काठमाडौं । टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । सन् २०२१ को डिसेम्बरसम्मको तथ्यांकअनुसार टाटा मोटर्स धेरै कार बिक्री गर्ने दोस्रो स्थानमा परेको हो । यसअघि टाटा मोटर्स तेस्रो स्थानमा रहँदै आएको थियो ।
यसबाहेक टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक दरमा सबैभन्दा बढी गाडी बिक्री भएको दाबी गरेको छ । त्यस्तै, कम्पनीले अक्टोबरदेखि डिसेम्बरबीचको त्रैमासिकमा समेत धेरै गाडी बिक्री गरेको हो ।
टाटा मोटर्सले डिसेम्बरमा मात्रै ३५ हजार ३ सय वटा गाडी बिक्री गरेको जनाएको छ । सन् २०२१ को अन्तिम दिनसम्ममा जम्मा ३ लाख ३१ हजार वटा गाडी बिक्री भएको जनाएको छ ।
बजारमा सेमिकन्डक्टरको अभावका कारण उत्पादनमा कमी देखिए पनि टाटा मोटर्सका प्यासेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष सैलेस चन्द्रले कम्पनीको यात्रुबाहक सवारीको व्यवसायले त्रैमासिक अवधिमा धेरै नयाँ कोसेढुङ्गा कायम गरेको बताए ।
“टाटा मोटर्सले दशक कै उच्च त्रैमासिक र मासिक बिक्री रेकर्ड बनाएको छ । गत आर्थिक वर्षको तुलनामा २०२१ मा कम्पनीको सेल्समा ठूलो परिवर्तन देखिएको छ,” अध्यक्ष सैलेस चन्द्रले भनेका छन्,“कम्पनीले सन् २०२१ मा कुल ३ लाख ३१ हजार १ सय ७८ वटा गाडी बिक्री गरेको छ । टाटाले यात्रुबाहक सवारी साधनको व्यवसाय स्थापना सुरू गरेदेखिको यो अहिलेसम्मकै उच्च बिक्री तथ्यांक हो ।”
उनका अनुसार ‘न्यू फरेबर’का मोडलहरूका कारण पनि गाडीको बिक्री र माग बढेको हो । टाटा मोटर्सले सन् २०२१ मा विद्युतीय गाडीको समेत बिक्री बढाएको छ । कम्पनीले २०२१ अन्तिमसम्ममा मात्रै कुल २२ हजार ५ सय ५५ वटा विद्युतीय गाडी बिक्री गरेको जनाएको छ ।