काठमाडौं । प्रतिनिधिसभाले आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ बहुमतले पारित गरेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक विधेयक, २०७८ लाई पारित गरियोस्’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पारित गरियोस्’ भन्ने दुवै प्रस्तावलाई बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक बहुमतले पारित भएको घोषणा गरे ।
पार्टीले १४ सांसदलाई कारबाही गरेको सूचना सभामुखले नटाँसेको भन्दै एमाले सांसदले सूचना टाँसको माग गर्दै प्रतिनिधिसभामा अवरोध गर्दै आएका छन् । बिहीबारको बैठकमा पनि उनीहरूले ‘संसदीय मर्यादा कायम गर’, पक्षपातपूर्ण व्यवहार मुर्दावाद’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’, ‘संवैधानिक सर्वोच्चता कायम गर’लगायत नाराबाजीसहित संसद् अवरोधलाई कायमै राखे ।
प्रतिनिधिसभाको अर्को बैठक यही असोज ११ गते सोमबार दिउँसो २ बजे बस्ने बोलाइएको छ ।