मुम्बई । भारतको सर्वोच्च अदालतले अश्लील भिडियो बनाएर वितरण गरेको आरोप लागेका राज कुन्द्रालाई चार हप्तासम्म पक्राउ नगर्न आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतले राजलाई चार हप्तासम्म पक्राउ नगर्न भनेको हो ।
अदालतले महाराष्ट्र सरकारलाई पनि सूचना पठाएको छ ।
अश्लील भिडियो बनाएको आरोपमा उनी गत जुलाईमा पक्राउ परेका थिए । धेरै दिन जेलमा बसेपछि राज धरौटीमा रिहा भएका थिए । त्यसपछि राज गत नोभेम्बर २५ मा सर्वोच्च अदालत पुगेका थिए ।
यसअघि बम्बई उच्च अदालतले राजको अग्रिम जमानतको निवेदन खारेज गरिदिएको थियो । उनले उच्च अदालतमा दायर गरेको निवेदनमा आफूले बनाएका भिडियोहरू कामुक हुने तर त्यसमा कुनै शारीरिक वा यौन क्रियाकलाप नदेखाइएको बताएका थिए । उनले आफू कुनै पनि अश्लील भिडियो बनाउने वा प्रसारणमा संलग्न नरहेको र आफूलाई फसाइएको बताउँदै आएका छन् ।
उच्च अदालतले राजसहित अन्य पाँच आरोपितको अग्रिम जमानत निवदेन पनि खारेज गरेको थियो । नवभारत टाइम्सबाट ।