
काठमाडौं । नेपाली कांग्रेसमा सभापतिपछि दोस्रो वरीयतामा रहेको पद उपसभापतिमा नेताहरुको आकर्षण देखिएको छैन ।
महाधिवेशन आउन दुईसाता मात्र बाँकी छ । तर, उपसभापतिमा उमेदवारी घोषणा गर्ने अहिलेसम्म दुईजना मात्र देखिएका छन् ।
केन्द्रीय सदस्य महेश आचार्यले उपसभापतिमा उमेदवारी घोषणा गरेका छन् भने केन्द्रीय सदस्य चन्द भण्डारीले पनि उपसभापति लड्ने बताउँदै आएका छन् । कांग्रेसको विधानअनुसार दुई सभापति निर्वाचित हुने व्यवस्था छ । चाहना धेरैले राखेको देखिए पनि अहिलेसम्म यी दुईजनाले मात्रै उमेदवारी घोषणा गरेका छन् ।
यसले कांग्रेसमा उपसभापति पदमा आकर्षण नभएको देखाएको एक केन्द्रीय सदस्य बताउँछन् । पार्टीको दोस्रो हैसियतमा रहेर काम गर्ने उच्च पदमा कांग्रेस नेताहरुको आकर्षण किन देखिएको छैन ?
नेपाली कांग्रेसको विधान २०७२ को दफा ३६ ले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको व्यवस्था गरेको छ । जसको संयोजक पार्टीको केन्द्रीय उपसभापति रहने व्यवस्था विधानमा गरिएको छ ।

नेपाली कांग्रेसको संशोधित विधानअनुसार केन्द्रीय उपसभापति २ जना हुन पाउँछन् । जसमा दुबैले महाधिवेशन प्रतिनिधिको विश्वास जितेर मत हासिल गर्नुपर्ने हुन्छ । केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा पनि २ उपसभापतिमध्ये जसले सभापतिको विश्वास जित्न सक्छ उसैले नेतृत्व पाउने व्यवस्था छ ।
“सभापतिले तोकेको केन्द्रीय कार्यसमितिका उप–सभापति प्रतिष्ठानको प्रमुख रहनेछन्,” विधानमा स्पष्ट लेखिएको छ ।
विभागका लागि विधानले ७ बुँदामा काम, कर्तव्य र अधिकारको सिमा लेखिदिएको छ । जसको उद्देश्य पार्टीलाई आन्तरिक रुपमा मात्र दह्रो बनाउन नभइ सिंगो राष्ट्रका लागि पार्टीले लिनुपर्ने नीति र अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरु पनि गासिने गर्दछन् ।
१३ औं महाधिवेशनसम्म पार्टीको यो पद मनोनित हुने गर्दथ्यो । तर, कांग्रेस संशोधित विधानले यी दुई पदमा १४ औं महाधिवेशनबाट निर्वाचन लड्नुपर्ने व्यवस्था गरिदियो ।
विधानले भनेबमोजिम उपसभापतिको पद नीति प्रतिष्ठानमा मात्र सीमित छैन । सभापतिको अनुपस्थितिमा पार्टी सञ्चालनदेखि अर्को महाधिवेशनमा सभापतिको प्रवल दाबेदार पद पनि हो । तर, कांग्रेस पार्टीमा लामो समय उपसभापति बसेर सभापति बनेका स्व. सुशील कोइराला बाहेक अरुले त्यो इतिहास रच्न सकेका छैनन् ।
यसअघि सभापतिले आफूले इच्छाएको व्यक्तिलाई उपसभापति बनाउने प्रचलनले पनि उपसभापति पद त्यति चर्चामा रहेन ।
आसन्न महाधिवेशनमा अवस्था त्यस्तो छैन । सभापतिमा आकांक्षीको लर्को छ । महामन्त्री उठ्नेको भीड पनि बढिरहेकै छ ।
सहमहामन्त्री लड्ने संख्या पनि गतिलै छ । तर, उपसभापतिमा कसैले पनि खुलेर लड्छु भनेका छैनन् । आखिर किन त ? राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले उपसभापति पदलाई कमजोर तरिकाले हेर्दा चासो र चर्चा कम भएको हुन सक्ने तर्क गर्छन् ।
गुट क्लियर नहुँदा समस्या
महाधिवेशनमा सभापतिमा भिड्नेहरुले टिम बनाउन नसक्दा पनि समस्या सिर्जना भएको हो । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाको मात्र लगभग टिमको टुंगो लागेको छ । वर्तमान उपसभापति विमलेन्द्र निधिले आफू सभापति लड्ने भने पनि टिम सार्वजनिक गर्न सकेका छैनन् । महामन्त्रीमा उमेदवारी घोषणा गरेका विश्वप्रकाश शर्मा मात्र उनको टिमबाट लड्ने हो कि भन्ने विश्लेषण कांग्रेस राजनीतिमा छ । किनभने उनी देउवा समूहबाट आउट भइसकेका छन् ।
यता, संस्थापनइतर समूह भनिएको रामचन्द्र पौडेल समूहमा सभापतिका ४ जना आकांक्षी छन् । उनीहरुले ४ बाट एक सभापति बन्ने पटक पटक रटान दोहो¥याए पनि कार्यान्वयन भने हुन सकेको छैन । सभापतिमा स्वयम् रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र शेखर कोइराला चुनाव लड्ने भनिरहेका छन् । तर, केन्द्रीय स्तरका नेताहरु कसको पछि लाग्ने भन्नेमा अन्योल छन् । चार जनाबाट अन्तिममा को को उठ्ने टुंगो लागे उपसभापति पदमा उमेदवारको लर्को लाग्ने बुझाइ समूहमा छ ।
विश्लेषक वाग्ले पनि शेरबहादुर टिममा समस्या नदेखिए पनि संस्थापन इतरमा भने ठूलो संकट रहेको विश्लेषण गर्छन् ।
देउवाको उपसभापति सिटौला हुन सक्लान् ?
