site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पको पुनरागमनसँगै विश्वभर प्रभाव पार्न खोज्दै मस्क 

काठमाडौं । सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा विश्वकै धनाढ्य एलन मस्कले रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गरेका थिए । गत नोभेम्बरको निर्वाचनबाट डेमोक्रेटिक पार्टीकी उमेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

ट्रम्पले यसै जनवरी २० मा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्दै छन् । ट्रम्प विजयी भएकै दिनदेखि उनका समर्थक र खासगरी एलन मस्क विश्वव्यापी रूपमा नीतिगत फेरबदल गर्न लागिरहेका छन् । ट्रम्पले एलन मस्कलाई डिपार्टमेन्ट अफ गर्भमेन्ट इफिसिएन्सी (डीओजीई–डज)को प्रमुख तोकेका छन् । सरकारबाहिरैबाट यसले खर्च घटाउने र प्रभावकारिता बढाउन सल्लाह सुझाव दिने ट्रम्पले भनेका थिए ।

अर्बपति उद्यमी मस्कले ट्रम्पलाई गरेको समर्थनपछि उनले अमेरिका मात्र नभएर विश्वभर नै प्रभाव पार्ने ठानिएको छ । मस्कले २५ करोड अमेरिकी डलरभन्दा बढी रकम ट्रम्पको चुनावी अभियानमा खर्च गरेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मस्कको व्यवसाय अन्तरिक्ष कम्पनी स्पेसएक्स, दूरसञ्चार स्याटेलाइट कम्पनी स्टारलिंक, मष्तिस्कसम्बन्धी प्रत्यारोपण कम्पनी न्युरालिंक, कार कम्पनी टेस्ला, सामाजिक सञ्जाल एक्सलगायतमा छ ।

ट्रम्पनिकट मस्कले अमेरिकाको आन्तरिक मामिलामा मात्रै नभएर विश्वभर र प्रजातान्त्रिक देशहरूमा पनि प्रभाव पार्ने चिन्ता बढेको भन्दै आलोचना सुरु भएको छ ।

युरोपबाट आलोचना

मस्कले अतिदक्षिणपन्थी राजनीतिक दललाई समर्थन गर्दै युरोपका वामपन्थी राजनीतिज्ञलाई आक्रमण गरेको भन्दै युरोपेली नेताहरूले आलोचना गरेका छन् । मस्कले युरोपको प्रजातान्त्रिक प्रक्रिया र आउँदो महिना फ्रान्सको आमचुनावमा प्रभाव पार्न खोजेको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको आरोप छ ।

सामाजिक सञ्जालको मालिक र विश्वभर आर्थिक स्रोतमा पहुँच भएको व्यक्तिले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्नु चिन्ताजनक भएको नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरको भनाइ छ । उनले लोकतन्त्र र सहयोगीबीच यस्तो हुन नहुने बताएका छन् ।

जर्मन सरकारका प्रवक्ताले आफ्नो देशका मतदातामा मस्कको प्रभाव सीमित रहेको बताएका छन् । बर्लिनमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले जर्मनीमा सामान्य मानिस, समझदार मानिस र सभ्य मानिसको ठूलो बहुमत रहेको बताए ।

एक्समार्फत गलत प्रचार भएमा जर्मन सरकारले कदम चाल्ने उनको भनाइ छ ।

मस्कले आउँदो सेप्टेम्बरमा हुने जर्मनीको निर्वाचनमा सर्वेक्षणमार्फत दोस्रो नम्बरमा देखिएको पार्टी मात्रै अन्तिम आशा रहेको टिप्पणी गरेका थिए । उनले सोसल डेमोक्रेटिक पार्टीका चान्सलर ओलाफ स्कोल्जलाई ‘मूर्ख’ र यसका अध्यक्ष फ्रान्क वाल्टर स्टाइनमेयरलाई ‘लोकतन्त्रविरोधी तानाशाह’ भनेर टिप्पणी गरेका छन् ।

बेलायती प्रधानमन्त्री केयर स्टाररले सोमबार मस्कलाई लक्षित गर्दै ‘अनलाइनबाट झुट र गलत जानकारी फैलाउनेहरूले पीडितबारे नसोच्ने’ टिप्पणी गरेका छन् । क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडोले राजीनामा दिएपछि त्यससम्बन्धी पोस्टलाई सेयर गर्दै मस्कले मंगलबार सन् २०२५ राम्रो देखिइरहेको भनेर लेखेका छन् ।

ट्रम्प राष्ट्रपति भएसँगै मस्कले आफ्नो उद्यमका लागि फाइदा खोज्ने विषयलाई सामान्य रूपमा हेरिएको छ । यसभन्दा थप उनले अमेरिकाको आन्तरिक नीति र विश्वकै राजनीतिमा प्रभाव पार्न खोज्ने चिन्ता बढेको छ ।

यसैबीच युरोपेली नेताहरूले अहिले ट्रम्पको आलोचना सुरु गरेका छन् । कतिपय सञ्चारमाध्यमले ट्रम्प सानो, मस्क ठूलो प्रभाव पार्ने व्यक्ति भनेर लेखेका छन् । यसरी मस्कले ट्रम्पको प्रशासनलाई नै चुनौती थप्नसक्ने ठानिएको छ । ट्रम्पले भने मस्कले सरकार सञ्चालनमा प्रभाव नपार्ने टिप्पणी गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro