काठमाडौं । संयुक्त कवितासंग्रह ‘निषेधाज्ञाका प्रतिबिम्बहरू’ माथि अन्तरक्रिया सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा लकडाउन र निषेधाज्ञाको समयमा लेखिएका ६ कविका कविता रहेका छन् ।
कृतिमा कविहरू ऋषभदेव घिमिरे, मधु पाठक, रञ्जना निरौला, डा. शान्तिमाया गिरी, सुमन वर्षा र सुषमा आचार्य अंशुका कविताहरू छन् ।
अन्तरक्रिया कार्यक्रममा कविता कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै समालोचक ज्ञानु अधिकारीले कोरोनाकालको विषम परिस्थिति र लकडाउनको अवस्थामा आम नेपालीले भोग्नु परेको भोगाई कवितामा अभिव्यक्त भएको बताइन् ।
अधिकारीले भनिन्, “एउटै विषयमा धेरै अवधारणा कृतिमा रहेका कवितामा देखिन्छ । पुस्तकमा रहेका कविताले जीवन र मृत्युका बारेमा पृथक दृष्टिकोण प्रस्तुत गरेको छ ।”
कवि डा. नवराज लम्सालले कवितासंग्रहको विषयमा ६ जना कविको कवितामाथि विशेष टिप्पणी गरे । प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कृतिका कविताहरूमा आजको समय र समाज छर्लङ देखिएको बताए ।