काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रदेश नम्बर–१ मा पुनः मतदान गराउन माग गरेकी छन् । नेतृ कोइरालाले निर्वाचन समितिले नै झुक्याएर केन्द्रीय सदस्यलाई मतदान गर्न बञ्चित गराएको भन्दै पुनः मतदानको गराउन माग गरेकी हुन् ।
“प्रदेशमा केन्द्रीय सदस्यले मतदान गर्न पाइँदैन भनेर मतदान अधिकृतले नै भने,” केइरालाले भनिन्, “मतदान गर्न पाइदैन भनेपछि हामीले मतदानमा भाग लिएनौं । मतदान गर्न मिल्दैन भनी केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले नै गलत सूचना दिएका हुन् ।” उनले मतदानका लागि जाँदा रोकिएको भन्दै पुनः मतदानको माग गरेकी छन् ।
प्रदेशमा केन्द्रीय सदस्यले मतदान गर्न पाउने कि नपाउने भन्ने विषय उठ्दा ‘मतदान गर्दा केन्द्रमा उमेदवार बन्न कानुनी जटिलता उठ्ने तथा मतको वैधानिकता माथि पनि प्रश्न आउने’ भनेपछि आफूले मतदान नगरेको उनको भनाइ छ ।
“म चुनावकै लागि विराटनगर गएकी हुँ र हामीले उमेदवार बनाएका गुरु घिमिरेजीलाई जिताउन सक्रिय रुपमा लागेकी थिएँ,” उनले भनिन्, “तर, भोट नै बैधानिक हुँदैन भनेपछि भोट नहाली फर्किएकी हुँ ।”
संस्थापनइतरको बहुमत रहेको प्रदेश नम्बर–१ मा प्रदेश सभापति सिटौलाका उमेदवार उद्धव थापा निर्वाचित भएपछि खैलाबैला भएको छ । त्यसकै प्रतिक्रियामा कोइरालाको यो भनाइ आएको हो ।