काठमाडौ । सरकारले प्रतिपक्षी नेकपा (एमाले)लाई संसद् सञ्चालनमा सहयोग गर्न आग्रह गरेको छ । आज बसेको सर्वदलीय बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् नियमित अवरुद्ध हुँदा लोकतन्त्र र संसदीय अभ्यास समेत कमजोर हुन जाने खतरा रहेको बताए ।
“सिंगो संसद्लाई बन्धक बनाउँदा लोकतन्त्र र संसदीय अभ्यास समेत कमजोर हुन जाने खतरा हुन्छ । प्रतिपक्षले उठाएका विषयमा संवाद गर्न र उपयुक्त सहमति खोजी गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै संसद् सञ्चालनमा सहयोग गर्न हामी प्रतिपक्षलाई आग्रह गर्दछौँ,” उनले भने ।
नियमित रूपमा संसद् अवरोध गर्दै आएको दल एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको थियो । आजको बैठकमा एमसीसीका विषयमा थप छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको उनले बताए ।