मेक्सिको सिटी । तीनवटा एयरलायन्सले हवाइ सेवा दिन अस्वीकार गरेपछि क्यानाडालीहरूको एक समूह अहिले मेक्सिकोमा अलपत्र परेको छ । गत ३० डिसेम्बरमा मोन्ट्रियलबाट क्यानकुनतर्फ उडेको उडानमा कोभिड १९ को आचार संहिता पालना नगरी मास्क नलगाइकन पार्टी गरिरहेको भिडियोहरू सार्वजनिक भएपछि उनीहरू समस्यामा परेका हुन् ।
क्यान्कुनतर्फ उडेको सो विमान जेम्स विल्लियम अवाड नामक एक व्यक्तिले टोरोन्टोस्थित क्यानाडाली एयरलाइन सनविङ एयरलायन्समार्फत चार्टड गरेका थिए । अवाडले आफ्नो कम्पनी १११ प्राइभेट क्लब को तर्फबाट ती व्यक्तिहरूका लागि विमानभित्र पार्टीको आयोजना गरेका थिए । इन्स्टाग्राम प्रोफाइलमा सो पार्टीलाई ‘एक्सक्लुसिभ प्राइभेट ग्रुप (बाइ इन्भिटेसन वन्ली) नामाकरण गरिएको थियो ।
सो पार्टीमा सरिक अधिकांश व्यक्ति सामाजिक संजालका स्टार तथा क्यानाडाली रियालिटी टेलिभिजन व्यक्तित्वहरू रहेका छन् । भिडियोमा तिनीहरू भोड्का पिउँदै विमान भित्र रमाउँदैे नाचिरहेका देखिन्छन् ।
एउटा क्यानाडाली न्युज आउटलेटकाअनुसार उनीनीहरूले विमानमा मास्क नलगाइकन निर्धक्क रमाइलो गर्न थालेपछि आफ्नो स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर फ्लाइट एटेन्डेन्टहरू मुख्य क्याबिनबाटै टाढै बसेका थिए । सनविङ एयरलायन्सले ५ जनवरीमा उनीनीहरूलाई स्वदेश फर्काउनुपर्नेमा यही घटनाको कारण अस्वीकार गरेको थियो । उनीहरूलाई अन्य दुई एयरलायन्सले पनि क्यानाडा लग्न अस्वीकार गरेका हुन् ।
सनविङ एयरलायन्सले यसबारे आन्तरिक अनुसन्धान सुरु गरिसकेको छ ।