![टिकटक भिडियो बनाएर कार जित्ने अवसर](https://12khari.top/uploads/posts/20211110130947_IMG_0162_copy_938x6251636618169.jpg)
काठमाडौं । शिखर नेपाल प्रा.लि.को मुख्य आयोजनामा हुने ‘शिखर टिकटक स्टार नेपाल रियालिटी सो’ को घोषणा भएको छ । जसअन्तर्गत पछिल्लो समयको चर्चित भिडियो सेयरिङ प्लेटफर्म टिकटकमा भिडियो बनाएर कार, मोटर साइकलसहितका उपहार जित्ने सकिने छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्ष शेखर खनालले नेपाल र नेपालीको कला, संगीत र साहित्यको सम्वद्र्धन तथा दुरदराजमा रहेका सांस्कृतिक विविधतालाई एकीकृत गर्न प्रतियोगिताको आयोजना गरिएको बताए ।
सहभागीहरूमध्ये उत्कृष्ट प्रतिस्पर्धीलाई तीनजना निर्णायकको टिमले छनोट गर्नेछन् । जसमा अभिनेत्री गौरी मल्ल, वर्षा सिवाकोटी र रमेश उप्रेती निर्णायक टिममा रहेका छन् ।
विजेता प्रतिस्पर्धीहरूलाई दिर्घकालीन र अल्पकालीन गरी दुई भाग छुट्याएर पुरस्कार प्रदान गरिने आयोजक टिमले जानकारी दिएको छ ।
अल्पकालीनतर्फ प्रथम हुनेलाई कार, दोस्रोलाई मोटरसाइकल, तेस्रोलाई स्कुटर, चौथो हुनेलाई क्यामेरा, पाँचौलाई ल्यापटप, छैटौँलाई टिभी र सातौँ, आठौँ, नवौँ र दशौँ हुनेलाई मोबाइल फोन दिइने आयोजकले जानकारी दिएको छ ।
दिर्घकालीनतर्फका विजेताहरूले विभिन्न सिरियल, म्युजिक भिडियो, सिरिज तथा चलचित्रमा काम गर्ने अवसर प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भाग लिन कुनै धर्म, लिङ्ग, जात, वर्णका आधारमा प्रतिबन्ध हुनेछैन । तर, उमेर समूहतर्फ भने १० वर्षभन्दा माथिको हुनुपर्नेछ । यसका साथै देश तथा विदेश जहाँसुकै भएका टिकटक प्रयोगकर्ताहरूले पनि भाग लिन पाउनेछन् ।
प्रतियोगिताको मापदण्ड
– प्रतियोगितामा भाग लिने इच्छुक सहभागीहरूले पाँचसयको फर्म भर्नुपर्नेछ ।
– सहभागीको आफ्नै टिकटक खाता हुनुपर्नेछ ।
– टिकटक भिडियो कम्तीमा १५ सेकेन्ड र बढीमा ३ मिनेटसम्मको हुनुपर्नेछ ।
– भिडियोमा कुनै जात, धर्म, वर्ण, लिङ्ग, वा समुदायमाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गालीगलौज, अपशब्द वा लाञ्छाना लगाउन पाइने छैन ।
– तोकिएको विधा र न्युनतम व्यक्ति संख्याको मापदण्ड पूरा गर्नुपर्नेछ ।
– प्रतियोगीले पठाएको भिडियो विशेष जुरीको समूहले अवलोकन गर्ने छ ।
– प्रतियोगीले भिडियो पठाउँदा तोकिएको संस्थाको वेबसाइटमार्फत पठाउनुपर्ने छ ।
– प्रतियोगितामा प्रारम्भिक छनौटमा परेकाले मात्र अघिल्लो चरणमा प्रवेश पाउनेछन् ।
– प्रारम्भिक छनौटको अन्तिम निर्णय निर्णायकमा निहित हुनेछ ।
– अन्य विविध प्रायोजनका लागि शर्तहरू लागु हुनेछन् ।
सहभागी हुनपाउने विधा र संख्या
– राष्ट्र र राष्ट्रियता
– मौलिक कला र संस्कृति
– हाँस्य/अभिनय/नृत्य
– एउटा भिडियोमा कम्तिमा एकल र सामूहिक (१ जनादेखि ३ जनासम्म) संख्या रहनुपर्ने छ ।
यो कार्यक्रम नाइस टेलिभिजनबाट शुक्रबार र शनिबार प्रशारण हुने जानकारी आयोजक टिमले दिएको छ ।
कार्यक्रमको बाँकी जानकारीका लागि शिखर टिकटक स्टार नेपाल रियालिटी सोको आधिकारिक वेबसाइट फलो गर्न आयोजक टिमले अनुरोध गरेको छ ।