काठमाडौं । ‘नेपाल मिडिया अवार्ड २०७८’को औपचारिक घोषणा गरिएको छ । ड्रिम हाइ नेपाल प्रा.लि.को आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा हुने अवार्डको बुधबार आयोजित एक कार्यक्रममार्फत औपचारिक घोषणा गरिएको हो ।
सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्धेश्यले नेपालमा पहिलो पटक मिडिया अवार्ड हुन लागेको आयोजकले जनाएको छ ।
अवार्ड २५ विधामा वितरण हुने छ । टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारितामा सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर अवार्ड प्रदान गरिने छ ।
आयोजक संस्थाका प्रवन्ध निर्देशक कमल जिसीका अनुसार उल्लेखित विधाबाहेक सात प्रदेशबाट २/२ सञ्चारकर्मीलाई सम्मान गरिनेछ । नेपाली सञ्चार माध्यमको विकासक्रममा उल्लेख्य योगदान पुर्याउने दुई विशिष्ठ सञ्चारकर्मीलाई ‘लाइफटाइम एचिभमेन्ट’ सम्मान प्रदान गरिने उनले जानकारी दिए ।
नेपाल पत्रकार महासंघसँगको समन्वयमा महासंघका पूर्व अध्यक्षसहित सञ्चार विज्ञसहितको ५ सदस्यीय निर्णायक टिमले सम्मान गरिने सञ्चारकर्मीहरु छनोट गर्ने छ । पुस २३ मा अवार्ड वितरण कार्यक्रम हुने छ ।