काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिका विषयमा आएका समाचारको खण्डन गर्दै विज्ञप्ति जारी गरेकी छन् । विभिन्न सञ्चारमाध्यममा आएका समाचारले भ्रम सिर्जना गरेको भन्दै उनले विज्ञप्ति जारी गरेकी हुन् ।
“एस.एल.सी.लगायत मेरा सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रहरुमा मेरो जन्म मिति वि.सं. २०१४ साल जेठ २ भन्ने नै उल्लेख छ । शाखा अधिकृत पदमा न्याय सेवामा प्रवेश गरेपछि २०३९ सालमा मैले भरेको निजामती कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण फारममा पनि मेरो जन्म मिति २०१४–०२–०२ नै उल्लेख गरेको छ,” विज्ञप्तिमा उल्लेख छ, “न्यायाधीशको हैसियतले २०६१ र २०७१ सालमा भरिएको वैयक्तिक विवरण फारममा पनि मेरो जन्म मिति २०१४–०२–०२ भन्ने नै उल्लेख गरिएको छ ।”
“सो बाहेक मैले कुनै नागरिकता प्रमाणपत्र वा प्रतिलिपी लिएको छैन। मैले २०४०/०६/१२ मै प्राप्त गरेको कर्मचारी सञ्चयकोष परिचयपत्र, २०५२/११/१७ मा प्राप्त गरेको नागरिक लगानी कोषको परिचयपत्र र २०६८/०७/२४ मा प्यान नम्बरहरुको प्रमाणपत्र लगायत जन्म मिति खुलाइने सम्पूर्ण आधिकारिक लिखतहरुमा मेरो जन्म मिति २०१४/०२/०२ भन्ने नै उल्लेख गरिएको छ,” न्यायाधीश खड्काले भनेकी छन्, “पूरा जन्म मिति खुलेको शैक्षिक प्रमाणपत्रहरु र वैयक्तिक विवरण फारमकै आधारमा न्याय परिषदले मेरो जन्म मितिको आधिकारिक र अद्यावधिक अभिलेख खडा गरी राखेको हुनु स्वभाविक छ । बीचका केही वर्षमा न्याय परिषद बुलेटिन प्रकाशित हुँदा त्रुटिवश मेरो जन्म मिति २०१३/१०/२८ उल्लेख हुन गएको भएपनि परिषद आफैंले सो त्रुटि सच्याई २०७१ सालदेखि हाल २०७८ साल पुस ३ गते सम्म प्रकाशित न्याय परिषद बुलेटिनहरुमा पनि मेरो वास्तविक जन्म मिति २०१४/०२/०२ भनी उल्लेख गरिएकोले मेरो जन्म मितिको सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनु पर्ने कारण छैन ।”
न्यायपरिषदले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएका कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित नभएको उनले बताएकी छन् । “न्याय परिषदद्वारा राखिएको शैक्षिक प्रमाणपत्रहरु समेतका अभिलेखमा मेरो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएका छन् । मैले जन्म मिति सच्याउनु पर्ने कुनै कारण छैन र सच्याएको पनि छैन,” विज्ञप्तिमा उल्लेख छ, “तसर्थ मेरो जन्म मिति फरक–फरक रहेको भनेर निराधार शंका गरी प्रकाशित गरिएको समाचार भ्रामक, असत्य र व्यक्तिगत पूर्वाग्रहपूर्ण छ भन्ने तथ्य प्रष्ट पार्न चाहन्छु ।”