ।

आत्महत्या भन्ने शब्द नै उनीहरूले स्वीकार्न त के सुन्न पनि चाहँदैनन् ।

आमा उर्मिला अधिकारी भन्छिन्, “त्यो त कुनै पनि हालतमा हुँदै होइन । एउटा कुरा त अनिल अष्ट्रेलिया जाँदा उसले एउटा मोबाइल गिफ्ट पाएको थियो । त्यसपछि नेपाल आउँदा त्यो मोबाइल मलाई दिएको थियो । तर, घटना भएपछि मैले मोबाइल चलाइनँ । पछि छोरीहरू आएपछि त्यो मोबाइल खोले । त्यो मोबाइलमा घटना भएको दिन ५ बजेर २० मिनेट जाँदा उसले प्रयोग गरेको सवारीको बिल तिरेको देखिन्छ । इमेलमा त्यो मेसेज आएको थियो ।

तर, घटना सुनाउने मान्छेले १२ बजे बाबु आएको भनेका छन् । त्यसपछि खाना खाएर सुतेको अनि ३ बजे उठेर बाथरुम गएको भन्छन् । ३ बजे उठेको मान्छे ६ बजेसम्म बाथरुममा ? त्यो बिचमा जस्तो कि सँगै सुतेको श्रीमान श्रीमती, ३ बजे बाथरुम गएर ६ बजेसम्म नआउँदा केही मतलब हुन्न ?

किन आएन ? कौतुहल हुन्छ । सपनामा भए पनि छैन भने झसङ्ग हुन्छ, हेरिन्छ । अनि अर्को कुरा, तल भाडामा बस्ने मान्छे माथि आयो रे त्यसपछि बाथरुम हेर्यो रे !

तल फ्ल्याटमा बसेको मान्छे माथि आउनुपर्ने कुनै कुरा छ ? आएर पनि बाथरुम हेर्नुपर्ने कारण त छैन होला । उसले त्यो चाबी लगाउने ठाउँबाट चिहाउनुपर्ने कारण के हुन्छ ? 

उसले चिहाएर हेरेपछि देख्यो रे ! अनि बोलायो रे ! त्यसपछि तल गएर चाबी लिएर आएर ढोका खोलेको रे !

बुहारीको बुवाले ढोका फोडेर निकालेको भन्ने कुरा छ । उसले चाहिँ चाबी खोलेर निकालेको भनेको छ । मैले बुझ्न नसकेको कुरा, ‘तल भाडामा बसेको मान्छे, माथि आएर बाथरुममा चिहाउनुपर्ने कारण के हो ? कुरा प्रष्ट छ । टुक्राटुक्रा पारेर पासपोर्ट च्यातिनु, लुकाउनु ।’

मोबाइलमा मेसेज आएको कुराले नै सबै स्पष्ट पारेको छ । त्यो ४० मिनेटको अन्तरमा त्यस्तो भएको छ ।

जति फ्यानहरू आए । उनीहरूले हेर्न पनि पाएनन् ।

हेर्न पाएकाहरूले, ‘क्याप लगाइरहेको, जुत्ता लगाइरहेको, मोबाइल गोजीमारहेको देखेका रहेछन् ।’

जुत्ता लगाएर कोही बाथरुम जान्छ ?

यी नाजवाफ प्रश्नहरू छोराको यादसँग सँगै छन्, अधिकारी दम्पत्तिसँग ।

ससुराली बस्यो 
यमबुद्धको आत्महत्या भनेर त्यसबखत मिडियाले उनी आर्थिक स्थिती नाजुक बनेको, हुलाकीको काम गरेको लगायतका विषय प्रकाशित भएका थिए । लन्डन हुँदा आर्थिक स्थिती खराब भएकै कारण ससुरालीमा बसेको भनेरसमेत प्रचार भएको थियो ।