उपसभापति पदमा संस्थापन पक्षबाट हालसम्म वर्तमान उपसभापति विजयकुमार गच्छदार र वर्तमान महामन्त्री पूर्णबहादुर खड्काको चर्चा छ । उपसभापति निधि समूहबाट बाहिरिए पछि त्यसको पूर्ति कसको सहयोग लिएर देउवाले गर्छन् भन्ने अर्को कौतुहलता आम कार्यकर्तामा छ ।
गच्छदार निकट एक नेता देउवा समूहबाट गच्छदार र खड्का नै उपसभापतिका उमेदवार बन्ने बताउँछन् । “विजय दाइ ९९ प्रतिशत उपसभापति बन्ने पक्का छ, अर्को भनेको पूर्णदाइ नै हो,” ती नेता भन्छन् ।
देउवाले पार्टीका तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलालाई लगेर निधिको ठाउँ भर्ने प्रयास गरिरहेको निकट स्रोतको दाबी छ ।
१३ औं महाधिवेशनमा अन्तिम समयमा देउवा जिताउन साथ दिएका सिटौलाले १४ औं महाधिवशनबाट देउवासँग सहकार्य गरेर समूहमात्र बलियो बनाउने होइन आफ्नो राजनीतिक सुरक्षा पनि खोजिरहेका छन् ।
सिटौलालाई देउवासँग मिलाउन नेताहरु भिमसेनदास प्रधान र शिव हुमागाईंको जोडबल तीव्र छ । सिटौलाले पनि देउवासँग चरणवद्ध संवाद गरेका छन् । तर, प्रश्न १३ औं महाधिवेशनमा सभापति भिडेका सिटौला देउवा क्याम्पमा गएर उपसभापति बस्छन् त भन्ने छ । सिटौला निकट एक नेता १५ औं महाधिवेशनमा सभापति लड्न पनि आफूहरु त्यो टिममा जानुको विकल्प नभएको अनौपचारिक कुराकानीमा बताउँछन् ।
तर, देउवा समूहले चर्चा चलाइएजस्तो नेता सिटौलालाई उपसभापति राख्ने नराख्ने विषयमा निर्णय भइनसकेको बताउँछ ।
यस्तै समूहबाट केन्द्रीय सदस्य आनन्द ढुंगानालाई पनि उपसभापतिको रुपमा हेरिएको छ । तर, उनी उपसभापति पदमा आफू नउठ्ने बताउँछन् ।
संस्थापन इतर समूहका आकांक्षीहरु
संस्थापन इतर अर्थात् पौडेल समूहबाट भने केन्द्रीय सदस्य महेश आचार्यले उपसभापति लड्ने घोषणा गरिसकेका छन् । यस्तै अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारी पनि उपसभापति लड्ने तयारीमा छन् ।
केन्द्रीय सदस्य महेश आचार्यले धमिराले काठ खाए जस्तो गुटगत राजनीतिले पार्टीलाई भित्रभित्रै कमजोर बनाएका पार्टीलाई जीवन दिन आफू उपसभापति लड्न लागेको बताउँछन् ।
पार्टीमा निर्णय प्रकृयामा आन्तरिक लोकतन्त्र खस्किँदै नेतृत्व विकास बाटो अवरुद्ध भएको भन्दै उनी पराष्ट्र सम्बन्धमा पनि सन्तुलित अडान पार्टी र देशको नभएका कारणले पनि अब पार्टीले त्यसतर्फ ध्यान दिनुपर्ने भएकाले आफू उपसभापतिको उमेदवारी दिने बताउँछन् ।
“धेरै मुद्दाहरु छन् जसलाई पार्टीले नेतृत्व गर्नुपर्ने हुन्छ, संविधान र त्यसको उपलव्धी कार्यन्वयन गराउने दिशामा अब कांग्रेस जानुपर्छ त्यसकारण म नीति बनाउने ठाउँमा पुग्नुपर्छ भन्ने लागेको छ, त्यसकारण मेरो उमेदवारी हो,” उनी भन्छन् ।
यस्तै, उपसभापतिको दौडमा अर्का नेता अर्जुननरसिंह केसी पनि छन् ।
१३ औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्री लडेका केसी १४ औं महाधिवेशनमा शेरबहादुर इतर समूहबाट उपसभापति लड्न कस्सिएका छन् ।
समूहबाटै उपसभापतिको दौडमा डा. रामशरण महत पनि छन् । केन्द्रीय सदस्य महत पौडेलपछिका शीर्ष नेता हुन् । उनी आफूभन्दा शीर्ष नेता अर्थात् रामचन्द्र पौडेल सभापति लडे उपसभापति बन्ने बताउँछन् । “म भन्दा सिनियर रामचन्द्रजी हो, उहाँ सभापति लड्नुभयो भने म उपसभापति लड्छु, अरु कोही सभापति लडे म पनि सभापति लड्ने हो,” बाह्रखरीसँग उनले भने ।
उनले शुभेच्छुक र कार्यकर्ताले सभापति वा उपसभापति नभए देशको कार्यकारी प्रमुखको जिम्मेवारी लिन दबाव दिइरहेको बताए ।
“पार्टीमा नभए संसदीय दलको नेता बनेर राष्ट्रको नेतृत्व गर्नुपर्ने दबाब पनि साथीहरुबाट मलाई छ,” उनले बाह्रखरीसँग भने ।