काठमाडौं । सुनौली नाकाबाट अवैध रूपमा ठूलो मात्रामा गाडीमा लाग्ने पार्ट्सहरू भित्रिने गरेको पाइएको छ । यसबाट व्यवसायीसहित राज्यलाई राजस्वमा ठूलो धक्का लागेको व्यवसायीले बताएका छन् ।
आधिकारिक रूपमा गाडीमा लाग्ने पार्ट्सहरू भित्र्याउँदा मूल्य अभिवृद्धि करसहित ४३ प्रतिशतसम्म राजस्व बुझाउनुपर्ने हुन्छ । तर, यी सामान अवैध तवरबाट भित्रिँदा सरकारलाई दैनिक लाखौँको राजस्व नोक्सानी हुँदै आएको व्यवसायीले बताएका छन् ।
सुरु–सरुमा सिमाना आसपास मात्र यस्ता गतिविधि भए पनि हाल यस्तो अवैध आयात रुपन्देही, कपिलवस्तु एवं नवलपरासीका सम्पूर्ण क्षेत्रसम्म विस्तार भएको बुटवल, मैनावगरका अटो पार्ट्स व्यवसायी सुरज रेश्मीमगरले बताए । तर, सम्बन्धित निकायले यस्ता किसिमका अवैध आयातलाई निरुत्साहित गर्ने कुनै ठोस पहल नगरेको उनले बताए ।
यस सम्बन्धमा संम्बन्धित निकायलाई बारम्बार अधिकारिक रूपमा जानकारी गराए पनि सम्बन्धित निकाय चुप लागेर बस्नु आश्चर्यको विषय भएको बुटवल इन्जिनियारिड एसोसिएसनका उपाध्यक्ष बाबुराम आचायले बताए ।