परिवार यसलाई, “चरित्रहत्या” भन्छ ।

उर्मिला भन्छिन्, “नेपालमा उनीहरू (बुहारी)को आफ्नो अपार्टमेन्ट थियो । बुहारीको बुवाले त्यत्तिकै छाडेर जानुभन्दा छोरीको सामान छ, एकवर्ष उता बस्ने हो भने रेन्टमा दिएर जाउ भन्नुभएको थियो । सातमहिनामा बुहारी फर्किइन् । उनको कार्ड बन्ने रहेछ । बाबु (यमबुद्ध)ले जान मन गरेको थिएन । सम्धिनीले फोन गरेर फकाएर पठाइदिनु भनेपछि गएको हो । त्यहाँ गएर ऊ ससुरालीमा बस्यो । त्यही कारणले उसलाई ससुरालीमा बस्यो भनेर प्रचार गरियो ।”

हुलाकी काम गर्यो रे ! उसलाई कसैसँग ढकढक गरेर हिँड्नुपर्ने स्थिती नै थिएन । न कुनै अभाव थियो ।

बरु छोराछोरीहरूले नै हामीलाई तीन महिना नेपाल, तीन महिना अमेरिका, तीन महिना युके र तीन महिना अष्ट्रेलिया बस्ने भनेर तालिका बनाइदिएका थिए । उनीहरूले हामीलाई कुन महिना कहाँ बस्ने रोज्नुहोस् भनेर भन्थे ।

अम्बिका भन्छन्, “मैले दुःख गरेँ, मैले साइकल चढ्दादेखि कार चढ्दासम्मको दुःख मलाई थाहा छ । मलाई दुःख लाग्दैन, काठमाडौंमा आएर मैले जतिसुकै दुःख गरे पनि छोराछोरीले पढ्दासम्म एक गिलास पानी देऊ भनेर दुःख पनि दिइनँ । लन्डनको मेन सिटीमा बसेको हो । ऊ त्यहाँ बसेको कारणले ससुरालीमा बस्यो, बाहिर बस्न सकेन भन्ने लेखेको छ । उसले हुलाकी काम गथ्र्यो भनेर लेखियो । यो अनावश्यक कुरा हो । ऊ बेरोजगार होइन, उसलाई पैसाको कमी थिएन । नाम र इज्जतको कमी छैन । उसलाई कुनै अभाव थिएन । ऊ जन्मेर थाहा पाउँदादेखि म गाडी चढेर हिँडेको मान्छे हो ।”

अम्बिका पञ्चायतमा मिर्गौलिया गाउँ पञ्चायतका वडाध्यक्ष थिए । पछि कार्यवाहक प्रधानपञ्च बने । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पनि हुन् । उनै राजनीतिक सम्बन्धहरूले आफन्तहरूको साथ सहयोगले बाँच्ने प्रेरणा मिलेको उनी सुनाउँछन् ।

“मैले मोरङमा राजनीति गरेर बसिहेको भए मन्त्रीसम्म हुन्थेँ होला । तर, छोराछोरीको शिक्षाकै लागि भनेर म २०५० सालमा काठमाडौं आएँ । काठमाडौंमा घर बनाउँला, कलेज खोलौँला, कार चडेर हिँडौला भन्ने थिएन । शिक्षाको लागि भनेर आएपछि कलेज खोलेँ । छोराछोरीहरूलाई त्यही किसिमले शिक्षा दिएँ । उनीहरूलाई कुनै अभाव हुन दिइनँ,” उनी सुनाउँछन् । 

उक्त घटनापछि अधिकारी दम्पत्तिले छानबिनको प्रयास नगरेको पनि होइन । तर, छानबिनको केसमा त्यत्तिकै आग्लो लाग्यो । मात्र यमबुद्धको शरीर नेपाल ल्याउन सके । मातृभूमिमा हिन्दु संस्कारअनुसार दाहसंस्कार गर्न पायौँ । त्योबेलामा उनीहरुले उसको शरीर ल्याउनुलाई ठूलो उपलब्धि माने । 

छानबिन अगाडि बढ्न नसक्नुलाई उनले पहुँच नपुगेको ठान्छन् । “हाम्रो पहुँच पुगेन । अर्को मान्छे फसोस् भन्ने होइन । जति गरे पनि हाम्रो बाबु फर्किनेवाला छैन । हामीलाई अप्ठेरो भएको एउटै कुरा छ– आत्महत्या भन्ने शब्दले हामीलाई पिरोल्छ । मिडियामा अनेक कुरा आउँदा हामीलाई कस्तो पोल्यो, उकुसमुकुस भयो होला ? कल्पना गर्नुस् न,” उनले बेदाना पोखे । 

बेलायतको पढाई छाडे
उनी बिएसस्सी आईटी पढ्न बेलायत गएका थिए । सन् २०१०/११ को कुरा हो । उनी त्यहाँ साथीहरूसँग बस्थे । दिनहुँ आमासँग कुराकानी हुन्थ्यो ।

“बढी आमालाई चिन्ता हुन्छ । खायो खाएन, कलेज गयो कि गएन भन्ने हुन्छ । एकदिन मेरो फोन उठाएन । बिरामी भएर सुतेको रहेछ । मेरो फोन उठेन भने साथीलाई फोन गर्नु भनेर नम्बर दिएको थियो । साथीलाई फोन गर्दा उसले अनिलको खुट्टा चिसोले दुखेर सुतिराछ भन्यो । मलाई चसक्क भयो । गाह्रो भए फर्किएर आइज भनेँ । बाबासँग सल्लाह गरेपछि ऊ खुट्टाको दुखाइकै कारण पढाइ नसकी फर्कियो । उता, पूरा नभएपछि मैतीदेवीमा लर्ड बुद्ध कलेजमा आएर पढ्यो,” उर्मिला सम्झिन्छिन्, “हामीले तिरेको कलेजको पैसा त फिर्ता हुँदैन । मलाई पैसाभन्दा छोराको स्वास्थ्य, स्टील हालेको दुखेको सुनेपछि यहीँ पढ भनेँ ।”

ज्याकेट लगाएर गएका यमबुद्ध टिसर्टमा घर आउँथे
ठमेलका गल्लीमा चिसो रातमा अभिभावकविहीनको समूह भेटिन्थ्यो । त्यो समूहले टाढैबाट यमबुद्धलाई चिन्थे । कारण, यमबुद्धले उनीहरूलाई रेष्टुरेण्टमा लगेर भरपेट खाना खुवाउँथे, आफूले लगाएको लुगा लगाउन दिन्थे ।

“दुखीलाई माया गर्नुपर्ने उनको स्वभाव थियो । ठमेलमा कति जनालाई जाडोमा नाङ्गै देख्यो भने दिएर आउने । घरबाट जाँदा लगाएर गएको कहाँ छोडिस् भनेर सोध्दा साथीलाई दिएको भन्थ्यो,” उर्मिलाले भनिन् ।

उनी घरमा पैसा माग्दैनथे । कहिलेकाहीँ बुवाआमासँग पनि सँगै रेष्टुरेण्टमा जान्थे । तर, त्यसका सञ्चालकले उनीसँग पैसा लिँदैनथे । जबर्जस्ती यमबुद्धले पैसा छाडेर हिँड्न्थे ।

हजुरआमा रोएको ‘आमा’ औँसी
गीत गाउन थालेपछि हो । आमाको मुख हेर्ने औँसीको दिन थियो । तर, त्योदिन यमबुद्ध आमासँग जिस्केनन् । अन्यथा अघिल्ला वर्षमा उनले बिहानै उठेपछि आमासँग जिस्किँदै भन्थे, “खोइ अनुहार हेरौँ त, आज आमाको मुख हेर्ने दिन हो रे त ।”

तर, त्यो दिन उनी आमासँग जिस्किएनन् । न हजुरआमासँग नै ।

उनले ल्यापटप लिएर आए । आमा र हजुरआमालाई दायाँबायाँ राखे । अनि सुनाए... ।
कसरी व्यक्त गरौँ ? म यी मेरा भावना,
सँधै खुसी राख्न सकुँ, तिमीलाई मेरी आमा ।
जुनीजुनी रहोस मेरो साथमा तिम्रो छाया,
तिम्रो आशीर्वाद अनि तिम्रो अजम्बरी माया ।
दैवले सँधै खुसी थमाइदिउन तिम्रो हातमा,
सुस्ताउन पाउँ सँधैभरि तिम्रो काखमा ... ।।

गीत सकिँदा हजुरआमाको आँखामा आँसु थियो । ती आँसु खुसीका थिए ।

आज हजुरआमा छैनन्, आमा मात्रै छन् । आमाको आँखामा पनि आँसु छ, तर, गीतमा जस्तो दैवले सधैँ खुसी उर्मिलाको आँखामा देख्न सकेन । न त यमबुद्ध नै आमाको काखमा सदाको लागि सुस्ताउने नै छन् ।

उर्मिला भन्छिन्, “आमाको मुख हेर्ने दिन थियो । नेपालमा भएको बेलामा त्यो दिन उठेर मेरो अगाडि आएर मुख हेथ्र्यो । त्यो दिन आफ्नो कोठामा बोलायो । म र उसको हजुरआमा गयौँ । दुवैलाई यो गिफ्ट हो भनेर आमा भन्ने गीत लगाइदियो । त्यो सुन्दा हजुरआमाले बरबर आँसु झारिसियो । पछि त्यही गीत सार्वजनिक गर्यो ।”

अनिल थिएनन् न यमबुद्ध,  परिवार उनलाई भाइ भन्थ्यो
कुराकानीको अन्तिममा सोध्यौँ, “घरमा अनिललाई के भनेर बोलाउनु हुन्थ्यो ? तपाईंको लागि अनिल प्यारो नाम कि यमबुद्ध ?”

न उनी अनिल थिए, न यमबुद्ध । परिवारले उनलाई भाइ भनेर बोलाउँथ्यो ।
 
“मलाई अनिल प्यारो लाग्छ । म उसलाई पुनः अनिल होइन भाइ भन्थेँ । भर्‍याङ चढ्दा मेरो बाबु आयो भन्थेँ । उहाँले पत्याउनु हुन्थेन । त्यो अनिल नै हुन्थ्यो । त्यो छोराछोरीले गेट खोलेको, लगाएको पनि थाहा हुने मलाई । राति कसैले ठूलो स्वरमा बोल्यो भने मामु भनेजस्तो लाग्ने । आफैँलाई बोलाएजस्तो लागेर भाइ आयो भनेर दौडेर जान्थेँ,” उर्मिला सम्झिन्छिन् ।

बुवा अम्बिकालाई भने अचेल यमबुद्ध नाम प्रिय लाग्छ ।
 
उनी भन्छन, “अहिले आएर मलाई यमबुद्ध नाम नै प्रिय लाग्छ । उसले त धेरै मान्छे कमाएको रहेछ । किनभने अनिल अधिकारी चिन्छौ भनेर कसैलाई सोधे छैन भन्छन् । प्राथमिक विद्यालयमा पढ्नेलाई यामबुद्धलाई चिन्छौ भन्यो भने चिन्छु भन्छ । अनिललाई भाइ भनिन्थ्यो । आजकल यही कारण मलाई यामबुद्ध नाम प्रिय लाग्छ ।”

० ० ०

घटना घट्दा यमबुद्धका हजुरबुवा, हजुरआमा पनि बितिसकेका थिए । उनी जन्मिँदा सबैभन्दा धेरै हजुरबुवा खुसी भएका थिए । घरको पहिलो नाती भएकाले सबैजना खुसी थिए । तर, अधिकारी दम्पत्ति अहिले सम्झिन्छ, “उहाँहरू नभएर नै ठिक भयो ।”

० ० ०

उनीहरू अचेल बोल्न सक्ने भएका छ भलै हम्मेसी खुल्न अझै सक्दैनन् । तर पनि आफ्ना छोराका यादहरू अरुलाई सुनाउन सक्ने भएका छन । कुनै सामाजिक पर्व, कसैको मलामी, विवाह, व्रतबन्धमा अझै पनि उनीहरू जान सक्दैनन् ।

पहिल्यै भन्छन्, “हामीलाई गाह्रो हुन्छ । पहिल्यै आउँछौँ, कि पछि आउँछौँ ।”

घरमा यमबुद्धका हजारौँ सम्झनाका किस्ताहरू छन् । सानाका फोटोहरू थुप्रै छन् । तर, फोटो एल्बम खोल्दैनन् । खोल्नु किन ? आखिर तिनले पनि पिरोल्ने नै त हो । 

छोराको वियोगपछि अम्बिकाले नै श्रीमतीलाई सम्झाउँथे, “तिमी रुन त लागि मेरो छाती छ, यहाँ टाउको अड्याएर रुन सक्छौ, मेरो को छ भन त ?”

श्रद्धाञ्जली यमबुद्ध ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १, २०७८  ०६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro